गलेश्वर, १६ कात्तिक (रासस):
म्याग्दीका मतदाताले घरदैलो अभियानमा आएका उम्मेद्वारसँग विकासका ठूला र महत्वकांक्षी योजना भन्दा पनि आधारभूत पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरेका छन् । उनीहरूले घरदैलोका लागि गाउँ केन्द्रित भएका उम्मेदवारसँग पहिले आधारभूत आवश्यकता पूरा गर्न आग्रह गरेका छन् । “हामीले खेतीपातीको समयमा सहजरुपमा मल र बीउ पाउने व्यवस्था मिलाउनुहोस्”, बेनी नगरपालिका–२ बगरफाँटका पदमपाणि शर्माले भन्नुभयो, “गाउँमा खानेपानी, सिँचाइ र रोजगारीको व्यवस्था गरिदिनुहोस्, पैसा तिरेर भए पनि आधारभूत आवश्यकताका कुरा सहजरुपमा पाउन सक्ने व्यवस्था गरिदिनुभयो भने हाम्रा लागि ठूलो कुरा हुन्छ ।” त्यसैगरी मालिका गाउँपालिका–३ बेलीका स्थानीय टेकबहादुर विकले खानेपानी, सिँचाइ, सडक र बिरामी पर्दा नजिकमा रहेका स्वास्थ्य संस्थामा उपचार गर्न पाउने व्यवस्था मिलाइदिए राम्रो हुने विचार व्यक्त गर्नुभयो ।
गठबन्धनको तर्फबाट प्रदेशसभा म्याग्दी (२) का उम्मेदवार रेशम जुग्जालीले जनतालाई विकास र समृद्धिको आवश्यक भएको बताउनुभयो । उहाँले गठबन्धनको लक्ष्य नै मुलुकको समृद्धि भएकाले जनताले साथ दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । “जिल्लाको समग्र विकासका लागि हामीले दीर्घकालीन गुरुयोजना बनाउन आवश्यक छ,” जुग्जालीले भन्नुभयो, “मुलुकको आर्थिक विकासका लागि कृषि उत्पादनमा ध्यान दिनुपर्छ ।” कृषि उत्पादन बढाउन किसानलाई मल, बीउ र कृषि उपज अनुदानमा दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
मतदातासँगको छलफलको क्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खमबहादुर (खमबीर) गर्वुजाले आफू र गठबन्धनका उम्मेदवार विजयी भएपछि किसानका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै उत्पादनमुखी कार्यमा ध्यान दिन किसानलाई आग्रह गर्नुभयो ।
नेकपा एमालेका उम्मेदवारसँग पनि ग्रामीण भेगका मतदाताले किसानका समस्यालाई समाधान गर्न आग्रह गरेका छन् । बेनी नगरपालिका–३ भकिम्लीको मुसुङका टीका मगरले बेनी–भकिम्ली सडकको स्तरोन्नति, कृषि उत्पादनको बजारीकरणका साथै किसानलाई गाउँमा नै गरिखाने वातावरण मिलाइदिन सके राम्रो हुने बताउनुभयो । नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठले गाउँका सडकको मापदण्ड तयार गरेर सबै सडकको स्तरीकरण गरी सुविधाजनक गराउने, किसानको जीवनस्तर वृद्धिका लागि आधुनिक कृषि प्रणाली विकास गर्ने लगायतका योजना सुनाउनुभयो ।
त्यसैगरी नेकपा एमालेको तर्फबाट प्रदेशसभा १ का उम्मेदवार देवेन्द्रबहादुर कटुवालले जिल्ला समन्वय समितिमा पाँच वर्ष समन्वय प्रमुख भएर काम गर्दा आफूले किसानका समस्या र बाध्यता बुझेको बताउँदै किसानलाई उत्पादनसँग जोडेर जीवनस्तर उकास्ने काममा आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा तीन जना स्वतन्त्रसहित नौ जना, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच÷पाँचजना उम्मेदवार छन् ।
छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदानस्थल र एक सय १९ वटा मतदान केन्द्र छन् । बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार चार सय ७२, मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार छ सय ४८ गरी जिल्लाभरी जम्मा ८६ हजार एक सय २० जना मतदाता छन् ।
–––