काठमाडौँ । बडादसैँको छैठौँ दिन आज नवदुर्गामध्येकी कात्यायनी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक-एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा आराधना गर्न लागिएको हो ।
आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।
आज बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्दछ । उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदै छ ।
पुराणअनुसार कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन् । महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन् ।
यिनै कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको हो । सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा आउँछ।
चार हातमध्ये दुई हातमा तरवार, कमल पुष्प लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी छिन्। यिनको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ ।
नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि पूजा आराधना गरिन्छ । यस्तो उपासना घटस्थापना गरी जमरा राखिएका दशैंघर तथा शक्तिपीठहरूमा चल्ने गर्दछ। यो समयमा देवीभागवत महापुराण तथा दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । यो १५ दिनको समयलाई दुर्गा पक्ष पनि भनिन्छ । पूजा कोठा वा दसैँ घरमा नवरात्रभर दुर्गा देवीको आरधना गरिन्छ ।