काठमाडौँ । नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ स्किम सार्वजनिक गरेको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ‘नबिल जेन अल्फा’ स्किम सार्वजनिक गरेको हो ।
‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिका र अभिभावकलाई लक्ष्य गरी ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित स्किम भएको बैंकले जानकारी दिएको छ ।
नबिल जेन अल्फा’ एपमार्फत अभिभावकले आफ्ना बालबालिकाका लागि दैनिक कार्य सिर्जना गर्न, सेट गर्न र तोक्न सक्नेछन् ।
पत्रकार सम्मेलनमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले नबिल जेन प्रोडक्टले तरलता अभावका बेला घरघरमा रहेको रकम बैंकिङ प्रणालीमा भित्र्याउन सहयोग पुग्ने बताए ।
उनले नेपालमै पहिलोपटक बालबालिकालाई लक्ष्य गरेर डिजिटल खुत्रुकेका रूपमा नबिल जेन सुरु गरेको बताए।
सिइओ ढुंगानाले बालबालिका सामाजिक सञ्जालमा मात्रै झुम्मिने अवस्था अन्त्य गर्न यो प्रोडक्टले सहयोग पुग्ने तथा बालबालिकालाई बचत गर्ने बानी बसाउने दाबी गरेका छन् ।
त्यस्तै, बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बालबालिकालाई पनि बचतसँग जोड्न सहज बनाउन एप सार्वजनिक गरिएको बताए । उनले देशको विकास गर्न अहिलेदेखि बालबालिकालाई समेत जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।
अध्यक्ष पौडेलले अहिलेदेखि नै बालबालिकालाई बचत गर्ने बानी बसाल्ने प्रयास बैंकले गरेको बताए ।बालबालिकाले दिइएको कार्यसम्पादनपछि अंक कमाउन सक्छन् र त्यही अंक लिंक गरिएको खातामा पैसाका रूपमा बचत हुने प्रावधान छ ।
यो स्किममार्फत बालबालिकालाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ ।
नबिल जेन अल्फा बचत खाताबाट बालबालिकालाई आफ्नो पढाइका साथै दैनिक जीवनमा अत्यावश्यक पर्ने कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारीबोधका साथै त्यसतर्फ उत्प्रेरित गराउन सहयोग पुर्याउने बैंकले विश्वास लिएको छ ।