इस्लामाबाद । पाकिस्तानमा भारी वर्षापछिको बाढी र वर्षासँग सम्बन्धित घटनाको कारण गएको २४ घण्टाको समयावधिमा ३६ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन (एनडिएमए)का अधिकारीले जानकारी दिएका छन् ।
यस प्रकोपमा परी एक हजार नौ सय ४१ जना घाइते भएका पनि ती अधिकारीले थप जानकारी दिएका छन् । पाकिस्तानको पूर्वीभागमा रहेको पञ्जाव प्रान्त यस भीषण प्रकोपबाट सबभन्दा बढी प्रभावित भएको एनडिएमएले मङ्गलबार साँझमा प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिएको छ ।
यस क्षेत्रमा बाढी र वर्षा सम्बन्धित घटनामा परी १९ जनाको मृत्यु हुनुको साथै एक हजार नौ सय १९ जनाको घाइते भएका एनडिएमए जनाएको छ ।
त्यसपछि दोस्रो स्थानमा खैबर पाख्तुन्ख्वा प्रान्त रहेको यहाँ नौ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । वर्षा र बाढी प्रभावित क्षेत्रमा एक हजार पाँच सय ९१ किलोमिटर सडक र ८१ पुल र तीन वटा पसल क्षतिग्रस्त भएको छ ।
पाकिस्तानमा यस वर्षको मौसमी वर्षा शुरु भएयता एक हजार एक ६२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन हजार पाँच सय ५४ जना घाइते भएका एनडीएमएनले थप जानकारी दिएको छ ।
एनडीएमएनका अनुसार यस प्रकोप शुरुभएयता एक लाख १८ हजार दुई ४७ व्यक्तिको उद्धार गरिएको छ । हाल चार लाख ६२ हजार दुई सय ३६ व्यक्ति अस्थाई शिविरमा बस्दै आएका छन् । यस प्रकोपको कारण तीन करोड ३० लाख ४६ हजार तीन सय २९ व्यक्ति प्रभावित भएका जनाइएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धारकार्य गर्न एडीएमए, अन्य सरकारी सङ्गठन, गैरसरकारी सङ्गठन र स्वयमसेवकको सहभागिता रहेको जनाइएको छ ।
पाकिस्तानी प्रधानमन्त्रीद्वारा बाढीपीडितका लागि अन्तरराष्ट्रिय सहयोगको अपिल
पाकिस्तानका प्रधानमन्त्री साबाज शरिफले पाकिस्तानमा बाढीले इतिहासमै सबैभन्दा खराबरुपमा प्रभावित पारेको बताउनुभएको छ ।
प्रधानमन्त्री शरिफले बाढीका कारण पाकिस्तानमा अहिले इतिहासमै सबैभन्दा बढी क्षति पुगेको बताउँदै सहयोगका लागि सबैसँग अपिल गर्नुभएको हो ।
उहाँले पाकिस्तानी नागरिकका साथै विदेशी दाता निकाय तथा देशसँग सो अपिल गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।
बाढीका कारण विस्थापित भएका व्यक्तिको सङ्ख्या दशौँ लाख भएकाले उनीहरुको उद्वार, पुनस्र्थापना र राहतका लागि ठूलो आर्थिक सहयोग आवश्यक रहेको भन्दै यसका लागि उहाँले आग्रह गर्नुभएको छ ।
यहाँका कैयौँ प्रान्तमा बाढीले गरेको क्षति न्युनिकरणका लागि सरकारले प्रयत्न गरिरहेको भए पनि सबै नागरिकलाई बास र खानपिनको उचित व्यवस्थापन गर्न सम्भव हुन सकेको छैन ।
त्यसैले उनीहरुलाई राहात र पुनस्र्थापनाका लागि ठूलो मात्रामा आर्थिक सहयोग आवश्यक परेको भन्दै अन्तरराष्ट्रिय समुदायसँग सहयोगको अपिल गर्नुभएको हो ।
पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर एक हजार एक सयभन्दा बढी मानिसको मृत्यु भएको छ ।
यो बाढीमा परेर तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । यहाँ गएको हप्तादेखि अविरलरुपमा वर्षा भएको छ ।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर ती व्यक्तिको मृत्यु भएको हो । यहाँका एक हजार छ सय ३४ जना घाइते भई अस्पतालमा रहेका छन् ।
पाकिस्तानी अधिकारीका अनुसार यहाँका बलुचिस्तान, गिलगिट बाल्टिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढी र त्यसपछि आएको पहिरोबाट बढी मात्रामा प्रभावित छन् ।
बाढी र पहिरोले सडक बगाएको, पशु चौपाया बगाएको, पुल भत्काएको तथा ठूलो क्षेत्रमा लगाएको बाली पनि नष्ट गरिदिएको बताइएको छ ।