मोरङ । प्रदेश सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चार वर्षमा दुई सय १७ दशमलव ७२ किलोमीटर कालोपत्र सडकको निर्माण गरेको छ ।
मन्त्रालयका सूचना अधिकारी इञ्जिनीयर ललित चौधरीले प्रदेश नं १ का १४ जिल्लामा विगत चार वर्षमा उक्त सडक निर्माण गरेको जानकारी दिनुभयो । प्रदेश सरकार स्थापनाको चार वर्षमा आर्थिक वर्ष २०७५÷७६ मा २६ दशमलव १८ किमी, २०७६÷७७ मा ५२ दशमलव २१ किमी, २०७७÷७८ मा ४० दशमलव ६१ किलोमिटर र आव २०७८÷७९ मा ९८ दशमलव ७२ किलोमिटर कालोपत्र निर्माण सम्पन्न भएको हो ।
सडक मर्मत र ग्राभेल
यसैगरी सोही अवधिमा आठ सय १९ दशमलव ८२ किमी सडक मर्मत गरिएको सूचना अधिकारी चौधरीले बताउनुभयो । जसमा आर्थिक वर्ष २०७५÷७६ मा छ सय एक किलोमिटर, २०७६÷७७ मा ६१ दशमलव ५४ किमी, २०७७÷७८ मा ५१ दशमलव १३ किमी र आव २०७८÷७९ मा एक सय छ दशमलव १६ किमी सडक मर्मत गरिएको हो ।
सोही अवधिमा आठ सय ९५ दशमलव ७५ किलोमिटर सडक ग्राभेल गरिएको छ । जसमा आर्थिक वर्ष २०७५÷७६ मा एक सय २८ दशमलव नौ किलोमिटर, २०७६÷७७ मा दुई सय ११ दशमलव ३५ किलोमिटर, २०७७÷७८ मा एक सय ७५ दशमलव ३१ किलोमिटर र आव २०७८÷७९ मा तीन सय ८० दशमलव १९ किलोमिटर सडक ग्राभेल गरिएको छ ।
कच्ची सडक र ट्र्याक
यस्तै, सोही अवधिमा आठ सय ५९ दशमलव ३७ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५÷७६ मा एक सय ८१ दशमलव तीन किलोमिटर, २०७६÷७७ मा चार सय ७७ दशमलव ८२ किलोमिटर, २०७७÷७८ मा एक सय नौ दशमलव १९ किलोमिटर र २०७८÷ ७९ मा ९१ दशमलव सात किमी कच्ची सडक निर्माण गरिएको छ ।
मन्त्रालयले उक्त अवधिमा पहाडी क्षेत्रमा दुई सय ५४ दशमलव ३६ किलोमिटर सडकको ट्र्याक खोलिसकेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५÷७६ मा सात दशमलव पाँच किमी, २०७६÷७७ मा एक सय ४२ दशमलव ५९ किलोमिटर, २०७७÷७८ मा ५५ दशमलव १९ किलोमिटर र आव २०७८÷७९ मा ४९ दशमलव आठ किलोमिटर सडकको ट्र्याक खोलिएको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो ।
सोही अवधिमा आठ दशमलव ४६ किलोमिटर सडक ढलान गर्ने कार्य सम्पन्न गर्नुका साथै १६ दशमलव ८८ किमी सडक सोलिङ गरिएको छ ।
मोटरेवल र झोलुङ्गे पुल
मन्त्रालयले सोही अवधिमा प्रदेशमा ५५ वटा मोटरेवल पुलको निर्माण गरेको छ । जसमा आर्थिक वर्ष २०७५÷७६ मा १०, २०७६÷७७ मा १२, २०७७÷७८ मा आठ र आव २०७८÷७९ मा २५ पुल निर्माण सम्पन्न गरेको हो ।
सोही अवधिमा प्रदेशभरिमा एक सय पाँच वटा झोलुङ्गे पुल निर्माण गरेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५÷७६ मा सात, २०७६÷७७ मा २९, २०७७÷७८ मा ४४ र आव २०७८÷७९ मा २५ वटा झोलङ्गे पुल निर्माण भएको हो । ---