मोगादिसु । अल–शबाब आतङ्ककारीहरूले सोमालियाको राजधानी मोगादिसुको हयात होटलमा आक्रमण गरेको झण्डै ३० घण्टापछि घेराबन्दी समाप्त भएको सरकारी सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरु जानकारी दिएको छ ।
अल–शबाब आतङ्ककारीहरूले गरेको आक्रमणमा ४० जनाको मृत्यु हुनुका साथै ७० भन्दा बढी घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार सुरक्षा अधिकारी र आक्रमणकारीहरूबीच झण्डै ३० घण्टासम्म गोली हानाहान जारी रहेको छ ।
अल–कायदा आतङ्ककारी समूहसँग आबद्ध अल–शबाबले सोमालियाको सरकारविरुद्ध सशस्त्र सङ्घर्ष गरिरहेको छ र अझै पनि देशको दक्षिणी र मध्य भागमा ठूलो भूभागमा नियन्त्रण गरिरहेको छ ।
भारतले मोगादिसुको हयात होटलमा भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । यसले पीडित परिवारप्रति हार्दिक समवेदना पनि व्यक्त गरेको छ । भारत सोमालियाको सरकार र जनताको आतङ्कवादविरुद्धको लडाईमा साथ रहने आश्वासन दिएको छ ।
सोमालियामा भएको हमलाको राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा
सोमालियाको मोगादिसुस्थित हयात होटलमा भएको आतङ्कवादी समूह अल–शबाबको आक्रमणको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ । मोगादिसुको उक्त होटलमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा १० जना मारिएका तथा कैयौँ घाइते भएका बताइएको छ । पछि घाइतेहरुको निधन भएको र आइतबार बिहानसम्म निधन हुनेको संख्या २० पुगेको बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले एक विज्ञप्ति प्रकाशन गरी सो आक्रमणमा संलग्नहरुको पहिचान गरी उनीहरुलाई सख्त कारबाही गर्न भन्नुभएको छ ।
साथै सो विज्ञप्तिमा उक्त आक्रमणमा परी ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना गरिएको छ ।
शुक्रबार राति अल–शबाबका लडाकूहरुले उक्त होटलमा आक्रमण गरेका थिए । प्रत्यक्षदर्शीहरुका अनुसार घटनास्थलबाट बालबालिकासहितका अन्य धेरैलाई उद्धार गरिएको थियो ।
हतियार बोकेका अल–शबाबका आक्रमणकारीहरूले होटल भवनमा प्रवेश गर्नुअघि बाहिर विष्फोटसँगै आक्रमण सुरु गरेका थिए ।
उक्त हायात होटलमा हमला हुँदा ठूलो संख्यामा पर्यटक रहेका बताइएको छ । सो हमलापछि कडा सुरक्षाको व्यवस्था गरिएको थियो । –––