सहरी क्षेत्र यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारित
प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ पारित गरेको छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक पारितका लागि प्रस्तुत गर्नुभएको थियो । बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गर्न निर्णायक प्रस्ताव प्रस्तुत गर्दा गणपूरक सङ्ख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको छ ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिबाट दफाबार छलफलको प्रतिवेदनसहित सो विधेयक पारितका लागि प्रस्तुत गर्नुभएको थियो । उहाँले विधेयकले आन्तरिक ऋण उठाउन र वैदेशिक ऋण लिन सरकारी निकाय र सार्वजनिक संस्थाले प्रक्रियाका लागि विधेयकले व्यवस्था गरेको बताउनुभयो ।
काठमाडौँको फोहर व्यवस्थापनबारे ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको दिगो समाधान गर्न ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा सांसदहरुले केन्द्र र स्थानीय सरकारबीचको समन्वय प्रभावकारी नहुँदा फोहरले सडकमा सवारी जाम हुने स्थिति उत्पन्न भएको टिप्पणी गर्नुभयो । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले काठमाडौँमा फोहर नउठेको आज १४ दिन भइसक्दा पनि सरकारबाट कुनै पहल नभएको जनाउँदै काठमाडौँवासीमा हैजा र झाडापखाला हुनसक्ने खतरा उत्पन्न भएको बताउनुभयो ।
उहाँले सांस्कृतिक सहर काठमाडौँको विकासका लागि एमालेसँग सहकार्यमा आउन महानगर प्रमुख बालेन्द्र शाहलाई आग्रह पनि गर्नुभयो । एमालेका सांसद भूमि त्रिपाठीले पनि काठमाडौँका सडकमा देखिएका फोहरका थुप्रोले यहाँको सभ्यतामा प्रश्नचिह्न खडा गरेको बताउनुभयो ।
बैठकको शून्य र विशेष समयमा सांसदहरुले राष्ट्रिय सरोकारका विषयमा ध्यानाकर्षण गराउनुभएको थियो । सांसद राजन केसी, निरु पाल, रामवीर मानन्धर, हितबहादुर तामाङ, यज्ञराज सुनुवार, प्रेम सुवाललगायतले विविध विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।
बीमासम्बन्धी विधेयक पारित
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिबाट दफाबार छलफलको प्रतिवेदनसहित विधेयक पारितका लागि प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री शर्माले बीमा क्षेत्रका विकृति र विसङ्गतिको अन्त्य र उत्पन्न समस्याको समाधानका लागि नयाँ विधेयक ल्याइएको बताउनुभएको छ ।
उहाँले समाजवादोन्मुख लक्ष्यप्रति प्रतिबद्ध भई उपलब्ध स्रोध र साधनको प्रयोग गरी तीव्र आर्थिक विकासका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो । उहाँले बीमासम्बन्धी विगतका ऐन, कानुनको पुनरावलोकन गरेर नयाँ विधेयक ल्याइएको जानकारी दिँदै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य बीमासम्बन्धी अलग्गै ऐन कार्यान्वयनमा रहेकाले उक्त ऐनबमोजिम नै कार्य हुने स्पष्ट गर्नुभयो ।
सांसदहरु भरत साह, दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, राजन केसीलगायतले विधेयकमाथिको छलफलमा भाग लिनुभएको थियो ।