मन्दिर जानेले मुर्तिकारको खोजी गर्दैन। जसले मूर्तिकार चिन्छ मन्दिर जाँदैन। उसले मुर्तिकार स्वयंमा देख्छ। यही दर्शनभाव हाे। मुर्तिकारले ढुङ्गामा आफ्नै भाव कुद्छ। त्यसैले भनिन्छ "अहं ब्रह्मास्मि"। यही मूर्तिमा आस्था, विश्वास, संस्कार, परम्परा, सबै मिसिन्छ र मूर्तिमा विश्वास बढ्दै जान्छ।जतिखेर मूर्तिकारले मूर्ति बनाउँछ । त्यहाँ केवल ढुङ्गो हुन्छ।। मूर्ति , ढुङ्गोमा मुर्तिकारको सृजना हो। कालान्तरमा सर्जक हराउछ। सिर्जना अमर बन्छ। यो नै सृष्टिको कला हो ।
प्रजातन्त्र राजनीतिको कला हो। यसमा समाजको सबै रङ्ग अमूर्त बन्छ। जनतामा गुणको खोजी गर्नु नेताको दृष्टि कला हो। भारतमा लुकेका प्रतिभा हल्दर नागले पद्मश्री पुरस्कार पाए। आदिवासी समूहकी द्राेपति मूर्मूलाई राष्ट्रपति बनाइएको छ ।यी दुवैजना पद पाउनु भन्दा अगाडि राजनीति र समाचारको हेडलाइनमा थिएनन् ।अकस्मात हेडलाइनमा आए। अहिले यसलाई प्रजातन्त्रको सुन्दर पक्षका रुपमा लिइएको छ संसारमा। हामी छिमेकीकाे कार्यबाट गदगद भएका छौं। तर स्वयं राजनीति हेर्दा आफुले आफुलाई हेरेर फिस्स हाँस्छौ । र भन्छौ, हाम्रो प्रजातन्त्रको अभ्यास कहाँ छ ?
प्रधानमन्त्री मोदीले हलधर नागलाइ देखे। यो उनको स्वयमको सुन्दर दृष्टि हो। भारतीय राजनीतिले द्रौपति मूर्मूलाई राष्ट्रपति बनाएको छ।याे भारतीय प्रजातन्त्रको सुन्दर पक्ष हो। यी दुवैमा भारतीय राजनीतिले प्रतिभा चिनेको छ। हाम्रोमा यस्ता प्रतिभा कहाँ छन्? पक्कै छन्। कहिँ न कहिँ छन्। लुकेर बसेका छन्। तर नेपालको दृष्टि र सौन्दर्य बिहिन राजनीतिले यी विषय चिन्न सकेन।,र हलधर नाग र द्रौपदी मुर्मू नेपालकै समाजमा विलय भएका छन्।
अनुसन्धान आविष्कार खोज र विज्ञानमा हाम्रो बजेटमा कति छुट्याइएको छ ।प्रदेश र स्थानीय तहले यसमा कति पैसा खर्चेका छन्? अनि प्रतिभाको मुल्यांकन कसरी हुन्छ ।भएका पनि बिदेशिए। महाविर पुनको आविष्कार केन्द्र देशकै नमुना हाे। यस्ता दर्जनौं आविष्कार केन्द्र बनाउने नेपाली प्रतिभाहरु विदेसिएका छन्। देशभित्र हराएका छन्। सम्मान पाएका छैनन्। कृषि,शिक्षा ,स्वास्थ्य, पानी, माटो, जडिबुटी ,जँगल थुप्रैमा हाम्रो छुट्टै विशेषता छ। यसलाई चिनाउने प्रतिभालाई हामीले कहाँ सम्मान गर्यौ?। सम्मानितहरु कोठामा सिमित भए । हाम्रो बहु समाजलाई चिनाउने अग्रणी हरु कहाँ छन्? यस्तालाइ चिनाउन सरकारको बजेट, नीति खोइ? यसबारे अझै पनि हाम्रो ज्ञान खुलेको छैन।
जब राजनीतिबाट प्रजातन्त्र देखिँदैन याे प्रजातन्त्रको पटाक्षेप मात्र हो ।सही प्रजातन्त्र होइन । किसान, अध्यापक ,विद्यार्थी, गृहिणी, कलाकार, समाजसेवी, रचनाकार ,साहित्यकार,उद्योगी, व्यवसायी ,राजनीतिज्ञ ,कर्मचारी, जो पनि सम्मानयोग्य हुन सक्छन्। तर ती किन अग्रपंक्तिमा आउन सकेका छैनन् ।राजा महेन्द्रले अम्बर गुरुङ, नारायण गोपाल, इन्द्रबहादुर राई, लैनसिंह बाङ्देल चिनाएकाले नेपाली साहित्य र संगीत आजको अवस्थामा छ। पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले थुप्रै मान्छे विदेशबाट ल्याए र नेपालमा स्थापित गरे। जो आज पनि स्थापित छन। पञ्चायतले डा, हर्क गुरुङ ,यदुनाथ खनाल , याेगी नरहरिनाथ चिनायो। आजको भूगोल, परराष्ट्र र धर्मको चिनारी यिनीहरुले दिए। विगत२० वर्षमा प्रजातन्त्रले कसलाई चिनायाे ?केही उदाहरण छन् कि? नेतृत्वले जनजनको गुण पहिचान गर्नुपर्छ ।
असल मान्छे चिन्नलाई केही गर्नु पर्दैन। राजनीतिक र व्यक्तिगत स्वार्थ त्याग गरे पुग्छ। त्याग विनाको राजनीति, स्वार्थले जन्माएको प्रतिष्ठा दीगो हुँदैन। प्रजातन्त्रको विश्वास जनजन सम्म पुगेकै छैन। ।नेपालमा थुप्रै असल मान्छे छन् ।कालिगढ, समाजसेवी छन्। जो राजनीतिभन्दा बाहिर छन्। तर नेपालमा राजनीति भन्दा बाहिरको लाई राजनीतिले चिन्दैन। र नेतृत्वमा पुगेका प्रधानमन्त्री, मन्त्री,माननीय मानिस मात्र काबिल देखिन्छन। यो काबिलियत भित्र त्याग देखिँदैन। व्याक्तिगत स्वार्थ छ। यसले नेपालभित्रका हल्धर नाग र द्राेपति मूर्मू चिन्न सक्दैन।
हाम्रो प्रजातन्त्र भित्र नाता, सम्बन्ध, पहिचान, अवसर, भाइचारा, चाकरी र दबाबले स्थान लियो। प्रजातन्त्रको सुन्दर पक्षमा राजनीति हाबी भयो। हामीलाई पुरस्कार दिन आफ्नै मान्छे चाहिन्छ। खोज्न मान्छे आउनुपर्छ। हामी मान्छे चिन्दैनौं ।राष्ट्रपति बनाउने कुरा त अर्कै कुरा भयो ।
विदेशमा थुप्रै नेपाली प्रतिभा छन। शिक्षित छन्। प्रविधियुक्त छन् ।चन्द्रमामा पानी समेत पत्ता लगाएका छन्। जानेका छन्। विश्व समाज बुझेका छन् । यिनीहरुलाई नेपालमा आकर्षण गर्नुपर्छ ।आकर्षण गर्न पार्टी र राजनीतिको आँखाले होइन सम्मान हुनुपर्छ। आफै जान्ने हुँ भन्ने स्वघोषित विद्वानले विदेशमा बसेका प्रतिभालाई चिन्दैनन। यस्ता स्वघोषित विद्वानबाट नेपालको प्रविधि, विकास, पूर्वाधार कहाँ पुग्यो हामीले देखिसकेका छौं। यिनीहरु पनि राजनीति भित्र लत्पतिए। राजनीति एउटा अहम् नीति हो। यो नीतिभित्र सबैलाई समेट्न नेताको त्याग र स्वार्थ रहित गुण हुनुपर्छ र प्रतिभाले यसको विश्वास गर्नुपर्छ। तब मात्र माटोले जन्माएको प्रतिभा चिन्न सकिन्छ।
पुरस्कार र सम्मान सिमान्त सम्म किन पुगेन? किन यस्ता पुरस्कार लिन असल मानिस पुग्दैनन्? अब स्थानीय सरकारले यसमा ध्यान दिनुपर्छ ।स्थानीय सरकारले जनताको गुणलाई सम्मान गर्नुपर्छ ।सम्मानित प्रतिभाले मात्र विश्व चिनाउँछ। स्थानीय सरकार प्रतिभा सम्म पुग्न सक्छ। गुण पहिचान गर्नसक्छ। सिंहदरबार त पुगेन। इतिहासले देखायो ।अब स्थानीय सरकार नै विश्वासपात्र भएको छ ।सिंहदरबारको स्वार्थको घेरा र राजनीतिक त्याग बिनाको राजनीतिलाई प्रदेश र स्थानीय सरकारले त्याग गर्नुपर्छ ।।तब मात्र लुकेर बसेको प्रतिभालाई हामी सम्मानित गर्न सक्छौं ।राष्ट्रिय गौरव स्थापित गर्न सक्छौं ।पुरस्कार दिनुपर्ने लाई घरमा नै गएर पुरस्कार दिनुपर्छ। घरमा गएर पहिचान गर्नुपर्छ ।यसका लागि त्याग जरुरी छ ।प्रतिस्पर्धाले मात्र प्रजातन्त्रलाई स्थापित गर्दैन। चाहे त्यो जुनसुकै शासन प्रणाली वा संरचना किन नहोस् ।हामीले बाहिर घटनाक्रमबाट धेरै कुरा सिक्नु जरुरी छ
राष्ट्र र समाजका प्रतिभा चिन्न नेतृत्व बौद्धिक, उदार, त्यागी, हुनुपर्छ ।सदाचार युक्त र नैतिक दृष्टिले मात्र राजनीति पर्दाभित्रकाे खेल त्याग गर्न सकिन्छ। प्रजातन्त्र भित्रको हाम्रो राजनीति स्वार्थको खेलमा अल्मलिएको छ। देशभित्रै प्रतिभा हराएका छन्। त्यस्ता प्रतिभाको खोजी गर्नु र पुरस्कृत गर्नु राज्यको दायित्व हाे