पर्वत । पर्वतका स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वडा कार्यलयबाटै दिने व्यवस्था गर्दा सेवाग्राहीलाई सहज भएको छ ।
बृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता लिनको लागि निकै टाढा धाउनुपर्ने बाध्यता अन्त्य भएपछि सेवाग्राही पनि हर्षित भएका छन् ।
जिल्लाको बिहादी गाउँपालिकाले आइतबार वडा कार्यालयबाट भत्ता वितरण गरेको हो। ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएकाहरूले पनि घर नजिकैबाट भत्ता लिन पाउँदा हर्षित भएका हुन् ।
यसअघि सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि बैङ्कमा नै जानुपर्ने बाध्यता रहँदै आएकोमा गाउँपालिकाले वडा बाट नै भत्ता वितरणको काम थालेपछि भत्ता बुझ्ने दिनमा बैङ्कमा लाग्ने भीड वडा कार्यालयमा लाग्न थालेको गाउँपालिकाका अध्यक्ष प्रवीण गुरुङ बताउँछन्।
स्थानीय तहको निर्वाचनको बेलामा जसरी हुन्छ नागरिकका दुःख घटाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेकाले आफू त्यसलाई पूरा गर्ने प्रयासमा रहेको उनको भनाई छ।
‘गाउँका मान्छेलाई दुई घण्टा टाढाको बैङ्कमा पुगेर भत्ता बुझेर आउनु सामान्य कुरा होइन। फेरि भत्ता पाउनेहरू ज्येष्ठ नागरिक हो, उहाँहरू नै हिँड्न सक्नुहुन्न। निर्वाचनको बेलामा उहाँहरूका दुःख घटाउनेछु भनेर प्रतिबद्धता गरेको थिएँ,’ अध्यक्ष गुरुङ भन्छन्, ‘मान्छे खुसी हुन ठुलो काम होइन कि सामान्य कामलाई सहज बनाए पनि हुन्छ। भत्ता वितरण सँगसँगै स्वास्थ्य परीक्षणको पनि व्यवस्था मिलाउँदा धेरै ठिक गरिएछ।’
बुढेसकालमा स्वास्थ्य संस्थासम्म जान सक्ने आँट पनि नआउँदा स्वास्थ्यमा समस्या आए पनि खटेर घरमै बस्ने ज्येष्ठ नागरिकको बानी हुन्छ। शारीरिक असक्तताका कारण रोग पालेर बस्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि भत्ता सँगसँगै स्वास्थ्य परीक्षणको सुविधा पनि सुरु गर्नाले वडावासीमा खुसी मिलेको वडाध्यक्ष गणेश शर्मा पौडेल बताउँछन्।
नागरिकले चाहेकै ठाउँमा बैङ्कका शाखा स्थापना गर्न नसकिने र पैदल यात्रा गरेर स्वास्थ्य संस्थामा जान नसक्नेहरूका लागि भत्ता वितरण र स्वास्थ्य परीक्षणको काम एकै ठाउँमा गर्दा प्रभावकारी देखिएको उनको भनाइ छ।