म भौतिक रुपमा पोखरामा भएपनि मेरो मन मस्तिष्क देविथान मुन्तिरको गाउँमा छ । प्रवीण दाइ , आज गाउँपालिका अध्यक्षको पदभार ग्रहण गर्नुभएकोमा पुनः बधाई ज्ञापन गर्दछु । मेरो गाउँ हेर्दा सुन्दर तर वास्तविकतामा कुरुप जस्तै हुन पुगेको छ। मेरो गाउँमा मुस्किलले बाइक पुग्छ । यात्रा गर्दा म बाच्ँछु बाच्दिन यकिन हुँदैन । मेरो गाउँसम्म पुग्ने बाटोको अवस्था बेहाल छ ।
मेरो गाउँमा रहेका ३ वटा पानीका मुहान सुकिसकेका छन् । मेरो गाउँ दिनानुदिन जङ्गलमा परिणत भएको छ। उत्पादन गर्नसक्ने जनशक्ति गाउँमा छैनन् । अलिअली उत्पादनमा वृद्ध बुवाआमा लाग्नुभएको छ जसलाई भकारीमा भित्र्याउन नपाउँदै बादँरले उपभोग गरिरहेको छ । मेरो गाउँको विद्यालय माटाेबाट बनेको थियो जुन आजभोलि सिमेन्टेड भैसकेको छ ।
हेर्दा बिल्डिङ्ग राम्रा छन् तर गुणस्तरीय शिक्षा र शिक्षामा छिरेको व्यापक राजनीतिले विद्यार्थीको सङ्ख्या अति न्यून छ । विदेशमा मेरा दाजुदिदी , अंकलहरुले वर्सौवर्ष लगाएर कमाएको धनले ३ तले घर त बनाउनुभयो तर ती प्रत्येक घरमा वृद्धहरु छन् । गाउँमा कोहि गम्भीर विरामी परेमा अस्पतालसम्म पुर्याउने न त मान्छे छन न त एम्बुलेन्स पुग्ने बाटो छ । बिना शक्ति र बिना राजनीति कसैले जागिर पाउने स्थिति छैन । अघिल्लो वर्ष गाउँलेको खरबारीमा डढेंलो लाग्दा निभाउने कोहि भएन । ७५ वर्षका वृद्ध लौरो टेकेर खरबारीमा पुगे । केही बेरमै खरबारीको सबै खर नाश भयो ।
अघिल्लो सरकारले खास उपलब्धि हासिल गर्न सकेन । परिवर्तनको यथार्थ अनुभुति मैले गर्न सकिन । म गृहजिल्ला बाहिर बसेर पढ्न लाएको ५ वर्षभन्दा बढी भैसक्यो । म विदा भएपछि घर पुग्छु तर रोएर सहर फर्कन्छु । म निराश हुन्छु । मेरो हृदय रुन्छ । मेरो शरीरले केही सहदैन । कमजोर बन्छु । त्यहाँ हुन्झेल आफुलाई सम्हाल्न गाह्रो पर्छ । मेरो सुन्दर गाउँ जहाँ पुग्ने सबैले त्यस ठाँउको सुन्दरताको , त्यहाँको सम्भावनाको बयान गर्छन् तर मैले भने न बयान गर्न सक्छु न त आलोचना नै गर्न सक्छु ।
यस पटकको निर्वाचनमा विहादी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएका दाजु Praveen Gurung र वार्ड अध्यक्षमा निर्वाचित हुनुभएका Bhusal Bishnu अङ्कललाई मेरो गाउँको , मेरो विहादीको विकासमा काम गरिदिनुहुन विनम्रतापुर्वक अनुरोध गर्दछु । १ रुपैयाँ तलमाथि नगरीकन केबल जनताको सेवामा समर्पित भएर अगाडि बढ्नु ।
राजनीति निष्ठापुर्वक गर्नु । तपाईंलाई हामी हर्क सम्पाङ , बालेन्द्र , हमाल मान्न सक्ने बन्नु । यदि युवाको भावनालाई बुझेर , स्थानीय जनतासंग दिनहुँ जोडिएर काम गर्न सक्नुभयो भने आगामी राजनीतिक जीवन पनि सफल बन्नेछ । तपाईं एउटा युवाको आह्वान ; विहादी बनाइदिनुहोस् ।