राजनीति भन्ने बित्तिकै हाम्रो मगजमा आउने प्रमुख शब्द नै पद हो । अर्थात हाम्रो सामाजिक चेतनामा राजनीति भनेको पद र प्रतिष्ठा कमाउन प्रयोग गरिने एक माध्ययमको रूपमा परिचित छ । त्यसैले त राजनीति गर्नेलाई पद भोगिको संज्ञा पनि दिएको पाइन्छ ।
निर्वाचनको बेला अनेकन प्रलोभन देखाउने र जितेपछि कोल्टे फर्कने नेताका कारण पनि हाम्रो समाजमा राजनीतिको इज्जत कम भएको या राजनीतिमा लागेकाहरु प्रति विश्वास कम भएको हो ।
तर, समाजमा कतिपय राजनीतिमा लागेका यस्ता पात्रहरु पनि छन् जसलाई पद, पैसा र प्रतिष्ठाले त्यति महत्व राख्दैन । जति जनताको समस्याको सारथी भएर आत्मासन्तुष्टी कमाउनुले महत्व राख्छ । यस्तै पात्रको एक प्रमुख उदाहरण हुन् पर्वतको विहादी गाउँपालिकाकी खगिसरा भुसाल ।
विद्यार्थी कालदेखि सक्रिय राजनीतिमा लागेर निरन्तर रुपमा जनताका साथमा रही जनताका समस्याको सारथी बनेकी उनी त्यस क्षेत्रकी सबैभन्दा लोकप्रिय तथा कुशल नेतृको रुपले परिचित छन् ।
करिब २० वर्ष महिला स्वास्थ्य स्वंयसेविका भएर स्थानीयको स्वास्थ्य तथा सामाजिक चेतानका लागि काम गरेकी उनको राजनीतिक यात्रा त्यति सहज भने थिएन ।
विसं २०४८ सालमा नेपाली कांग्रेसको भातृ संगठन नेविसंघमार्फत राजनीतिमा लागेकी उनको लागि राजनीति भनेको समाजसेवाको अर्को नाम हो । अर्थात उनको परिभाषामा राजनीति भनेको समाजसेवा हो । नेता भनेको जनताको सेवक हो ।
सामान्य परिवार, सामान्य आर्थिक अवस्था वैदेशिक रोजगारीमा लागेका श्रीमान् तथा घरमा साना तीन सन्तानलाई सम्हाल्दै उनले राजनीतिमा पनि संक्रिय रुपमा लागिन् । नेपाली कांग्रेमा आवद्ध भएर उनले महिला हिंसा, महिला सशक्तिकरण तथा महिला हक हितको लागि धेरै योगदान गरेकी छन् ।
यसैको मूल्यांकन गरेर पार्टीले उनलाई यसअघिको स्थानीय तहको निर्वाचनमा गाउँकार्यपालिका सदस्य बन्ने अवसर प्रदान गर्यो । पार्टीबाट टिकट पाएर प्रत्यक्ष रुपमा निर्वाचनमा लडेर उनी विजयी पनि भइन् ।
पाँच वर्षे कार्यकालमा जनताको प्रतिनिधि भएर जनताको लागि निरन्तर रुपमा लागेकी उनले यसपालिको निर्वाचनमा भने उम्मेदवारी नदिने निर्णय गरेकी छन् । नेतृत्व तहमा जहिल्यै एउटै अनुहार आउनाले पनि विकासले गति लिन नसक्ने आँकलन गर्दै उनले नयाँ पुस्तालाई अवसर दिनको लागि आफूले यसपालिका निर्वाचनमा उम्मेदवारी नदिएको घोषणा गरेकी हुन् ।
नयाँ पुस्तामा नयाँ भिजनका साथै नयाँ उर्जा हुने भएकाले पनि उनीहरुलाई अवसर दिनुपर्ने उनको धारणा छ । आफूले गर्न सक्ने काम जनताको लागि जनप्रतिनिधी नभए पनि गर्ने बताउँदै उनले स्थानीय तहमा उम्मेदवारी दिएका सबै नयाँ उम्मेदवारलाई हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गरेकी छन् ।