जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडकखण्डको साप्सुखोलामा निर्माणाधीन मोटरेबल पक्की पुलको बिम तथा स्ल्याब ढलानको काम तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने सडकखण्डको साप्सुखोलामा निर्माणाधीन ४० मिटर लामो प्रिस्ट्रेस बिम मोटरेबल पक्की पुल ढलानको काम तोकिएको समयभन्दा महिना दिनअगाडि नै सम्पन्न गरिएको हो । निर्माण कम्पनी सूर्य एण्ड सन्स प्रालिले यही वैशाख १२ गतेदेखि पुलको बिम तथा स्ल्याब ढलान शुरु गरेको थियो ।
ढलानको काम सम्पन्न गरिएको उक्त पुलको अन्य काम २८ दिनपछि टेण्डम वायर तानेपछि मात्र शुरु गरिने निर्माण कम्पनीका प्रोजेक्ट इन्चार्ज एवं एकाउन्टेन्ट हरिप्रसाद बरालले बताउनुभयो । स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)को प्राविधिक सहयोगमा निर्माण शुरु गरिएको पुल विसं २०७६ असार ११ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले शिलान्यास गर्नुभएको थियो । निर्माण कम्पनीले २०७८ जेठ १७ गते निर्माणको काम सम्पन्न गर्ने गरी २०७६ जेठ १७ गते सम्झौता गरेको थियो ।
रु पाँच करोड ६० लाख १० हजार ५४५ मा सम्पन्न हुने पुलमा गाउँपालिकाको रु दुई करोडको हाराहारीमा बजेट खर्च हुने जनाइएको छ । सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको संयुक्त लगानीमा उक्त पक्की पुल निर्माणको काम शुरु गरिएको हो । गत वर्ष कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा लागू गरिएको बन्दाबन्दीको समयमा पनि निर्माण कम्पनीले उक्त निर्माणाधीन पक्की पुल निर्माणको कामलाई निरन्तरता दिएको थियो ।
दिक्तेलबाट खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो मार्गमा पर्ने साप्सुखोलामा प्रिस्ट्रेस बिम पुल निर्माणको काम अघि बढाइएको होविशेषगरी दिप्रुङ चुइचुम्मा गाउँपालिका र खानीडाँडा विमानस्थललाई जोड्ने गरी साप्सुखोलामा पुल निर्माणको काम अघि बढाइएको पक्की पुल बिममा तार घुसाएर तार तन्काएपछि तारमा लोड दिएर निर्माण गरिने प्रकृतिको पुल भएको जनाइएको छ । साप्सुखोलामा पक्की पुल निर्माण भएपछि दक्षिणी क्षेत्रको याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु, चिप्रिङलगायतका स्थानीयवासीलाई साविकको सदरमुकाम दिक्तेल आउजाउ गर्ने सबैभन्दा छोटो बाटो खुल्ने छ । साप्सुखोलामा पक्की पुलको अभाव हुँदा उक्त सडकखण्डमा हिउँदभर करिब छ महिनामात्र यातायातका सवारी साधन सञ्चालन हुँदै आएको थियो ।
लामो समयसम्म अवरुद्ध हुँदै आएको सडकखण्डमा पर्ने साप्सुखोलामा पक्की पुल बनेर सञ्चालनमा आउने भएपछि दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा हर्षित भएका छन् । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीय तह जोड्ने सडकखण्डका खोलामा पक्की पुल निर्माणको काम भइरहेको छ । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिका जोड्ने तापखोलामा भर्खरैमात्र मोटरेबल पक्की पुल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको छ ।