काठमाडौँ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले आजदेखि देशैभरि प्रारम्भ भएको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गरी तोकिएकै अवधिभित्र पूर्णता दिइसक्न सरोकारवालाहरुलाई निर्देशन दिनुभएको छ ।
मनहरी गाउँपालिका–५ स्थित भोजसिद्ध माविमा आज आयोजित कार्यक्रममा उहाँले अभियान सञ्चालनका क्रममा आउनसक्ने कठिनाइहरुको व्यवस्थापन मिलाइसकिएको बताउनुभयो । मन्त्री खतिवडाले जनतालाई आ–आफ्ना बालबालिकालाई खोप अभियानमा ढुक्क भएर सहभागी गराउन अपिल गर्नुभयो ।
उहाँले आजदेखि प्रारम्भ भएको अभियान देशैभर वैशाख १८ गतेसम्म सञ्चालन हुने जानकारी दिँदै यस अवधिमा १५ महिनादेखि १५ वर्षसम्मका करिब ७५ लाख बालबालिकालाई खोप सेवा प्रवाह गरिने बताउनुभयो । त्यसका लागि देशैभर करिब ५० हजारभन्दा बढी खोप केन्द्र, आवश्यक खोप, दक्ष स्वास्थ्य जनशक्ति तथा स्वयंसेवकको व्यवस्थापन मिलाइएको उल्लेख गर्नुभयो ।
खोप अभियान साझा भएकाले सबैले आ–आफ्नो तर्फबाट सहयोग गरेमात्रै सफलता प्राप्त हुनेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा मन्त्री खतिवडाले खोप र सिरिन्जको बाक्सा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भीमसागर गुरागाईँलाई हस्तान्तरण गर्नुभएसँगै खोप अभियान प्रारम्भ भएको छ ।
खोप सामग्री ग्रहण गर्दै प्रमुख गुरागाईँले तोकिएको समय अगावै मकवानपुरमा अभियानले पूर्णता पाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले खोप अभियानबाट मकवानपुरका मात्रै एक लाख आठ हजार बालबालिका लाभान्वित हुने जानकारी दिनुभयो । उहाँले अधिकांश विद्यालयहरुलाई खोप केन्द्र बनाइएको र विद्यालय पुग्न नसक्ने बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा गएर पनि खोप लगाउन सक्ने गरी प्रबन्ध मिलाइएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले अभियानलाई पूर्णता दिन आ–आफ्नो तर्फबाट सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।