काठमाडौँ । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँका ३२ वर्षीय प्रदिप परियारले निजामती सेवामा नयाँ रेकर्ड कायम गर्न सफल भएका छन् ।
२०४६ साल वैशाख महिनामा फलेवासको एक सामान्य परिवारमा जन्मिएका परियारले ३२ वर्षकै उमेरमा निजामती सेवामा खुल्ला प्रतिस्पर्धाबाट सह-सचिव पदमा नाम निकाल्न सफल भएपछि निजामती सेवामा नयाँ रेकर्ड कायम भएको हो ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शाखा अधिकृतको रूपमा कार्यरत परियार खुल्ला प्रतिस्पर्धाबाट सह-सचिव बनेका हुन् । २ जनाको लागि खुलाइएको सहसचिव खुला पदमा प्रदीप र गुल्मीका सुरेश पन्थीको नाम लोक सेवा आयोगको ८ चैतको बैठकले सिफारिस गरेको हो ।
परियारले निजामती सेवामा ९ वर्ष बिताएका छन् । १ वर्ष नायब सुब्बाको रूपमा काम गरेका उनीसँग पछिल्लो ८ वर्ष भने शाखा अधिकृतका रूपमा विभिन्न क्षेत्रमा बसेर काम गरेको अनुभव छ ।
२०६९ सालमा निजामती सेवामा प्रवेश गरेका उनले नायब सुब्बाको नतिजा आएकै वर्ष शाखा अधिकृतमा पनि आवेदन दिएका थिए । निजामती प्रवेशको एक वर्ष परीक्षणकाल रहन्छ । तर परीक्षणकाल पनि पूरा नगर्दै उनी शाखा अधिकृत बन्न सफल भएका थिए । २०७० सालयता उनी शाखा अधिकृतको रूपमा कार्यरत थिए ।
उनको यसै वर्ष तीन पटक उप-सचिवको लिखित परीक्षामा नाम निस्केको थियो । यो वर्ष उनले उप-सचिव प्रशासनतर्फ आन्तरिक र खुला दुवैबाट आवेदन दिएकोमा दुवैमा नाम निस्केको थियो भने परराष्ट्रको उपसचिवमा पनि आवेदन दिएकोमा तीनै पटक लिखितबाट उनी पास भएका थिए ।
सानैदेखि पढाइमा अब्बल तथा लगनशील रहेका प्रदीपले माध्यमिक तहको शिक्षा फलेवासल खानीगाउँकै सरकारी स्कुल भवानी विद्यापिठ माविबाट पास गरेका थिए । १ देखि १० कक्षासम्मको पढाइमा उनी कहिल्यै दोस्रो हुनु परेन । विभिन्न छात्रवृत्ति तथा पुरस्कार पाइरहने उनले शान इन्टरनेसनलबाट प्लस टु उत्तीर्ण गरे । स्नातक पब्लिक युथ क्याम्पस गरेका उनी अस्ट्रेलियाली सरकारको छात्रावृत्तिमा अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट स्नात्तकोत्तर हुन् ।