काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गतेको लागि तय गरेको छ । निर्वाचन आयोगसँगको समन्वयमा गरिएको सो घोषणासँगै निर्वाचनको लागि सम्बन्धित सबैले तीब्र रुपमा तयारी गर्न थालेका छन् ।
आवश्यक सुरक्षाको लागि एक लाख म्यादी प्रहरीको माग गरिएको छ । निर्वाचनको लागि विभिन्न राजनीतिक दलले प्रचारप्रसार कार्यलाई पनि तीब्रता दिइरहेका छन् ।
यसै सन्दर्भमा हामीले प्युठान जिल्लामा यतिबेला निर्वाचनको माहोल, समयसामयीक वर्तमान अवस्थाको बारेमा प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी खेमराज भुसालसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ प्रजिअ भुसालसँग सामाजिक सञ्चारले गरेको कुराकानीको सार संक्षेपः
निर्वाचनमा सुरक्षा रणनीति के/कस्तो छ?
विशेष सुरक्षा रणनीतिहरु बनाएका छौँ । एक चरणमा मतदान स्थलको संवेदनशिलता र समान्यताको बारेमा विश्लेषण गरेका छौँ । यसलाई अझै प्रभावकारी बनाउने कुरामा निरन्तर लागि परेका छौँ । निर्वाचन सुरक्षाको सन्दर्भमा जिल्लास्थित राजनीतिक दलहरु लगायत सरोकारवाल निकायहरुसँग छलफलहरु अगाडि बढाएका छौँ । यसको लागि जिल्लास्थित निर्वाचन कार्यालयले पनि आफ्नो कार्यतालिका अनुसारका कार्यक्रमहरु तीब्र रुपमा अगाडी बढाएको छ । जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुबाट मतदान स्थलहरुको निरीक्षण सुरु गरिसकेका छौँ । निर्वाचनमा खटाउनको लागि जिल्लास्थित सरकारी कर्मचारीहरु, सवारी साधनको विवरणको संकलन गरिरहेका छौँ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि यसालाई थप प्रभावकारी र व्यवस्थित तरिकाले लैजाने योजनामा छौँ ।
जिल्लामा वर्तमान राजनीतिक वातावरण के कस्तो छ?
जिल्लाका सबैजसो राजनीति दलले चुनावी प्रचारप्रसार गर्न थालेका छन् । गाउँगाउँमा घरदैलो अभियान पनि चलाएको पाइन्छ । हालसम्म यो माहोलले खासै अप्ठेरो अवस्था सिर्जना भएको छैन् । कुनैपनि किसिमको अमर्यादित तथा अप्रिय घटना नहोस् भन्नको लागि हामीले विशेषखालको सुरक्षा रणनीति अपनाएका छौँ ।
जिल्लामा कस्ता किसिमका अपराधिक गतिविधि भएका छन् ? के/कस्तो सुरक्षा सर्तकता अपनाउनु भएको छ?
सुरक्षाको दृश्टिकोणबाट हेर्दा यस जिल्लामा ठूला अपराधिक घटना भएको पाइँदैन । तथापी घटना नै नघट्ने पनि होइन । विगतमा घटेका केही यस्ता प्रकृतिका घटनाहरुमा नेपाल प्रहरीले तत्काल अपराधमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिइ प्रचतिल कानुन बमोजि कार्वाहि गरिएको छ । र त्यस्ता घटना हुन नदिनेतर्फ हामी सचेत छौँ ।
हामीले नेपाल प्रहरीको समुदाय साझेदारी कार्यक्रम अन्र्तगत अपराधिक घटना न्युनिकरणका लागि सचेतनामूलक कार्यक्रमहरु सबै स्थानीय तहहरुमा सञ्चालन गरेका छौँ । यसबाट बाल विवाह, अवैध मदिरा बेचबिखन, घरेलु हिंसाका घटनाहरु, लागुऔषध दुर्वेशनीका घटनाहरु रोकथाम र नियन्त्रणका लागि प्रभावकारी भएको महसुस गरेका छौँ ।
यसका साथै, जिल्लाको सुरक्षा व्यवस्थालाई मजबुत बनाउनको लागि अन्र्तजिल्ला सुरक्षा समितिका बैठकहरु गर्नुका साथै जिल्लाका सिमा क्षेत्रहरुमा सचेतनामूलक कार्यक्रमरु पनि सञ्चालन गर्ने गरेका छौँ ।
चाडपर्वमा हुने विभिन्न घटनाको लागि कस्तो तयारी गरिहनुभएको छ?
जिल्लामा हुने हरेक पर्व, मेला, महोत्सवमा हुने झैझगडा लगायतका कुराको लागि हामीले सुरक्षा निकायहरु तथा स्थानीय तहहरुसँग समन्वय गरी यसलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन पहल गरेका छौँ । भोली मनाइने होलीको विषयमा पनि हामीले सूचना जारी गरेर यसलाई मर्यादित बनाउन सम्बन्धित सबैलाई अनुरोध गरेका छौँ । गौरकानुनि रुपमा हुनसक्ने अमर्यादित क्रियाकलाप रोक्नको लागि मुख्यमुख्य ठाउँमा सुरक्षाकर्मीहरु परिचालन गर्ने तयारी रहेको छ ।
जिल्लामा कोरोना भाइरसको अवस्था के छ? कस्तो सतर्कता अपनाउनुभाछ ?
यतिबेला जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या शुन्य भएको छ । तर पनि हामीले स्वास्थ्य सतकर्ताको लागि निर्देशन दिइराखेका छौँ । जनसंख्याको हिसाबले कम जनसंख्या भएको जिल्ला भएको कारण र हामीले समयमै सुरक्षा सतर्कता अपनाएको कारण विगतमा देखिएको महामारीको अवस्थामा पनि जिल्लाले खासै ठूलो क्षति भोग्नु परेन । हामीले जिल्लास्थित सबै निकायसँगको समन्वयमा आइसोलेशन सेन्टरको पनि स्थापना गर्यौँ। यसका साथै यहाँ उपचार संभव नभएका बिरामीलाई तत्काल बुटवल रिफर गर्ने व्यवस्था पनि गर्यौँ ।
गल्मीको मदाने गाउँपालिका–२ मा जन्मनुभएका भुसालले अर्घाखाँची, प्युठानलगायतका जिल्लामा प्रजिअको भुमिकामा रही जनप्रिय काम गर्नुभएको छ ।