काठमाडौँ । पर्वतको विहादी गाउँपालिकाको अब आफ्नै अत्याधुनिक प्रशासनिक भवन तयार भएको छ । लामो समयदेखि साँघुरो भाडाको घरमा रहेको गाउँपालिको कार्यालयले अब आफ्नै भवनमार्फत सेवा दिन थालेको हो ।
गाउँपालिकाको प्रशासकिय भवन निर्माण गर्न स्थानियवासीले जग्गा दान गरेका थिए । सो भवनको उद्धघाटन मंगलबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका हुन् । उद्धघाटन गर्दै उनले गाउँको सिहंदरबार आफ्नै कार्यकालमा खडा गरेकोमा जनप्रतिनिधीलाई बधाई ज्ञापन गर्दै स्थानियवासी पनि बधाईको पात्र बनेको बताए ।
उनले स्थानीय क्षेत्रको शान्ति सुरक्षा, वकास एवं प्रशासन स्थानीय क्षेत्रकै निर्वाचन प्रतिनिधिद्वारा सञ्चालन गर्ने सरकार भएकोले यस्को मुल मर्म अनुसार काम गर्नुपर्नेमा जोडदिए । लोकतन्त्रको स्थानीयस्तर देखी नै संस्थागत विकास गर्न र स्थानीयस्तरमा जनचाहना अनुरुपका आवश्यकता पूर्ति गर्नु स्थानिय सरकारको काम भएको बताउदै शासन व्यवस्थापनमा जनताको सहभागितालाई व्यापक बनाउँदै लौजानुपर्नेमा जोडदिए ।
गण्डकी प्रदेशका पूर्वमन्त्री एवम् संविधान सभा सदस्य विकास लम्सालले गाउँपालिकाको प्रशासनिक भवन निर्माण गरी गाउँको सिहंदरबार खडा गरेकोमा जनप्रतिनिधिहरुको प्रशंसा गरे । उनले कतै केन्द्र विवाद त कतै काम गर्न ढिला हुँदा अधिकांश स्थानिय तहले जनप्रतिनिधिको पाँच बर्षे कार्यकालमा प्रशासनिक भवन निर्माण नगरेको वर्तमान अवस्थामा विहादीबाट अन्य स्थानिय तहले सिको गर्नुपर्ने बताए ।
लम्सालले स्थानिय तहलाई बलियो बनाउने जनप्रतिनिधीले नै भएको भन्दै जनतालाई स्थानीय स्तरमा नै सेवा सुविधा उपलब्ध गराउन तथा स्थानीय तहबाट नै शुशासनको स्थापना गर्न जनप्रतिनिधीहरु सधैँ ईमान्दार बन्नुपर्नेमा जोडदिए ।
२०७७ सालमा ३ करोड १५ लाख ५९ हजारको लागतमा निर्माण थालिएको गाउँपालिकाको प्रशासनिक भवन पुर्ण रुपमा सम्पन्न भई सञ्चालनमा आएको हो । तिन तलाको प्रशासनिक भवनमा २१ ओटा कोठा रहेको प्रमुख प्रशासकिय अधिकृत ध्रुब दयालले जानकारी दिए ।
प्रशासनिक भवन नजिकै वहुद्देश्य सभा हल र कर्मचारी आवास पनि छ । आफ्नो पाँच बर्षे कार्यकालमा प्रशासनिक भवनको काम सकेर नयाँ कार्यालय सर्न पाउदा आफुलाई निकै खुसी लागेको गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुषालले बताए । प्रशासनिक भवन भूकम्प प्रतिरोधी, अपांगमैत्री र वातावरणमैत्री हुने गरी निर्माण गरिएको छ । गाउँपालिकाले सवै सेवा सुविधालाई सजिलो, सहज तथा प्रधावकारी बनाउनलाई नयाँ अत्याधुनिक भवन निर्माण गरिएको र विषयगत शाखा छुट्याएर भवन सञ्चालनमा ल्याइएको उनले बताए ।
गाउँपालिकाको आफ्नो प्रशासनिक भवन निर्माण सँगै वडा नंं ३ रानीपानी, वडा नं. ६ शालिग्राम, वडा नं. २ बर्राचौरको वडा कार्यालयको प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ भने वडा नं. ४ वहाकी र वडा नंं. १ बाच्छाको वडा कार्यालयको प्रशासनिक भवन निर्माणाधिन छ । वडा नं. ५ उरामपोखराको वडा कार्यालय भने यस अघिनै बनेको थियो ।