काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्वमा यतिबेला आकांक्षीहरूको चर्चा निकै चलिरहेको छ । फागुन मसान्तभित्र तदर्थ समिति गठनको तयारी भएसँगै नेविसंघको नेतृत्वमा आउने सम्भावितको चर्चा सुरु हुन थालेको हो ।
नेपाल तरुण दल र नेविसंघमा उमेरहद कार्यान्वयन गर्ने निर्णयसमेत भएको छ । विधानमा नेविसंघको हकमा कायम गरिएको ३२ वर्षे उमेरहदको आधारमा ३२ वर्ष मुनिको समिति आउँदा नेतृत्वमा प्रवल सम्भावना हिमांक भण्डारीको देखिन्छ ।
पर्वत जिल्लाको पैयुँ गाउँपालिकामा जन्मिएका भण्डारी निकै निडर, उर्जाशील एवम् नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने कुशल व्यक्तित्व हुन् । एम.एस.सी सम्मको औपचारिक शिक्षा हासिल गरेका भण्डारी विद्यार्थी कालमा नेपाल विद्यार्थी संगठन तर्फबाट बिरेन्द्र क्याम्पस चितवनको नेविसंघ उप-सभापति समेत हुन्, भने त्रिविको स्ववियु सभापतिको उम्मेदवार समेत हुन् ।
नेविसंघको केन्द्रीय सदस्यसमेत भइसकेका भण्डारी हाल महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको स्वकीय सचिवको रुपमा कार्यरत छन् ।
हालको परम्परागत शिक्षा प्रणालिमा आमूल परिवर्तन गरी जीवन उपयोगी शिक्षा प्रणाली लागु गरी आम युवा विद्यार्थीलाई नेपालमै स्वरोजगार तथा उद्धमी बन्ने अवसर निर्माण गर्ने उनको लक्ष्य रहेको छ ।
यसका साथै युवाहरूमा नेपाल सरकारले ल्याएको 'पढ्दै कमाउदै' भन्ने अवधारणालाई हरेक विद्यार्थीमा पुर्याउन र प्रभावकारी ढङ्गबाट कार्यान्वयनमा ल्याउनको लागि पनि आफ्नो नेतृत्व आवश्यक रहेको उनले बताएका छन् ।
गत फागुन ३ मा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले महाधिवेशन हुन नसकेका नेविसंघसहित १० भ्रातृ संस्थाको केन्द्रीय समिति विघटन गरी तदर्थ समिति गठनको निर्णय गरेको थियो । बैठकले निर्णयका क्रममा नेपाल तरुण दल र नेविसंघमा उमेरहद कार्यान्वयन गर्ने निर्णयसमेत गरेका थियो ।
विधानमा नेविसंघको हकमा ३२ वर्षे उमेरहद कायम गरिएको छ । कार्यसम्पादन बैठकले आवश्यक परामर्श गरी तदर्थ समिति गठनको जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।