मुलुकको व्यापार घाटाले नेटो काटेको छ । आयातमा भएको उल्लेख्य वृद्धिका कारण व्यापार घाटा रु १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको छ । चालु आवको सात महिनामा कूल वस्तु व्यापारघाटा ३८.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष त्यस्तो व्यापार घाटा ०.७ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा निर्यात आयात अनुपात ११.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.७ प्रतिशत छ । यस्तै, समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरेर रु एक खर्ब २८ अर्ब १७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो आयात रु एक खर्ब चार अर्ब १३ करोड बराबर थियो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार सात महिनाको कूल वस्तु आयात ४२.८ प्रतिशतले वृद्धि भई रु ११ खर्ब ४७ अर्ब ४६ करोड बराबर पुगेको छ ।
अघिल्लो वर्ष त्यस्तो आयात नगन्य रुपमा मात्रै बढेको थियो । विवरण अनुसार भारतबाट ३१ प्रतिशत, चीनबाट ४२.३ प्रतिशत र अन्य देशबाट ८३.८ प्रतिशतले आयात बढेको छ । पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, यातायाताका साधन तथा पाटपूर्जालगायतका सामानको आयात बढेको छ । त्यस्तै एसउम बिलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगरलगायतका वस्तुको आयात बढेको छ । निर्यात पनि बढ्यो आयातको तुलनामा थोरै भएपनि निर्यातको मात्रामा पनि वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार चालु आवको सात महिनाको अवधिमा वस्तु निर्यात ८८.३ प्रतिशतले वृद्धि भई रु एक खर्ब ३१ अर्ब ६६ करोड पुगेको छ ।
अघिल्लो आवको सोही अवधिमा निर्यात ७.६ प्रतिशतले वृद्धि भएको थियो । भारततर्फको निर्यात ११३ प्रतिशतले बढेको छ । तर, उत्तरी छिमेकी चीनतर्फको निर्यात भने १२.४ प्रतिशतले घटेको छ । अन्य मुलुकतर्फको निर्यातमा पनि २७.७ प्रतिशतले वृद्धि भएको छ । नेपालबाट पाम तेल, सोयाविन तेल, पिना, धागो, जुसलगायतका बस्तुको निर्यात बढेको छ । त्यस्तै नगदे बालीको रुपमा रहेको अलैची, चिया, जडीबुटीको निर्यात घटेको छ । तामाको तार र अन्य फलामे तारको समेत निर्यातमा पनि कमी आएको छ । –