विगतको तुलनामा नेपालमा यतिबेला साक्षरता प्रतिशत निरन्तर रुपमा उकालो लागेको छ । शिक्षा जस्तो अपरिहार्य कुरामा भएको यो उल्लेख्य वृद्धि नेपाल जस्तो देशमा निकै ठुलो उपलब्धि पनि हो ।
शिक्षाको महत्त्व के कस्तो छ, यो त सर्वविदित नै छ । वर्तमान समयमा औपचारीक साक्षरता प्रतिशत मात्र बढ्ने तर त्यसको उपयोग उत्पादन तथा रोजगारी मूलक कार्यमा हुन नसक्दा युवा पुस्तामा शिक्षा प्रति वितृष्णाको अवस्थासमेत सिर्जना भएको देखिन्छ ।
यसको प्रमुख कारण व्यवहारिक एवम् रोजगारी मुलक शिक्षा नहुनु हो । औपचारिक रुपमा जति नै डिग्री हासिल गरेपनि बेरोजगारीको चरम समस्याबाट गुज्रिनु पर्दा यतिबेला युवाहरूमा शिक्षा प्रती वितृष्णा हुनुका साथै युवा फ्रस्टेशन/डिप्रेशनको सिकार समेत भएको पाइन्छ ।
यसकारण अहिलेको समयमा प्राविधिक शिक्षा निकै लोकप्रिय बनेको छ । निश्चित समयमा डिग्री तथा सीप हासिल गरेर छोटो समयमा नै रोजगार बन्न भरपर्दो माध्यम हो प्राविधिक शिक्षा ।
बढ्दो बेरोजगारी, कमजोर शैक्षिक गुणस्तर, रोजगारीका क्षेत्रमा कमजोर जनशक्तिल लगायतका कुरालाई मध्यनजर गरेर तनहुँको जनगणपति माध्यमिक विद्यालयले विसं २०७३ सालदेखि प्रविधिक शिक्षातर्फ अठार महिने भेटनरी/जेटिए पढाइ सुरु गर्यो । यसको प्रभावकारीता राम्रो देखिएपछि । विसं २०७५ सालमा डिप्लोमा तर्फ एग्रिकल्चर एण्ड एनिमल साइन्स पढाइ सुरु पनि गर्यो । यसअघि कक्षा एक देखि दसमम्म औपचारिक शिक्षा मात्र दिने गरेको सो विद्यालयले मावि तहमा जस्तै प्राविधिक शिक्षामा पनि गुण स्तरीय शिक्षा दिन सफल भएको बताउँछन् विद्यालयका कार्यक्रम संयोजक डा. सरोज वाग्ले ।
विद्यालयका कार्यक्रम संयोजक डा. सरोज वाग्ले
हालसम्म अठार महिने भेटनरी/जेटिए छैठौं वर्षमा चलिरहेको र डिप्लोमा एग्रिकल्चर एण्ड एनिमल साइन्स तेस्रो वर्षमा चलिरहेको छ । गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउ सफल सो विद्यालयमा सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएको वाग्ले बताउछन् ।
प्राविधिक तर्फ चालिस कोटा सम्म मात्रै पढाउन पाइने सो विद्यालयमा स्थानीय मात्र नभए हुम्ला , जुम्ला, जाजरकोट , कालिकोटबाट समेत विद्यार्थी आउने गर्दछन् । टाढाबाट शिक्षाकै लागि आउने विद्यार्थीको मर्कालाई बुझेर विद्यालयले छुट्टै छात्रावास र छात्रवृत्तिको समेत व्यवस्था गरेको छ ।
विद्यार्थीलाई आवश्यक पर्ने ल्याव, पुस्तकालय तथा दक्ष शिक्षक भएको सो विद्यालयमा प्राविधिकतर्फ १२ जना शिक्षक रहेका छन् । प्रयोगात्मक अभ्यासका लागि माछा पोखरी, हाँस/कुखुराको खोर, घाँस लगाउने जमिन रहेको सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले कृषि तथा प्राविधिक ज्ञान हाँसिल गरि स्वदेशमै रोजगारी पाउने तथा आफ्नै व्यवसाय गर्न सक्ने सीप र क्षमता पाउने संयोजक वाग्लेको दाबी छ ।