चन्द्रकान्त भुसाल
परियोजना निर्देशक
EVENT परियोजना-दोस्रो
सार
बजार सान्दर्भिक तालिम कार्यक्रमहरुमा समावेशी पहुँचमा सुधार ल्याउने तथा नेपालमा प्राविधिक तथा व्यावासायिक शिक्षा एवम् तालिम (TEVT) क्षेत्रको सेवा प्रवाहलाई सुदृढ़ बनाउने जस्ता मुख्य उद्धेश्यका साथ बिश्व बैंकको ऋण सहयोगमा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना-दोस्रो(EVENT-II) पाँच बर्षे परियोजनाका रुपमा सन् २०१७ देखि २०२२ सम्मका लागि सञ्चालित छ। यो परियोजनाको लगानिमा विशेष गरी विपन्न (जस्तै: गरिब, सुविधाविहिन क्षेत्रमा बसोबास गर्ने समुदाय, महिला, दलित, अतिसिमान्तकृत जनजाति, अपांगता भएका)१६ देखि ४० बर्ष उमेर समूहका यूवाहरुलाई लक्षित गरी समावेशी छनोटको माध्यम अपनाई तिन महिने(३९० घण्टे)नतिजामा आधारित छोटो अवधिको तालिम सञ्चालित हुने प्रावधान छ। त्यसैगरी,परियोजनाले कार्यसम्पादनमा आधारित गुणस्तर सुधारका लागि अनुदान; व्यवस्थापक, मूल्यांकनकर्ता र प्रशिक्षकको क्षमता विकास; प्राविधिक शिक्षाको पाठ्यक्रममा आधुनिकिकरण;TSLC र Diploma तहमा अध्ययन गर्नेहरुका लागि छात्रवृत्ति; पूर्व सिकाईको सीप परिक्षण;औद्योगिक प्रशिक्षण तालिम र रोजगारीमा सहजीकरण जस्ता अन्य कार्यक्रममा पनि लगानी गरेको छ।शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा परियोजना कार्यान्वयन समिति(Project Implementation Committee)तथा सहसचिवस्तरको परियोजना निर्देशकको नेतृत्वमा परियोजना सचिवालय रहेको यस परियोजनाको लगानिमा सञ्चालित कार्यक्रमको परियचात्मक प्रस्तुतिका अतिरिक्त उक्त प्रावधानका कारणले देखिएका अवसर,विद्यमान् चुनौती एवम् समाधानका उपायको सँक्षिप्त चर्चा गर्नेगरी यो मूलत: सूचनामूलक आलेख तयार पारिएको छ ।
|
१.विषय प्रवेश
समृद्ध नेपाल, सुखी नेपालीको सरकारी सोचलाई पुरा गर्ने सन्दर्भमा नेपाल सरकारका तर्फबाट विभिन्न पहलकदमी लिईएको देखिन्छ। प्रस्तुत सोचको परिपूर्ति गर्ने सन्दर्भमा सीपयुक्त जनशक्तिको विशेष भूमिका रहने पक्षलाई मध्यनजर गर्दै नेपाल सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत विश्व बैंकको आर्थिक सहयोगमा व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना-पहिलो(EVENT-I) २३ अगष्ट २०११ देखि ३१ अक्टुवर २०१५ सम्म सम्पन्न गरी हाल विश्व बैंककै ६० मिलियन अमेरिकी डलर (झन्डै ६ अर्ब नेपाली रुपैया)को ऋण सहयोगमा व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना-दोस्रो (EVENT-II) २५ सेप्टेम्बर २०१७ देखि १५ जुलाई २०२२ सम्मका लागि कार्यन्वयनमा ल्याएको छ ।यस अन्तर्गत कार्य सम्पादनमा आधारित गुणस्तर सुधारअनुदान; व्यवस्थापक, मूल्याङ्कनकर्ता र प्रशिक्षकको क्षमता विकास; प्राविधिक शिक्षाको पाठ्यक्रममा आधुनिकीकरण;TSLC र Diploma अध्ययन गर्नेहरुका लागि छात्रवृत्ति; पूर्व सिकाईको सीप परीक्षण; औद्योगिक प्रशिक्षण तालिम तथा रोजगारीमा सहजिकरण जस्ता अन्य क्रियाकलापहरु समेत रहेका भए पनि नतिजामा आधारित छोटो अवधिको तालिम मूलभूत क्रियाकलापको रुपमा रहेको छ। परियोजनाले गुणस्तरीय तालिमको पहुँच बढाई सीपयुक्त र रोजगार उन्मुख जनशक्तिको आपूर्ति बढाउने ध्येयका साथ तालिम तथा रोजगार प्रदायक संस्था मार्फत स्थानीय तहको सिफारिस र द्रुत बजार सर्वेक्षण(Rapid Market Appraisal/RMA)का आधारमा विभिन्न पेशामा नतिजामा आधारित छोटो अवधिको(३९०घण्टे) व्यावसायिक तालिम १ लाख १५ हजार युवाहरुलाई नि:शुल्क प्रदान गर्ने लक्ष्य राखेको छ। परियोजनाले तोकेका लक्षित समूहका बेरोजगार गरिब युवाहरुले सीप सिकेर रोजगारीमा लाग्न वा स्वरोजगारी सिर्जना गर्न आफूलाई अनुकूल पर्ने तालिम तथा रोजगार प्रदायक संस्थामा छोटो अवधिको सीपमूलक तालिम लिन सक्ने व्यवस्था गर्दै उक्त तालिमबाट लक्षित समूहका युवाहरुको सीप,दक्षता, क्षमता,आत्मविश्वास र प्रतिस्पर्धा गर्ने क्षमतामा बृद्धि हुनाका अतिरिक्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रमबजारमा प्रवेश एवम् मर्यादित जीवन निर्वाहमा सहयोग पुर्याउने अपेक्षा लिएको छ।
परियोजना अन्तर्गतको छोटो अवधिको तालिम मध्ये भौचरमा आधारित छोटो अवधिको तालिम काठमाडौ उपत्याकाका ३ जिल्लामा मात्र र नतिजामा आधारित छोटो अवधिको तालिम उपत्याका बाहिरका ७४ जिल्लामा सञ्चालन गर्ने प्रावधान रहेको छ भने बाँकि तालिम लगायतका अन्य कार्यक्रमहरु देशका कुनै पनि जिल्लामा सञ्चालन हुनसक्ने व्यवस्था छ।
२.परियोजनाका उद्देश्य
EVENT परियोजना-दोस्रोका उद्देश्यहरु मूलत: निम्न दुईवटा छन्:-
- बजार सान्दर्भिक तालिम कार्यक्रमहरुमा समावेशी पहुँचमा सुधार ल्याउनु।
- नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम(TVET)क्षेत्रको सेवा प्रवाहलाई सुदृढ बनाउनु ।
३.परियोजना सम्बद्ध मुख्य मुख्य प्रावधान
उपर्युक्त उद्देश्यका साथ पाँच वर्षका लागि सञ्चालित यस परियोजनाका मुख्य मुख्य प्रावधानहरु निम्न छन्:
१. लाभान्वित समूह
नतिजामा आधारित छोटो अवधिको तालिम र रोजगारीमा आवद्धता, प्राविधिक शिक्षामा कार्यरत नेतृत्वकर्ता र विषयगत प्रशिक्षकहरुको क्षमता अभिवृद्धि, प्राविधिक शिक्षामा अध्ययन गर्नेहरुका लागि छात्रवृत्तिका साथै पूर्व सिकाईको सीप परिक्षण जस्ता कार्यक्रम संचालित गर्नुका साथै परियोजनाले तोकेको शर्तमा रही TSLC र Diploma तहका कार्यक्रम संचालन गर्ने १०० वटा शिक्षालयलाई कार्यसम्पादनको आधारमा गुणस्तर सुधार अनुदान समेत उपलब्ध गराई परियोजनाबाट करिब १,५८,००० युवाहरूलाई लाभान्वित तुल्याउने प्रावधान राखिएको छ ।
२. लक्ष्य तथा क्रियाकलाप
३. (ख) १ नतिजामा आधारित छोटो अवधिको तालिम
तालिम तथा रोजगार प्रदायक संस्था मार्फ़त स्थानीय तहको सिफारिस र द्रुत बजार सर्वेक्षण (RMA) का आधारमा परियोजना अवधिभरमा १ लाख १५ हजार युवाहरुका लागि नि:शुल्क रुपमा विभिन्न पेशामा नतिजामा आधारित छोटो अवधिको तालिम (३९० घण्टे) सञ्चालन गर्ने व्यवस्था गरिएको छ । १६ देखि ४० वर्ष उमेरका बेरोजगार गरिब युवाहरुले सीप सिकी रोजगारीमा लाग्न वा स्वरोजगार सिर्जना गर्न छोटो अवधिको सीपमुलक तालिम लिन सक्नेछन् ।
३.(ख)२कार्यसम्पादनमा आधारित गुणस्तर सुधारका लागि अनुदान
परियोजनाले TSLC र Diploma तह सञ्चालन गरिरहेका १०० वटा प्राविधिक विद्यालय/शिक्षालयहरुका लागि न्यूनतम गुणस्तर मापदण्ड सूचक (Quality Standard Indicator) र सोको मूल्यांकनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT)को नेतृत्वमा तयार पारिएको गुणस्तर सुनिश्चितता निर्देशिका (Quality Assurance Manual) मा रहेका गुणस्तर सुनिश्चितता सूचकलाई आधार मानी कार्यसम्पादनमा आधारित गुणस्तर सुधारका लागि अनुदान प्रदान गर्ने व्यवस्था गरेको छ।
३.(ख)३ व्यवस्थापक, मूल्यांकनकर्ता र प्रशिक्षकको क्षमता विकास
क)बजार सान्दर्भिक तालिम कार्यक्रम विकास गर्ने लक्ष्य अनुसार परियोजना अवधिभरमा सार्वजनिक तथा निजी शिक्षालयका ४०० जना नेतृत्वकर्ता र व्यवस्थापकहरुको नेतृत्व विकास तथा व्यवस्थापन तालिमका लागि लगानी गर्ने प्रावधान छ ।
ख)विभिन्न विषयका ८८० जना प्रशिक्षकहरुलाई नयाँ प्रविधिसंग परिचित गराउंदै ऊनिहरुमा भएको ज्ञानमा निखार ल्याउने एवम् पठनपाठनमा सुधार गर्ने लक्ष्य अनुसार विषयगत तालिमको लागि लगानी गर्ने व्यवस्था छ ।
ग)सीप परिक्षण मूल्यांकनकर्ताहरुको उपलब्धता सुनिश्चित गर्ने एवम् सक्षमता अध्यावधिक गर्ने लक्ष्य अनुसार परियोजना अवधिभरमा ७८० जना मूल्यांकनकर्ताहरुको तालिम तथा पुनरताजगी तालिमका लागि लगानी हुने व्यवस्था छ ।
३.(ख)४ प्राविधिक शिक्षाको पाठ्यक्रममा आधुनिकीकरण
परियोजना अवधिभरमा बजारको आवश्यकता अनुसार छोटो अवधिको तालिम एवम् TSLC/Diploma तहको लागि आवश्यक पर्ने ४० वटा पाठ्यक्रम निर्माण तथा परिमार्जनार्थ बजेट व्यवस्था छ ।
३.(ख)५ TSLC र Diploma तहमा अध्ययन गर्नेहरुका लागि छात्रवृत्ति
परियोजना अवधिभरमा गरिबी एवम् विपन्नता भएका ६५०० जना युवाहरुलाई प्राविधिक शिक्षामा अभिप्रेरित गरी TSLC र Diploma तहमा अध्ययन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले गरिबी मापन सूचकांक (Proxy Means Test/PMT) अंकका आधारमा छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
३.(ख)६ पूर्व सिकाईको सीप परिक्षण
स्वदेशमा रोजगारीको सन्दर्भमा सीप हासिल गरेका वा वैदेशिक रोजगारीबाट सीप प्राप्त गरी स्वदेश फर्किएका तथा आफ्नै प्रयत्नमा सीप सिकेका ३० हजार जना युवाहरुका लागि राष्ट्रिय सीप परीक्षण समिति (National Skill Testing Board/NSTB) बाट तयार भएको National Occupational Skill Standard (NOSS) को आधारमा पूर्व सिकाईको सीप परिक्षण गर्न परियोजनाबाट लगानी गर्ने व्यवस्था छ । सीप परिक्षण पश्चात रोजगारीको अवसर तथा स्वरोजगार सिर्जना गर्नमा सहयोग पुग्ने अपेक्षा परियोजनाले लिएको छ ।
३.(ख)७ औद्धोगिक प्रशिक्षण तालिम
परियोजना अवधिभर तह-२ मा सहभागी हुनका लागि न्यूनतम योग्यता पुगेका १५०० जनाको लागि ८०% उद्धयोग तथा कलकारखानामा प्रयोगात्मक अभ्यास र २०% सैद्धान्तिक ज्ञान सहितको औधोगिक प्रशिक्षण तालिम सञ्चालन गर्ने गरी कार्यस्थलमा आधारित सिकाई वा काम गर्दै सिक्ने तालिम विधि (Apprenticeship Model) को तालिमका लागि लगानी गर्ने व्यवस्था छ ।
३.(ख)८ रोजगारीमा सहजीकरण
निजी स्तरमा सञ्चालन भएका रोजगारी पसल (Job Placement Firm) मार्फ़त रोजगारदाता र तालिम प्राप्त व्यक्ति बीच समन्वय स्थापित गर्ने प्रणालीको विकास गरी तालिम लिई बसेका विभिन्न तहका ३००० जना प्रशिक्षार्थीहरुलाई बजार संग सम्बन्ध स्थापित गराई रोजगारीको सहज पहुँच पुर्याउन लगानी हुने प्रावधान छ ।
४. छोटो अवधिको तालिम सम्बन्धी मूलभूत प्रावधान:
परियोजना सम्बद्ध छोटो अवधिको तालिम सम्बन्धी मुलभूत: प्रावधानहरु निम्न छन्:
४.१ लक्ष्य
परियोजना अवधिमा छोटो अवधिको तालिम तर्फ विभिन्न शिर्षकमा निम्नानुसारको तालिम सञ्चालन गर्ने लक्ष्य रहेको छ:
क्र स
|
तालिम
|
लक्ष्य
|
१.
|
नतिजामा आधारित छोटो अवधिको तालिम तह-१ (साधारण)
|
६९,५००
|
२.
|
नतिजामा आधारित छोटो अवधिको तालिम तह-१(भौचर)
|
२५,०००
|
३.
|
नतिजामा आधारित छोटो अवधिको तालिम तह-१ (महिलाहरुका लागि)
|
१०,०००
|
४.
|
नतिजामा आधारित छोटो अवधिको तालिम तह-१ (वैदेशिक रोजगारीबाट फर्केका वा जान चाहेकाहरुका लागि)
|
५,५००
|
५.
|
नतिजामा आधारित छोटो अवधिको तालिम तह-२
|
५,०००
|
|
जम्मा
|
१,१५,०००
|
४.२ लक्षित समूह
परियोजनाको लगानीमा सञ्चालन हुने छोटो अवधिको तालिमका लक्षित समूहमा १६ बर्ष देखि ४० बर्ष उमेर समूहका गरिब, सुविधाविहिन क्षेत्रमा बसोवास गर्ने समुदाय, अतिसीमान्तकृत तथा सीमान्तकृत, महिला, आदिवासी जनजाति, मधेशी, दलित, अपांगता भएका व्यक्ति तथा वैदेशिक रोजगारिबाट फर्किएका वा जान चाहेका बेरोजगार युवाहरु पर्दछन्। तोकिएका लक्षित वर्गका लक्षित समूहबाट प्रशिक्षार्थी सहभागी गराई अपेक्षित रोजगारीको सुनिश्चितता गरेको अवस्थामा तालिम तथा रोजगार प्रदायक संस्थालाई तोकिएको लागतमा प्रोत्साहन रकम उपलब्ध गराईने प्रावधान समेत छ।
छोटो अवधिको तालिमका लक्षित वर्ग, लक्षित समूह एवम् तिनिहरुलाई अपेक्षित रोजगारीको सुनिश्चितता गरेको अवस्थामा तालिम तथा रोजगार प्रदायक संस्थालाई प्रदान गरिने प्रोत्साहन सम्बन्धी रकमको प्रतिशत निम्नानुसार छ:-
लक्षित वर्ग
|
लक्षित समूह
|
प्रोत्साहनको व्यवस्था
|
क
|
दलित(महिलातथापुरुष)१, विशेष समूह (एकल महिला र अपाड्गता भएका व्यक्ति),लोपोन्मुख जनजाति२, अति सिमान्तकृत जनजाती३, पूर्व कमैया, (कमलर/कमलरी) र पूर्व हलिया
|
१००%
|
ख
|
गरिब महिलाहरु(दलित बाहेक), सिमान्तकृत४, अन्य जनजाति५, मुस्लिम, मानव विकास सुचकाङ्कको आधारमा पछि परेका जिल्ला६का गरिब युवाहरु र गरिब मधेशी पुरुषहरु
|
८०%
|
ग
|
अन्य गरिब पुरुषहरु
|
६०%
|
१.बादी¸चुनारा¸दमाइ¸गाइने¸कामी¸कदारा¸पार्की¸सार्की¸सुनार¸च्यामे¸कसाइ¸कुचे¸कुसुले¸पोडे¸बाँतर¸चमार¸चिडिमार¸धैनर¸डोम¸दुसाध¸गोथे¸हलकर¸झागड¸खत्वे¸लोहार¸मुसहर¸ पासवान र तत्मा
२. किसान¸कुसवाडिया¸कुसुण्डा¸मेचे¸राजी¸राउटे¸लेप्चा¸वनकरिया¸सुरेल र हायु
३.चेपाङ्ग¸झाँगड¸थामी¸थुदाम¸धानुक¸दनुवार¸बरामु¸बोटे¸माझी¸ल्होमी¸सतार¸सन्थ्याल र सियार
४.सुनुवार¸थारु¸तामाङ्ग¸भुजेल¸कुमाल¸राजवंशी¸गन्गाई¸धिमाल¸भोटे¸दराई¸ताजपुरिया¸पहरी¸तोक्पेगोला¸डोल्पो¸फ्री¸मुगाल¸लार्के¸ल्होपा¸दुरा र बालुंग
५. गुरुङ¸ मगर¸ राई¸ लिम्बु¸ छैरोतन¸ ताङ्बे¸ तीन गाउँले थकाली¸ बार्हगाउँले¸ मार्फाली थकाली¸ शेर्पा¸ याक्खा¸ छन्त्याल¸ जिरेल¸ ह्योल्मो¸ ब्यांसी थकाली र नेवार
६. मुगु¸बाजुरा¸कालिकोट¸बझाङ¸जाजरकोट¸अछाम¸हुम्ला¸रोल्पा¸महोत्तरी र रौतहट
४.३प्रशिक्षार्थी छनौट
परियोजनाबाट तालिम सञ्चालन गर्न अनुमति प्राप्त गरिसकेपछि तालिम तथा रोजगार प्रदायक संस्थाहरुले उपत्यकाका तीन जिल्ला बाहिर सञ्चालन हुने नतिजामा आधारित छोटो अवधिको तालिमका प्रशिक्षार्थी छनौट गर्ने सन्दर्भमा तोकिएका जिल्ला र विषयगत रुपमा प्रशिक्षार्थिहरुको आवेदन/दरखास्त आह्वान¸ दरखास्त संकलन¸ प्रशिक्षार्थीहरुको छनौट¸ प्रारम्भिक सूची प्रकाशन, छनौट समिति गठन, अन्तर्वार्ता र अन्तिम नामावली प्रकाशन गर्नुपर्ने व्यवस्था छ भने काठमाडौं उपत्यकाका तीन जिल्लामा सञ्चालन हुने भौचरमा आधारित छोटो अवधिको तालिमका सहभागी छनौटका लागि अनलाइन आवेदन फाराम भराउने¸ प्रारम्भिक सूचि सार्वजनिक गर्ने¸ अन्तरवार्ता गरी अन्तिम नामावली प्रकाशन गर्ने र मेलाको आयोजना गरी भौचर वितरण गर्ने कार्य परियोजना सचिवालयबाटै गरिने प्रावधान छ।
४.४तालिम सञ्चालन अवधि र प्रक्रिया
नतिजा तथा भौचरमा आधारित छोटो अवधिको (३९० घण्टे) तह-१ को तालिम दिनको ५ घण्टाको दरले तीन महिनासम्म निःशुल्क सञ्चालन हुने तथा तालिम सञ्चालनका लागि सम्बन्धित विषयमा CTEVT बाट पाठ्यक्रम निर्माण भै सम्बन्धन लिएको एवम् राष्ट्रिय सीप परीक्षण समिति(NSTB)बाट National Occupational Skill Standard (NOSS) तयार भएको हुनुपर्ने व्यवस्था छ । प्रत्येक तालिम समूहमा बढीमा २० जना परीक्षार्थीहरु मात्र रहनुपर्ने तथा तालिम समूह अनुसार मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक गरी दुई जना प्रशिक्षकको व्यवस्था गर्नुपर्ने प्रावधान पनि छ । तालिम अवधिमा पाठ्यक्रममा भएको विषयवस्तुका अतिरिक्त प्रशिक्षार्थीहरुका लागि एक/एक दिनको जीवनपयोगी र व्यावसायिक सीपका कक्षा समेत सञ्चालन गर्नुपर्ने व्यवस्था परियोजनाले गरेको छ।
४.५सीप परीक्षण
छोटो अवधिको ३ महिने तालिम पश्चात राष्ट्रिय सीप परीक्षण समिति (NSTB) बाट प्रशिक्षार्थीहरुलाई निःशुल्क सीप परीक्षण गरी उत्तीर्ण हुनेहरुका लागि प्रमाणपत्र उपलब्ध गराइने व्यवस्था छ ।
४.६ अनुगमन
छोटो अवधिको व्यावसायिक तालिमको प्रभावकारी कार्यान्वयन र तालिमको गुणस्तरीयता कायम राख्नका लागि जिल्ला तहमा रहेको Helvetas/ENSSURE परियोजना नेतृत्वको संयुक्त अनुगमन टोली(Joint monitoring Team/JMT) मार्फत स्वतन्त्र रुपमा तेस्रो पक्ष अनुगमन(Third Party Monitoring) गरिने प्रावधान छ । संयुक्त अनुगमन टोलीले तालिम संचालन स्थल रुजु¸प्रशिक्षार्थी छनौट¸ तालिम अवधिमा गरिने अनुगमन, ३ महिना र ६ महिनाको रोजगार तथा आम्दानी प्रमाणीकरण सहित कम्तिमा ६ पटक अनुगमन गरी प्राप्त सूचना EVENT Database मा प्रविष्ट गर्नुपर्ने व्यवस्था छ।
४.७ रोजगारीको अपेक्षित आम्दानी
परियोजनाबाट तालिम सञ्चालनका लागि अनुमति पाएका तालिम तथा रोजगार प्रदायक संस्थाहरुले ३ महिने छोटो अवधिको तालिम पश्चात प्रशिक्षार्थीहरुलाई नियमित रुपमा रोजगारीमा लगाउने वा स्वरोजगार सिर्जना गर्नुपर्ने व्यवस्था छ । यसरी रोजगारीमा लगाउँदा रोजगारीको अपेक्षित आम्दानी (Gainful Employment) हुनका लागि तह-१ को तालिम लिएकाले नेपालमा रु. ९¸७००/-,भारतमा रु. १५,५००/- र भारत बाहेक अन्य मुलुकमा रु. २५,०००/- प्रति महिना आम्दानी गरेको हुनुपर्ने तथा तह-२ को तालिम लिएकाले नेपालमा रु. १०,५००/-, भारतमा रु. १६,५००/- र भारत बाहेकका अन्य मुलुकमा रु. २६,०००/- प्रति महिना आम्दानी गरेको हुनुपर्ने व्यवस्था छ। रोजगारीको अपेक्षित आम्दानीको प्रमाणीकरण गर्दा तालिम सम्पन्न भएको ६ महिनाको अवधिलाई आधार लिइने प्रावधान छ ।
४.८ सूचना प्रविष्टि र अध्यावधिकरण
परियोजनाबाट तालिम सञ्चालन गर्नका लागि अनुमति पाएका तालिम तथा रोजगार प्रदायक संस्थाहरुले प्रशिक्षार्थीहरुको आवेदन संकलनका विवरण देखि आम्दानी रुजुसम्मका सम्पूर्ण सूचना तथा तथ्याङ्क परियोजनाको Database मा प्रविष्ट तथा अध्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
५. अवसर (सवल पक्ष)
परियोजना सम्बद्ध अवस्थाको अध्ययनबाट निम्न विभिन्न अवसरहरु विद्यमान देखिन्छन्:-
५.१ छोटो अवधिको तालिमतर्फ
- विपन्न तथा गरिब युवाहरुलाई सीपमूलक तालिमको अवसर प्राप्त हुनु
- महिला, दलित एवम् पिछडिएको समुदायलाई तालिमका साथै रोजगारीको सुनिश्चितता हुनु
- तालिम लिनेहरुका लागि तालिम पछि सीप परीक्षणको समेत सुनिश्चितता हुनु
- तालिम पश्चात रोजगारीमा समेत पठाईने व्यवस्थाले सीपमा निखार आई भविश्यमा व्यवसायिकरणमा जान सहज हुने अवस्था सिर्जना हुनु
- तालिम प्रदायक संस्थाको सहभागितामा Gainful Income (परियोजनाको लगानीबाट तालिम प्राप्त गरेका प्रशिक्षार्थीहरूको न्युनतम आम्दानीको सुनिश्चितता गर्ने खालको रोजगारी) को प्रावधानले तालिम पुरा गर्ने दर बढि हुनु
- Database System ले समग्र काम एवम् कार्यसम्पादनमा आधारित भुक्तानी प्रक्रियामा सहजता हुनु
- तेस्रो पक्ष अनुगमन पद्धति (Third Party Monitoring System) ले कार्यसम्पादनमा प्रभावकारिता तथा गुणस्तरीयता अभिबृद्धिमा सहजिकरण हुनु
- छोटो अवधिको तालिमका लागि समावेशी सिद्धान्तका आधारमा प्रशिक्षार्थी छनौट हुने हुँदा न्यायपूर्ण छनौटमा बढोत्तरी हुनु
- वैदेशिक रोजगारीबाट फर्केका वा जान चाहने यूवाहरुको लागि सीपमूलक तालिमको अवसर प्राप्त भै सम्मानपूर्ण रोजगारी प्राप्तिमा सहयोग पुग्नु
५.२ गुणस्तर सुधार अनुदानतर्फ
- गुणस्तर सुधार अनुदान पाउने विद्यालय/शिक्षालयलाई न्यूनतम आवश्यकता पूर्तिमा सहजता हुनु
- सम्बन्धित विद्यालय/शिक्षालयहरुले प्राप्त अनुदानमार्फत आफ्ना क्रियाकलापहरुलाई प्रभावकारी बनाउन सक्ने अवस्था रहनु
५.३ पाठ्यक्रम निर्माण/परिमार्जनतर्फ
- कतिपय परम्परागत प्रकृतिका पाठ्यक्रमको परिमार्जन एवम् नया निर्माणका लागि स्रोतको प्रबन्ध हुनु
५.४ छात्रवृत्तितर्फ
- TSLC/Diploma अध्ययन गर्ने विपन्न विद्यार्थिहरु छात्रवृत्तिबाट लाभान्वित हुनु
- छात्रवृत्तिका माध्यमबाट पहुँचमा बृद्धि हुनु(नपुगेकाहरुमा पुग्ने अवस्थाको विद्यमानता)
५.५ स्वयं सिकाईको परीक्षणतर्फ
- अन्तरपुस्ता सीप हस्तान्तरण,स्वदेश एवम् बैदेशिक रोजगारी, स्वयंको प्रयत्न आदि विभिन्न माध्यमबाट सीप प्राप्त गरेका यूवाहरुलाई सीप परीक्षणको लागि स्रोतको व्यवस्था हुनु
५.६ रोजगारिका लागि सहयोगतर्फ
- तालिम प्राप्त गरेका विभिन्न तहका प्रशिक्षार्थिलाई बजारसंग सम्बन्ध स्थापित गराई रोजगारिका लागि सहजिकरण हुनु
५.७ परियोजना सचिवालयतर्फ
- छोटो अवधिको तालिम प्रदायक संस्थाहरु एवम् प्राविधिक तथा व्यावसायिक शिक्षा सम्बद्ध सरोकारवालाहरुबीच सहकार्य र समन्वयको अवसर मिल्नु
- विकास साझेदारसंगको सहकार्य तथा समन्वयमा सीपमूलक तालिममा लगानि गर्न सम्भव हुनु
- विश्व बैंकको कार्य प्रक्रिया एवम् लगानी प्रक्रियाबारे आधारभूत जानकारी लिने अवसर प्राप्त हुनु
६.चुनौति/मूद्दाहरु
परियोजना सम्बन्धी उपर्युक्त अवसरहरु विद्यमान हुँदाहुँदै पनि निम्न विभिन्न चुनौति/मुद्दाहरु समेत रहेका देखिन्छन् :-
६.१ छोटो अवधिको तालिमतर्फ
- तालिम एवम् अन्य कार्यक्रमलाई अझैपनि राष्ट्रव्यापी बनाउन नसकिनु
- स्थानीय रुपमै तालिमको आवश्यकता पहिचान गर्ने गराउने कार्य प्रभावकारी हुन नसक्नु
- वास्तवमै तालिम आवश्यक पर्ने ब्यक्ति(Needy Population)मा तालिम पुर्याउने कार्य कठिन हुनु
- छोटो अवधिको तालिम विभिन्न निकाय/संस्थाहरूबाट सञ्चालित हुँदा सहभागीहरूको दोहोरोपना हुन सक्ने संभावना देखिनु
- तालिम प्रदायक छनौटका लागि गरिने मूल्याङ्कन प्रक्रिया झन्झटिलो एवम् लामो हुनु
- एकै प्रकृतिको कार्य गर्ने/तालिम प्रदान गर्ने संस्थाहरु (विभिन्न आयोजना तथा सरकारी एवम् गैर सरकारी निकाय) बीच समन्वयमा कमी हुनु
- विभिन्न संस्थाबाट कार्यक्रम प्राप्त गर्नेहरु(Beneficiaries)/तालिम तथा रोजगार प्रदायक संस्थाहरु(TESPs) लगभग एउटै हुने अवस्था विद्यमान हुँदा एकाधिकार भयो भन्ने आरोप लाग्नु
- तालिम आवासीय नहुँदा विपन्नहरुलाई अझैपनि पहुँचको समस्या हुनु
- तालिम सञ्चालन सम्बन्धी बजेट सामयिक नहुनु (अपर्याप्त हुनु)
- तालिम तथा रोजगार प्रदायक संस्थाहरु(TESPs)को दुर्गममा नजाने प्रवृत्ति देखिनु (शहर केन्द्रित निजी संस्था)
- तालिमका लागि भर्ना भएका सबै सहभागिहरु रोजगार वा स्वरोजगारमा नजानु
- वास्तविक रुपमा द्रुत बजार सर्वेक्षण(RMA) गर्न कठिनाई हुनु
- तह-२ को तालिम लगायत अन्य कतिपय छोटो अवधिको तालिमका लागि सहभागी पाउनै कठिन भै तालिमका कोटा खपत नै हुन नसक्नु
- सहभागिहरुले तालिम छोडने (Drop Out हुने) प्रवृत्ति विद्यमान हुनु
- सहभागिको निरन्तरता एवम् समयपलना(Regularity/Punctuality)मा कमजोरी देखिनु
- तालिम प्रदायकहरुमा सेवामुखी भन्दा नाफामुखी प्रवृत्ति बढि भयो भन्ने आरोप लाग्नु
- वास्तविक रुपमा आवश्यकताको पहिचान (Specific Need Identification)नहुनु
- परम्परागत प्रकृतिका विषयहरु (TraditionalType) का विषय (जस्तै:Tailoring,Beautician आदि)मा सहभागी बढि र आधुनिक प्रकृति(Non-traditional/ Emerging Type)का विषयहरु(जस्तो:मोटरसाइकल मर्मत, Building Electrician आदि)मा सहभागि कम हुनु
- तालिमको गुणस्तरियतामा कतिपय अवस्थामा बाह्य सरोकारवालाबाट प्रश्न उठनु
- तालिमको गुणस्तरियताका लागि अनुगमन,मूल्याङ्कन एवम् दण्ड तथा पुरस्कारको व्यवस्था कार्यान्वयनमा कमि देखिनु
- सञ्चालित तालिम सम्बन्धी आवश्यक अध्ययन अनुसन्धानको कमिका कारण वास्तविक प्रभावकारिता स्पष्ट नहुनु
६.२ गुणस्तर सुधार अनुदानतर्फ
- गुणस्तर सुधार अनुदान प्राप्तिमा सरकारी/सामुदायिक संस्थाहरुको अनिच्छा(Reluctancy) देखिनु(पटक पटक आवेदन आव्हान गर्दापनि जम्मा ६० वटा मात्र संस्थाहरु यो अनुदानका लागि छनौटमा पर्नु)
- गुणस्तर सुधार अनुदान प्राप्त विद्यालय/शिक्षालयले खरीद ऐन/नियमसँग तालमेल मिलाउन नसक्दा तोकिए बमोजिम खर्च गर्ने क्षमता (Absorption Capacity) कमजोर देखिनु
६.३ पाठ्यक्रम निर्माण/परिमार्जनतर्फ
- अधिकांश पाठ्यक्रमहरु परम्परागत खालका हुनु
- केहि सिमित पाठ्यक्रम परिमार्जन/नया निर्माणका लागि मात्र बजेट व्यवस्था भएकाले समग्र पाठ्यक्रमको अद्यावधिकतामा कठिनाई हुनु
६.४ छात्रवृत्तितर्फ
- सूचना प्रवाहमा प्रभावकारिताको कमीले गर्दा आवश्यक संख्यामा आवेदन गर्ने विद्यार्थिहरुको कमि हुनु
- आवेदन गर्नेहरुले पनि छात्रवृत्ति प्राप्तिका लागि आवश्यक कागजातहरु नै पेश नगर्ने प्रवृत्ति विद्यमान हुनु
- छात्रवृत्ति प्राप्तलाई मात्रै अध्यापन गर्दा कम आर्जन हुने भएकाले त्यस्ता विद्यार्थी लिन विद्यालय/शिक्षालयहरु अनिच्छुक देखिनु
- छात्रवृत्ति प्राप्त गरेकालाई लिएवापत सम्बन्धित संस्थालाई प्रोत्साहन नहुँदा त्यस्ता संस्थाको अपनत्व नहुनु
- विभिन्न निकायबाट छात्रवृत्ति प्रदान गरिने भएकाले दोहोरोपना हुन सक्ने अवस्था विद्यमान हुनु
६.५ स्वयं सिकाईको परीक्षणतर्फ
- स्वयं सिकाई गरेका यूवाहरुलाई सीप परीक्षणका लागि प्रभावकारी रुपमा सुसूचित गर्न नसकिनु
- राष्ट्रिय सीप परीक्षण समिति(NSTB) एक मात्र सीप परीक्षण निकाय भएकाले समयमा कार्यसम्पादन गर्न कठिनाई एवम् ढिलाई हुनु
६.६ रोजगारिका लागि सहयोगतर्फ
- रोजगारीमा सहजिकरण कार्यक्रमका लागि सामुदायिकतर्फका संस्थाको न्यून रुचि एवम् कम सहभागिता हुनु
- रोजगारिका लागि सहयोग(Job Placement Service) कार्यक्रम प्राप्त गरेका संस्थाहरुको रोजगार प्रदायकहरुसँग कम अन्तरक्रिया हुँदा उत्पादित जनशक्ति रोजगारमा जान कठिनाई हुनु
- रोजगारिका लागि सहयोग कार्यक्रम प्राप्त संस्थाहरुमा परामर्श सेवा प्रवाह गर्ने एवम् रोजगारका लागि सहयोग प्रदान गर्ने विशिष्ट एकाई(Counselling and Placement Service Unit)नहुनु
६.७ परियोजना सचिवालयतर्फ
- परियोजनामा कार्यरत जनशक्तिको क्षमता विकास कमजोर रहनु
- परियोजनामा कार्यरत जनशक्ति(खासगरी नेतृत्व)को पटकपटक परिवर्तन भईरहँदा लक्ष्य प्राप्तिमा जटिलता हुनु
- व्यवस्थापन खर्च(Management Cost)को रकम खर्च गर्नमा सरकारी कार्य प्रक्रियाका कारण कठिनाई हुँदा सचिवालय व्यवस्थापन गर्न समेत कठिनाई हुनु
७.समाधान
परियोजना सम्बन्धी उपर्युक्त चुनौति/मुद्धाहरु समाधानार्थ निम्नानुसारका उपायहरु अबलम्वन गर्नु सान्दर्भिक देखिन्छ :-
७.१ छोटो अवधिको तालिमतर्फ
- तालिम कार्यक्रमलाई देशव्यापी बनाउन तथा Needy populationमा पुग्न/पुर्याउन सुचना संप्रेषण एवम् प्रचार प्रसारलाई प्रभावकारी बनाउने
- स्थानीय रुपमै तालिमको आवश्यकता पहिचान गर्न गराउन सम्बद्ध सरोकारवालासंग Contextual Need Identification समबन्धी समन्वय तथा सहकार्य गर्ने गराउने
- सहभागिको दोहोरोपनालाई न्यूनिकरण गर्न Mechanism र Software विकास एवम् एकिकृत कार्य योजना तयार पारी कार्यान्वयनमा ल्याउने
- तालिम प्रदायक छनौटका लागि गरिने मूल्याङ्कन प्रक्रिया छरितो पार्न कार्यविधी तयार पारी कार्यान्वयनमा ल्याउने
- एकै प्रकृतिको कार्य/तालिम दिने संस्था (विभिन्न आयोजना तथा सरकारी एवम् गैर सरकारी निकाय) बीच समन्वय संयन्त्र विकास तथा कार्यान्वयन गर्ने
- तालिम तथा रोजगार प्रदायक संस्था(TESP) छनौट मापदण्डमा परिवर्तन गरी नया संस्थालाई पनि प्रवेशको अवसर प्रदान गर्ने
- केहि विशिष्ट समुदाय, स्थान तथा विषयहरु लक्षित गरी आवासीय रुपमा समेत तालिम सञ्चालन गर्ने
- तालिम सञ्चालन सम्बन्धी बजेटमा बढोत्तरी गरी सामयिक पार्ने
- तालिम तथा रोजगार प्रदायक संस्थाहरु(TESPs)लाई दुर्गममा जानै पर्नेगरी मापदण्ड तय गरी कार्यान्वयनमा ल्याउने
- तालिमका लागि भर्ना भएका सबै सहभागिहरु रोजगार वा स्वरोजगारमा जाने गरी Tracking गर्ने
- स्थानीय तहसंगको समन्वयमा द्रुत बजार सर्वेक्षण(RMA) लाई व्यवस्थित पार्ने
- तह-२का अतिरिक्त अन्य तालिमका सहभागी बढाउन काम गरेर कमाई गर्दै तालिम लिन पनि पाउने गरी तालिम समयमा Flexibility प्रदान गर्ने
- सहभागिको निरन्तरता एवम् समयपलना(Regularity/Punctuality)लाई व्यवस्थित गर्न अनुगमनलाई थप प्रभावकारी तुल्याउने
- तालिम प्रदायकमा सेवामुखिपनाको लागि Reorientation गर्ने
- वास्तविक रुपमा आवश्यकताको पहिचानका लागि स्थानीय तह र अन्य सम्बद्ध सरोकारवालासंगको समन्वयमा Specific Need Identification अभियान नै सञ्चालन गर्ने
- परम्परागत प्रकृतिका विषयहरुमा भन्दा आधुनिक प्रकृति( Non-traditional/Emerging Type)का विषयहरुमा सहभागि बृद्धि गर्न प्रचार प्रसार एवम् अभिमुकरणलाई प्रभावकारी बनाउने
- स्थानीय तह र तालिम तथा रोजगार प्रदायक संस्थाबीच बलियो सम्बन्ध विकासका लागि संयन्त्र विकास एवम् कार्यान्वयन गरी स्थानीय तहको अपनत्व विकास गर्ने
- तालिमको गुणस्तरियताका लागि अनुगमन,मूल्याङ्कन एवम् दण्ड तथा पुरस्कारको व्यवस्था कार्यान्वयनमा प्रभावकारिता ल्याउने
- सञ्चालित तालिम सम्बन्धी अध्ययन अनुसन्धानको प्रभावकारी व्यवस्था मिलाउने
७.२ गुणस्तर सुधार अनुदानतर्फ
- गुणस्तर सुधार अनुदान कार्यक्रमका लागि सामुदायिक तर्फका संस्थाको सहभागिता बढाउन अभिमुखिकरण गर्नुका साथै मापदण्ड संशोधन गरी कार्यान्वयन गर्ने
- अभिमुखिकरण/तालिम लगायतका माध्यम अपनाई गुणस्तर सुधार अनुदान प्राप्त विद्यालय/शिक्षालयको खर्च गर्ने क्षमता (Absorption Capacity) विकास गर्ने
७.३ पाठ्यक्रम निर्माण/परिमार्जनतर्फ
- परम्परागत खालका पाठ्यक्रममा समसामयिक परिमार्जन गर्नुका अतिरिक्त आवश्यकता अनुसार नया पाठ्यक्रम निर्माण गर्ने
- पाठ्यक्रम परिमार्जन/नया निर्माणका लागि विनियोजित बजेटको प्रभावकारी उपयोग गर्ने
७.४ छात्रवृत्तितर्फ
- छात्रवृत्तिमा आवेदन गर्ने विद्यार्थिहरुको संख्या बृद्धि गर्न सूचना प्रवाहलाई बढोत्तरी गर्ने
- छात्रवृत्ति प्राप्तिका लागि आवश्यक कागजातहरु नै पेश नगर्ने प्रवृत्ति घटाउन शिक्षालय/ विद्यालय तथा विद्यार्थीहरुलाई अभिमुखिकरण एवम् सुसूचित गर्ने
- छात्रवृत्ति प्राप्त गरेका विद्यार्थी अध्यापन गरे वापत सम्बन्धित संस्थालाई प्रोत्साहन प्रदान गर्ने
७.५ स्वयं सिकाईको परीक्षणतर्फ
- स्वयं सिकाई गरेका यूवाहरुलाई सीप परीक्षणमा सहभागिताका लागि प्रभावकारी रुपमा सुसूचित गर्ने
- राष्ट्रिय सीप परीक्षण समिति(NSTB) बाहेक प्राविधिक शिक्षा सम्बद्ध विश्व विद्यालयहरु एवम् अन्य प्राविधिक/व्यावसायिक शिक्षा प्रदायकको क्षमता विकास गरी सीप परीक्षणको कार्य गराउने (सीप परीक्षण गर्ने निकायहरु विस्तार गर्ने )
७.६ रोजगारिका लागि सहयोगतर्फ
- रोजगारिका लागि सहयोग(Job Placement Service) कार्यक्रम प्राप्त गरेका संस्थाहरु र रोजगार प्रदायकहरुसँगको अन्तरक्रियालाई बढोत्तरी गर्दै सम्बन्धित जनशक्तिलाई रोजगारमा पठाउने
- रोजगारिका लागि सहयोग कार्यक्रम प्राप्त संस्थाहरुमा परामर्श सेवा प्रवाह गर्ने एवम् रोजगारका लागि सहयोग प्रदान गर्ने विशिष्ट एकाई(Counselling and Placement Service Unit)स्थापना गर्ने
७.७ परियोजना सचिवालयतर्फ
- परियोजनामा कार्यरत जनशक्तिको क्षमता विकासमा लगानी अभिवृद्धि गरी जनशक्तिको क्षमता सामयिक तुल्याउने
- परियोजनामा कार्यरत जनशक्ति(खासगरी नेतृत्व)को छिटोछिटो परिवर्तन नगर्ने
- परियोजनाको समग्र खर्चका साथै व्यवस्थापन खर्चमा बढोत्तरी गर्न अर्थ मन्त्रालय; शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय एवम् विश्व बैंकसंगको अन्तरक्रिया र समन्वयलाई प्रभावकारी बनाउने।
८.निष्कर्ष
समृद्ध नेपाल, सुखी नेपालीको सरकारी अभिष्टलाई चरितार्थ गर्ने एउटा महत्वपूर्ण पक्षका रुपमा रहेको तत्काल बजारमा माग भए बमोजिम सीपयुक्त जनशक्ति आपूर्ति गर्नुपर्ने सन्दर्भलाई दृष्टिगत गर्दै गुणस्तरीय तालिमको समतामूलक पहुँच विस्तार गरी नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम(TEVT) कार्यक्रमलाई सुदृढ़ गर्ने उद्धेश्यका साथ बिश्व बैंकको ऋण सहयोगमा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सन् २०१७ देखि २०२२ सम्मका लागि सञ्चालित व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना-दोस्रो(EVENT-II ) ले विशेष गरी विपन्न (जस्तै: गरिब, सुविधाविहिन क्षेत्रमा बसोबास गर्ने समुदाय, महिला, दलित, अतिसिमान्तकृत जनजाति, अपांगता भएका) १६ देखि ४० बर्ष उमेर समूहका यूवाहरुलाई लक्षित गरी समावेशी छनोटको माध्यम अपनाई तिन महिने(३९० घण्टे)नतिजामा आधारित छोटो अवधिको तालिम सञ्चालनार्थ लगानी गर्ने प्रावधानलाई परियोजनाको मुख्य भागका रुपमा राखेको छ। त्यसैगरी,परियोजनाबाट कार्यसम्पादनमा आधारित गुणस्तर सुधारका लागि अनुदान; व्यवस्थापक, मूल्यांकनकर्ता र प्रशिक्षकको क्षमता विकास; प्राविधिक शिक्षाको पाठ्यक्रममा आधुनिकिकरण;TSLC र Diploma तहमा अध्ययन गर्नेहरुका लागि छात्रवृत्ति; पूर्व सिकाईको सीप परीक्षण;औद्धोगिक प्रशिक्षण तालिम र रोजगारीमा सहजीकरण जस्ता अन्य कार्यक्रममा पनि लगानी हुने व्यवस्था छ।परियोजनाबाट लक्षित समूहका यूवाहरुलाई तालिम एवम् रोजगारीमा सहयोग प्राप्ति भई तिनिहरुको दैनिक जिविकोपार्जनमा सुधारका अतिरिक्त सीप परीक्षणको सुनिश्चितता, स्वयं सिकाईको Recognition लगायतका विभिन्न अवसरहरु विद्यमान भएपनि Needy Populationलाई समावेश गर्न कठिन हुनु, अधिकांश पाठ्यक्रममा आधुनिकता नहुनु, सरोकारवालाको अपनत्वको कमि रहनु जस्ता उपर्युक्त विभिन्न चुनौति/मुद्धाहरु समेत रहे भएकाले मौजुदा स्रोत साधनको प्रभावकारी व्यवस्थापनका साथसाथै सम्बद्ध सरोकारवालकहरुसंगको व्यवस्थित समन्वय, सहकार्य एवम् पहलकदमिमा उपर्युक्त समाधानका उपायहरुको ख्याल गर्दै रणनैतिक कार्य योजना तर्जुमा सहित कार्यान्वयनमा जान सकेमा समृद्ध नेपाल,सुखि नेपालीको सरकारी सोचलाई कार्यरुपमा उतार्न केही हदसम्म सहयोग पुग्ने देखिन्छ।
सन्दर्भ सामग्रीहरु
१. परियोजना कार्यन्वयन पुस्तिका, परियोजना सचिवालय
२. EVENT परियोजना-दोस्रोको परिचय पुस्तिका, परियोजना सचिवालय
३.नतिजामा आधारित छोटो अवधिको तालिम सम्बन्धी संक्षिप्त परिचय,
परियोजना सचिवालय
४. नतिजामा आधारित छोटो अवधिको तालिम कार्यान्वयन तथा रोजगारी सहजिकरण पुस्तिका ,परियोजना सचिवालय
५. समसामयिक लेख रचनाहरु।