कुनै समय जीर्ण भवन, उदेकलाग्दो भौतिक संरचना, अनियमित शिक्षक/विद्यार्थी र कमजोर शैक्षिक अवस्था रहेको रामतुलसी माध्यमिक विद्यालय यतिबेला जिल्लाकै उत्कृष्ट नमुना सरकारी विद्यालय बनेको छ ।
लुम्बिनी प्रदेश अन्तर्गतको पाल्पाको पूर्वी भेगमा पर्ने रामपुर नगरपालिका–५ बेझाड बजारमा रहेको सो विद्यालय यतिबेला अत्याधुनिक प्रविधि, स्तरीय भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षण सिकाइ र उत्कृष्ट नतिजाको पहिलो आकर्षणको केन्द्र हो ।
विसं २०२५ सालमा सामुदायिक सहयोगमा स्थापना भएको सो विद्यायले अनेकन अवरोधहरूको सामना गर्नुपर्यो । विसं २०६६ सालदेखि विद्यालयमा बाल विकास देखी कक्षा १२ सम्म अंग्रेजी तथा नेपाली दुवै भाषाको माध्यममा पढाइ सुरु गरियो । विद्यालयको शैक्षिक उन्नयन, प्रशासनिक, संरचनागत तथा शैक्षिक सबै किसिमको विकासको पहिलो श्रेय जान्छ विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साललाई ।
विद्यालयका प्रधानाध्यापकः बालकृष्ण लम्साल
जनआन्दोलन र बहुदलीय व्यवस्था पश्चात् जीर्ण अवस्थामा रहेको सो विद्यालयमा गणित विषयको शिक्षकको रुपमा आएका थिए प्रधानाध्यापक लम्साल । विगतका कुरा सम्झेर मुसुक्क हाँस्दै लम्साल भन्छन्,’म गणित विषयको शिक्षक हुँ। टिउसन पढाएर अलि अलि कमाउने सपना बोकेर यहाँ आएको थिएँ । तर प्रधानाध्यापक बन्न प्रेरणा पाएँ र अहिले विद्यालयको साख कमाएँ ।’
करिब २२ सय विद्यार्थीहरू रहेको सो विद्यालयमा निजितर्फबाट ६५ र बाँकी २७ जना गरी कुल ९२ जना शिक्षकहरूले अध्यापन गराउँछन् । विद्यालयमा कक्षा एक देखी दससम्म अंग्रेजी तथा नेपाली दुवै भाषामा पढाइ हुन्छ । यसका साथै विद्यालयमा तीन वर्षीय बाली विज्ञानको समेत पढाइ हुन्छ ।
आफूले लिएका हरेक निर्णयमा विद्यालयले साथ दिएकोले आफूमा काम गर्ने उर्जा आएको प्रधानाध्यापक लम्साल बताउँछन् । लम्साल भन्छन्,’मैले जे प्रस्ताव राखेँ, समुदायमा सबैले मलाई विश्वास गर्नुभयो । सुरुमा विद्यालयको पोसाकमा परिवर्तन लियौँ, सबैको सरसफाइमा ध्यान दियौँ, भौतिक संरचना हुँदै पढाइको गुणस्तरमा लाग्यौँ । र अंग्रेजी भाषामा पनि अध्यापन गर्न थाल्यौँ ।’
प्रविधि मैत्री अध्यापनलाई जोड दिएको सो विद्यालयमा चारैतर्फ खुल्ला वातावरण, खेल मैदान, मनोरम प्राकृतिक दृश्य पनि देख्न सकिन्छ । अनेकन मनोरञ्जनात्मक तथा अतिरिक्त क्रियाकलापको व्यवस्था रहेको सो विद्यालयमा विद्यार्थीहरू रचनात्मक ढङ्गले सिक्ने व्यस्था गरिएको छ । घोकन्ते विद्यामा लगाउने निजी विद्यालय भन्दा सो विद्यालयमा व्यवहारात्मक तथा रचनात्मक पढाइ हुने हुँदा अभिभावक पनि दङ्ग छन् । भने विद्यार्थीहरू पनि सिक्न पाउँदा उमङ्गीत छन् ।
रमाउँदै अध्ययन गर्दै साना नानीहरु
विसं २०७४ सालमा नमुना विद्यालयको रुपमा घोषणा भएको सो विद्यालयका प्रधानाध्यापक शनिबार पनि विद्यालय जान्छन् । शनिबारको समेत तलब खाएको हुनाले आफूले बफादारीताका साथ आफ्नो कर्म पूरा गर्नुपर्ने उनले बताउछन् । उनी मात्र होइन उनी बाहेक विद्यालयका अरु शिक्षक पनि उस्तै मेहनत गर्छन् ।
यसरी, सरकारी विद्यालय भन्दा नाक खुम्चाउनेहरूको लागि गतिलो उदाहरण बन्यो रामतुलसी माध्यमिक विद्यालय । यतिबेला नतिजाको हिसाबले जिल्लाको तेस्रो नमुना विद्यालयमा घोषणा भएको सो विद्यालयलाई अब छिट्टै पहिलो विद्यालय बनाउने अभिप्राय रहेको विद्यालयका प्रधानाध्यापक लम्साल बताउँछन् ।