मंगलबार नेप्से परिसूचक १७ दशमलव ४२ अंकले बढेर दुई हजार सात सय ३५ दशमलव ९३ बिन्दुमा पुगेको छ । केही समयदेखि बजार धेरथोर अंकसहित घटबढ भइरहे पनि दुई हजार सात सयभन्दा धेरै तल ओर्लिएको छैन । यो प्रवृत्ति हेर्दा दुई हजार सात सयको बिन्दु मनोवैज्ञानिक तह बन्दै गइरहेको छ ।
पछिल्ला केही दिनयता जलविद्युत् समूहमा सेयर लगानीकर्ताको आकर्षण बढिरहेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट पारित भएमा प्रसारण लाइनको विकास हुने र हालसम्म देशभित्रका प्रसारण लाइनमा नजोडिएका कम्पनीले समेत लाभ पाउन सक्ने अनुमानका आधारमा यी कम्पनीको सेयर किनबेच भइरहेको हो । मैलुङ खोला जलविद्युत् कम्पनी, युनाइटेड इदी–मर्दी आरबी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जलविद्युत् समूहकैै सामलिङ पावर कम्पनी, तेह्रथुम पावर कम्पनीको सेयर मूल्य पनि ७ देखि ७ प्रतिशतसम्म बढेको छ ।
मंगलबार एक सय ३१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५० वटा कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारमा आएका १३ वटा समूह सूचकमध्ये लगानी समूह सूचक र उत्पादनमूलक समूहबाहेक सबै समूहका सूचक बढेका छन् । विकास बैंक, वित्त कम्पनी, निर्जीवन बिमा र ‘अन्य’ समूह भने एकदेखि करिब २ प्रतिशतसम्म बढेका छन् । घट्ने कम्पनीहरूमा सिभिल लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपर कम्पनी, मेघा म्युचुअल फन्ड, प्राइम लाइफ इन्स्योरेन्स, समिट लघुवित्त वित्तीय संस्था मुख्य छन् । यी कम्पनीकोे सेयर मूल्य करिब २ प्रतिशतले घटेको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम भने २० करोड रुपैयाँले बढेको छ । धितोपत्र र ऋणपत्र गरी दुई सय २८ कम्पनीको ६० लाख कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब २१ करोड रुपैयाँको कारोबार भएको छ । नेपाल टेलिकम, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, जीवन विकास लघुवित्त वित्तीय संस्थाको ११ देखि २१ करोड रुपैयाँसम्मको कारोबार भएको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इनडेक्स चार दशमलव ३६ अंकले बढेर पाँच सय २३ बिन्दुमा पुगेको छ ।
आजबाट नेस्डो समृद्धको आइपिओ
नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको बुधबारबाट प्राथमिक सेयर (आइपिओ) निष्कासनमा आउने भएको छ । संस्थाको आठ करोड २८ लाख मूल्यबराबर आठ लाख २८ हजार कित्ता सेयर निष्कासनमा आउन लागेको हो । जसमा १२ हजार सात सय ५० कित्ता सेयर कर्मचारीका लागि, ४१ हजार चार सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषमा छुट्याई बाँकी रहेको सात लाख ७४ हजार पाँच सय ६३ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । संस्थाको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।