म्याग्दी, २५ माघ (सामाजिक सञ्चार): म्याग्दीको मालिका गाउँपालिका–२ रुमका रक्तक्यान्सरबाट थलिएका १० वर्षीय बालकको उपचारमा समस्या भएको छ । काठमाडौँको निजामती कर्मचारी (सिभिल) अस्पतालमा भर्ना भएका निश्चल विश्वकर्माको उपचारमा अर्थाभाव भएको हो । पुस २० गते अस्पताल भर्ना भएका निश्चलको उपचारमा हालसम्म रु छ लाखभन्दा बढी खर्च भइसकेको आमा चन्द्रकुमारी विकले बताउनुभयो ।
“बोनम्यारो प्रत्यारोपण गर्दा आइसीयूमा राख्नुप¥यो भने रु २५ देखि रु ३० लाख र आइसीयूमा राख्न नपरे रु २० देखि २५ लाख आवश्यक पर्ने चिकित्सकले भन्नुभएको छ”, उहाँले भन्नुभयो, “आफूसँग भएको, विदेशबाट श्रीमान्ले पठाएको र आफन्तबाट ऋण गरेर रु छ लाख खर्च गरिसकेँ ।” थप उपचार र बोनम्यारो प्रत्यारोपण गर्ने खर्च जुटाउन नसकेर विक परिवार समस्यामा परेका छन् । निश्चलका बुवा मदन रोजगारीका लागि कुबेतमा हुनुहुन्छ । विक परिवार गाउँमा खेती किसानी र ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए ।
निश्चलको उपचारका लागि आर्थिक सहयोग जुटाउन रुमका उदयकुमार बुढाथोकी संयोजक र भूपेन्द्र नेपाली सहसंयोजक रहेको ‘निश्चल बचाऊ अभियान’ सुरु भएको छ । स्वदेश तथा विदेशमा रहेका म्याग्देली, नेपाली र सहयोगी मनहरूलाई अपिल गरेका छन् । निश्चलकी आमा चन्द्रकुमारीको नाममा मेगा बैंकमा १४२००५००१५४७९ नंको खाता खोलिएको छ ।
वडा भवन निर्माण सुरु
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा वडा कार्यालय भवन निर्माण सुरु भएको छ । भगवतीस्थित सिरसिरडाँडामा गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा भवन निर्माण सुरु भएको हो । वडाध्यक्ष रिमबहादुर कटुवालले ठेकेदार कम्पनीले नयाँ भवन बनाउन पुरानो भत्काएर निर्माण सामग्री जुटाउन थालेको जानकारी दिनुभयो । “गाउँपालिका, प्रदेश सरकार र जिससको साझेदारीमा भवन बनाउन लागिएको हो”, उहाँले भन्नुभयो, “आगामी जेठ १५ गतेभित्र भवन सम्पन्न गरिसक्ने लक्ष्य छ ।”
भवन बनाउन चालु आर्थिक वर्षमा गाउँपालिकाले रु १० लाख, जिससले रु २५ लाख र प्रदेश सरकारले रु ३५ लाख बजेट विनियोजन गरेका थिए । ठेक्का प्रतिस्पर्धाका क्रममा कर र पिएसबाहेक रु ४२ लाख ६९ हजार ९२५ कबोलेको भण्डारी निर्माण सेवा छनोट भएको गाउँपालिकाका इञ्जीनियर सुदीप गौतमले जानकारी दिनुभयो ।
“एकतले चारकोठाको महिला र पुरुषका लागि छुट्टाछट्टै शौचालय भएको अपा¬ङ्गतामैत्री भूकम्प प्रतिरोधी क्षमताको भवन बनाउन लागिएको हो” उहाँले भन्नुभयो, “वडाध्यक्ष, सचिव, जनप्रतिनिधि र बैठककक्षका लागि कोठा हुनेछन् ।” हाल वडा कार्यालय सञ्चालन भएको पुरानो भवन साँघुरो र जीर्ण छ । सेवा प्रवाह गर्न असहज भएको छ । नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह गर्न सहज र व्यवस्थित हुने सचिव विष्णु भण्डारीले बताउनुभयो ।
वडा कार्यालय भवन निर्माणका लागि बजेट विनियोजनमा सहयोग गर्ने गण्डकी प्रदेशसभा सदस्य विनोद केसी, जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसी र गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीलाई वडाध्यक्ष कटुवालले धन्यवाद दिनुभयो ।