काठमाडौं । कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका मध्ये हालसम्म ३ लाख २८ हजार बढि नेपालीको उद्धार गरिएको छ ।
कोरोना नियन्त्रण गर्न नेपाल सहित बिभिन्न मुलुकमा लगाइएको लकडाउनले विदेश गएका नेपाली अलपत्र परेका थिए । यसरी अलपत्र परेका नेपालीलाई कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले उद्धार गरेको हो । सोही केन्द्रको तथ्याङ्कले नै यस्तो देखाएको हो ।
गत वर्षको चैत देखि अहिले सम्ममा विभिन्न देशमा अलपत्र परेका जम्मा ३ लाख २८ हजार ४०६ जना नेपालीको उद्धार गरिएको छ । अलपत्र परेका मध्ये सबभन्दा धेरै दुबईबाट एक लाख १ हजार २३१ जना नेपालीको उद्धार गरिएको छ ।
कतारबाट ७७ हजार ४२५ जना नेपालीको उद्धार गरिएको छ । त्यस्तै मलेसियाबाट ३९ हजार ७५१, साउदीबाट ३३ हजार ७४५, भारतबाट १८ हजार ८२६, कुवेतबाट १८ हजार २४९ नेपालीको उद्धार गरिएको छ ।
जापानबाट ९ हजार ७२३, टर्कीबाट ९ हजार २११, सिंगापुरबाट ३ हजार ६८७, ओमनबाट ३ हजार ६७२ र दक्षिण कोरियाबाट २ हजार ७९४ जना नेपालीको उद्धार गरिएको छ ।
साथै बहराइन, इजरायल, साइप्रस, अष्ट्रेलिया, फिलिपिन्स, म्यानमार, कम्बोडिया, थाइल्याण्ड, बंगलादेश, श्रीलंका, अफगानिस्थान, माल्दीभ्स, चीन, हङकङ, दक्षिण कोरिया, अमेरिका, क्यानडा, नर्वे, जर्मनी, पोल्याण्ड, पोर्चुगल, बेल्जियम लगायत ६० वटा देशहरूबाट अलपत्र परेका नेपालीहरूको उद्धार गरिएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।