असोज ७
सेप्टेम्बर २३ अर्थात् अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा "मेरो संकेत" नामक एक नयाँ नेपाली सांकेतिक भाषा एप आधिकारिक रुपमा सार्वजनिक गरिएको छ। मोबाइल एपले बहिरा बालबालिकाहरुको साक्षरता, पठन र आधारभूत सांकेतिक भाषा सीपको विकासमा सहयोग गर्दछ। नेपालको लागी यो पहिलो नेपाली सांकेतिक भाषा एप हो जसले बहिरा व्यक्तिका शिक्षक, अभिभावक र सहयोगीहरुलाई आधारभूत नेपाली सांकेतिक भाषा सिक्न को लागी सहयोगी हुनेछ ।
यो एप युएसएआईडीको सहयोगमा “सवैका लागि पढाइ कार्यक्रम” अन्तर्गत ह्यान्डिक्याप इन्टरनेशल, विश्व शिक्षा, मानव स्रोत विकास केन्द्र र राष्ट्रिय बहिरा महासंघको समन्वयमा तयार गरिएको हो । नेपालमा अपाङ्गता भएका बालबालिकाहरु शिक्षा, सहभागिता र सिकाइ उपलब्धिमा पहुँचको हिसाबले सबैभन्दा सीमान्तकृत समूहहरु मध्ये एक हुन्। उनीहरुलाई उचित सिकाइ पूर्वाधार को अभाव र सुलभ अनुकूलित शिक्षण सिकाइ सामग्रीको आवश्यकता छ। नेपालमा १७४ स्रोत कक्षा र २४ बहिरा बालबालिकाहरुका लागी स्कूलहरु छन्, जसमा १५,००० बहिरा बिद्यार्थीहरु छन्। नेपाली सांकेतिक भाषा सन् १९९८ मा विकसित भएको र यसले बहिरा बालबालिकाहरुको सिकाइमा सहयोग पुर्याउदै आएको छ। तथापि नेपाली सांकेतिक भाषा सबै बहिरा बालबालिकाहरुको लागि पहुँचयोग्य हुनसकेको छैन जसको कारण उनीहरूमा अन्य बालबालिकाहरूको तुलनामा बढी कक्षा छोड्ने दर र सिकाइ उपलब्धी कम भएको तथ्यांकले देखाउछ ।
“यो एप नेपाली सांकेतिक भाषा सिक्ने जो कोहि को लागि उपलब्ध छ । यो एप बनाउने क्रममा हामी नेपाल सरकार, यूएसएआईडी, ह्यान्डिक्याप इन्टरनेशल, विश्व शिक्षा, र सबै प्राविधिक टोलीहरुको सहयोग को लागि आभार ब्यक्त गर्दछौ। आउँदो दिनहरुमा, हामी समावेशी शिक्षा प्रबर्धन गर्नको लागी अतिरिक्त शिक्षण सामग्री विकास गरी बहिरा बालबालिकाहरुको शिक्षा सुनिश्चित गर्न प्रतिबद्द छौ।“ राष्ट्रिय बहिरा महासंघद्वारा भनिएको छ l
"युएसएआईडी सबै बालबालिकाहरुको सिकाइ र पहुँचको सुनिश्चित गर्न प्रतिबद्ध छ । यो कोभिड महामारीको समयमा जहाँ धेरै बालबालिकाहरु स्कूल बाहिर छन् र अपाङ्गता भएका बालबालिकाहरूलाई झनै प्रभावित छन्। हामी आशा गर्दछौं कि यो एपले शिक्षकहरु र अभिभावकलाई बहिरा तथा सुस्तश्रवन बालबालिकाहरुको पढाइमा सघाउन उपयोगी हुनेछ l” - शैनन टेलर, युएसएआईडी नेपाल शिक्षा कार्यालय निर्देशक।
“समावेशीता ह्यान्डिक्याप इन्टरनेशनलको मुख्य मुल्य हो र संचारमा पहुँच हाम्रो मान्यता हो । कोभिड-१९ को नियन्त्रणका स्वास्थ्य मापदण्डहरु अबलम्बन गरिराख्दा र बिद्यालयहरू बन्द हुँदा बालबालिकाको शिक्षामा प्रभाव परेको छ र अहिले बालबालिकाहरु आफ्नो घरमा सीमित छन् l यो अवस्थामा मेरो सङ्केत एपको प्रयोगले बहिरा बालबालिकाहरुको शिक्षण र सिकाइमा मदत पुग्छ l” - रेइजा देजितो, क्षेत्रीय निर्देशक, ह्यान्डिक्याप इन्टरनेशनल l
सांकेतिक भाषामा पठन सामाग्री विकास गरी बालबालिकाको शिक्षामा पहुँच प्रदान गर्न नेपाल सरकार प्रतिबद्ध छ l “यो खुशीको क्षण हो मेरो संकेत मोबाइल एप कक्षा एक देखि तीन सम्मका बहिरा तथा सुस्तश्रवण भएका बालबालिकाहरु लक्षित गरी निर्माण गरिएको छ। यसले बालबालिकाहरुको साक्षरता, पठन र आधारभूत सांकेतिक भाषा सिप विकास गर्नु को साथै शिक्षकहरु, अभिभावक, सहयोगी र अन्य सरोकारवालाहरुलाई आधारभूत सांकेतिक भाषा सिक्न मद्दत गर्दछ। एपको अभ्यास पक्षले बालबालिकाहरुको अभिव्यक्ति र ग्रहणशील औंला हिज्जे सिप विकास गर्दछ।“ दिव्या दवाडी, निर्देशक, समावेशी शिक्षा, शिक्षा तथा मानव श्रोत विकास केन्द्र । यो मोबाइल एप बहिरा तथा सुस्तश्रवण बालबालिकाहरुका लागी स्रोतहरुको सूचीमा थप एक महत्वपूर्ण शिक्षण सामग्री बन्ने छ।
नेपालका शैक्षिक अध्यानहरूले विषेश गरी ग्रामिण क्षेत्रमा अपाङ्गता भएका बालबालिकाहरूको तुलनात्मक रूपमा कमजोर सिकाइ उपलब्धि र विद्यालय छोड्ने दर धेरै रहेको देखाउँछ । यसै सन्दर्भमा सबैका लागि पढाइ कार्यक्रमले अपाङ्गता भएका बालबालिकाहरुको तथ्यांक गुणस्तरमा सुधार, प्राम्भिक पहिचान, प्राविधिक क्षमता विकास र समावेशी शिक्षा निर्देशात्मक मोडेलको माध्यम बाट कार्यगत सिमितता तथा अपाङ्गता भएका बालबालिकाहरुको पढाइ सिपमा सुधार गर्ने उद्देश्य राखेको छ । परियोजनाबाट कक्षा १-३ सम्मका अनुमानित २,७७,४१८ बालबालिकाहरु लाभान्वित हुनेछन् । प्रारम्भिक पहिचानले शिक्षक र विद्यालयहरुलाई विद्यार्थीहरुको वैयक्तिक शैक्षणिक योजना, शैक्षणिक विधि, प्रक्रिया, क्रियाकलाप तथा सामग्रीहरूको प्रयोगमा समेत मद्दत पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै गरी ९,४०० प्राथमिक विद्यालयका शिक्षक र ४६ स्रोत शिक्षकहरुलाई समावेशी शिक्षण निर्देशनको प्रयोग गरी विद्यार्थीहरुको बिभिन्न आवश्यकता अनुसार अनुकूलन गर्न प्रशिक्षण दिनेछ।
मेरो संकेत एप गुगल प्ले स्टोरमा उपलब्ध रहेको छ । यसमा स्वर वर्ण, व्यान्जन वर्ण, शब्द, डायक्रिटिकल संकेत, अभ्यास र सामान्य कुराकानी क्षेत्र रहेका छन् । यो एप एकपटक एनरोइड मोबाइलमा डाउनलोड गरिसकेपछि इन्टरनेट विना नै चलाउन सकिन्छ ।