बाजुराको बुढीनन्दा नगरपालिका–८ गेणे गाउँका बुँदे रावतले नर्सरी खेतीबाट राम्रो आम्दानी गर्नुभएको छ । भारतबाट फर्केपछि स्वदेशमै केही गर्ने मनसायका साथ २०६० सालबाट व्यावसायिक तरकारी खेती सुरु गर्नुभएका रावतले नर्सरी खेती थालेको भने चार वर्ष भयो ।
पिसविन सम्पूर्ण परियोजना र कृषि ज्ञान केन्द्र बाजुराको अनुदानसहित ज्ञान र सीप पाएपछि नर्सरी खेती राम्रो भएको रावतको भनाइ छ । नर्सरी खेतीबाटै वार्षिक एक लाख रुपैया बचत हुने उहाँको भनाइ छ ।
अर्काको भारी बोक्नुपर्ने र गाली खाएर बस्नुपर्ने कुरा सहन नसकेर स्वदेशमै फर्किनुभएका रावत हाल सफल नर्सरी कृषकको परिचयले चिनिनुहुन्छ । पूर्वी उत्तरी क्षेत्रमा पर्ने कोल्टी क्षेत्रमा आवश्यक बिरुवा आफ्नै नर्सरीबाट जाने गरेको उहाँको भनाइ छ ।
स्याउ, ओखर, कागती, सुन्तला, मौसम, किवी, आरु आदिका बिरुवा रावतको नर्सरीमा पाइन्छ । केवल दुई कक्षा पढ्नुभएका रावत आफैँ हिसाबकिताब गर्ने र बिरुवामा देखिने अधिकांश समस्याबारे जानकारी राख्नुहुन्छ ।
छोराछोरीको पढाइलेखाइसहित परिवारको खर्च नर्सरीबाटै रावतले धान्नुभएको छ । कमल फलफूल नर्सरी चलाउनुभएका रावत नमूना कृषकका रुपमा चिनिनुभएको पिसविनका कार्यक्रम प्रबन्धक धर्मबहादुर रोकायाले बताउनुभयो । पिसविनले आर्थिक अनुदानसहित ज्ञान, सीप, प्रविधि र औजार उपकरणसमेत सहयोग गर्ने गरेको परियोजनाका प्रमुख गोविन्द थापाको भनाइ छ ।
नर्सरी खेतीसँगै मौरीपालन पनि उहाँले गर्नुभएको छ । धान, गहुँ लगाएर मिहिनेतको फल आए पनि गुजारा मात्र हुने भएकाले पेसालाई व्यावसायिक र आधुनिक ज्ञान, सीप तथा प्रविधिसँग जोड्नुपर्नेमा रावतको जोड छ ।