सप्तरीस्थित पूर्व–पश्चिम राजमार्गका खाल्डो महिनौँदेखि नपुरिँदा दुर्घटनाको उच्च जोखिम बढेको छ ।राजमार्गमा अधिकांश दुर्घटना खाल्डो छल्ने क्रममा भइरहेको बताइएको छ । गहिरो खाल्डोले दैनिक केही न केही ठाउँमा सवारी दुर्घटना हुने गरेको देखिन्छ । निरन्तरको वर्षाले राजमार्गका कालोपत्र समेत भत्किएको छ । बर्सेनि टालटुलका भरमा चल्दै आएको राजमार्ग हरेक वर्ष वर्षाका समयमा गहिरो खाडल बन्दा सडकमा सवारी चलाउन समस्या हुने गरेको चालक बताउँछन् ।
राजमार्गमा खाडल भएकै कारण सानासाना गाडी चलाउन समेत समस्या भएको छ । वर्षाले कंचनरुप नगरपालिकास्थित बरमझीया, हनुमाननगर कङ्कालिनी नगरपालिकाको वडा नं ३ पोर्ताहा तथा वडा नं १ भारदहमा पक्की सडक विभिन्न ठाउँमा भत्किएको छ ।
हनुमाननगर कङ्कालिनी नगरपालिकाको पोर्ताहा बजरङ्गबली मन्दिरदेखि बजार चोकसम्म करिब पाँच÷छ स्थानबीच सडक नै भासिएर भत्किएका छन् । उक्त ठाउँमा करिब दुई फिट गहिरो खाल्टो बनेको सडकमा दैनिक रातिका समयमा चल्ने सवारीसाधन दुर्घटना हुने गरेको छ । छ/सात महिना सो ठाउँमा सडक मर्मतसम्भार गरे पनि कमजोर वा गुणस्तरहीन कार्य गर्नाले वर्ष नलाग्दै पुनःभत्किएको जनगुनासो छ ।
भारदह बजारस्थित रहेको शहीद चोकको गोलम्बरदेखि पूर्वपट्टि भागमा सडक भत्किएर ठाउँठाउँमा खाल्डो परेको छ । सो राजमार्गमा जाने सवारीसाधनलाई मोडन घुमाउन अप्ठ्यारो हुने गरेको ट्रक चालक किरपानन्द यादवले बताउनुभयो ।
उहाँ भन्नुभयो, “पश्चिमबाट पूर्व जाने भारदह बजारमा ठूलो खाल्डो नपुरेका कारण दुई महिनादेखि एकतर्फबाट सवारी सञ्चालन भइरहेको छ । बजार क्षेत्रमा सवारीसाधनका लागि दुईतर्फ बनाइएको सडकमध्ये एकतर्फमा जीर्ण सडक भएका कारण अहिले ठूलो खाल्डो बनेको छ ।”
सो ठाउँमा एकतर्फबाट मात्र सवारी चलिरहेका कारण झन सवारी दुर्घटनाको जोखिम रहेको ट्रक चालक यादवको भनाइ छ । उक्त ठाउँमा माटोसमेत नदिएको खाल्डोमा पानी जमेपछि सो सडक भएर जाने गाडी पल्टीने गरेको स्थानीयवासीले जनाएको छ ।
यस्तै अवस्था छ– जिल्लाको बरमझिया सडकको । विभिन्न नाका भन्सारबाट समान लोड गरेर ट्रकमा ल्याउन समस्या भइरहेको ट्रक चालक हरि मण्डलले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “महत्वपूर्ण समान ट्रकमा हामी ल्याउँछौँ खाल्डाखुल्डी रहेको सडक निरपुग्दा दुर्घटनामा पर्न सकिन्छ कि डर हुन्छ ।” कतिपय मोटरसाइकल चालक त खाल्डोमै लड्ने गरेका छन्, कतिपयले खाल्डो छल्न खोज्दा अर्को गाडीमा ठोक्किन आइपुग्छन्”, उहाँले भन्नुभयो, “खाल्डोले टायरमा कट लाग्ने र दुर्घटनाको जोखिम भने उत्तिकै छ ।”
कंचनपुरदेखि भारदहसम्मको बाटोमा वर्षाले जीर्ण सडकमा ठूला खाल्डा भएकाले सवारीसाधन सञ्चालनमा समस्या भइरहेको चालकको गुनासो छ । राजमार्गमा खाल्डैखाल्डा बने पनि सम्बन्धित निकायले चासो नदिएको चालक र बसका यात्रुले गुनासो गरेका छन् । भत्किएको सडकमा दुर्घटनासँगै टायर कट लाग्ने, पट्टा भाँचिनेजस्ता समस्या रहेको जनाइएको छ ।
खाल्डाखुल्डीका कारण मोटरसाइकल, टेम्पु, जीप, कारलगायतका साना सवारीसाधन दुर्घटनामा पर्नेक्रम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथले जनाएको छ । असार अन्तिमदेखि भइरहेको लगातार वर्षाका कारण पूर्व–पश्चिम राजमार्गका अधिकांश स्थानमा खाल्डो परेको र तीव्र गतिमा चलाइएका सवारी खाल्डोमा परेर गम्भीर किसिमको दुर्घटना हुने खतरा बढेको ट्राफिक प्रहरीको भनाइ ।
त्यस्ता ठाउँमा रात्रिकालीन सवारीसाधन दुर्घटना हुने बढी जोखिम रहेको भन्दै सडकको पुनःनिर्माणमा ढिलाइ देखिएको भारदह निवासी बुदुर रामले गुनासो गर्नुभयो । पूर्व–पश्चिम राजमार्ग पुरानो भइसकेकाले पानी परिरहेका समयमा सवारी गुड्दा कालोपत्र उप्किने समस्या बढ्दै गएको उहाँले बताउनुभयो । पचास वर्षअघि राजमार्गमा बनाइएका पक्की पुलसमेत जीर्ण भएर पुलमासमेत ठुल्ठूला खाडल बनेको पाइएको छ ।
त्यस्तै जिल्लाको अन्य ठाउँमा मुख्य राजमार्गमा जीण सडक भएको र ती सडक समयमा मर्मत नहुँदा झन् समस्या गाडी चलाउन समस्या भइरहेको चालक बताउँछन् ।