नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका निकायले बाटो बिराउन थालेको टिप्पणी गरेका छन् ।
सी–डिभिजन छनोट खेल खेलिरहेका झापा खेलाडीसँगको छलफल तथा भेटघाट कार्यक्रममा ओलीले राजनीतिलाई पनि कू–बाटोमा हिँडाउन थालिएको बताए ।
झापा–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंको तीनकुनेमा खेलाडीसँग भेटघाट कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा ओलीले भने, ‘राज्यका महत्त्वपूर्ण निकायले बाटो छाडेर हिँड्न थालेका छन् । राजनीतिलाई त्यसैगरी कूबाटोबाट हिँडाउन थालिएको छ । सभामुख राजमार्गबाट हिँड्न मान्दैनन्, कान्ला–कान्ला कुद्छन् ।’
उनले भने, ‘निर्वाचन आयोग संविधान कानूनको राजमार्ग छाडेर भित्तातिर ठोकिन जान्छ । सम्मानित अदालतको कुरै नगरौं । त्यहाँ बसेपछि त जे गरे पनि हुन्छ ।’
लोकतन्त्रको भविष्य धेरैको बलिदानसँग जोडिएको ओलीले बताए । ‘लोकतन्त्रको भविष्य धेरैको बलिदानसँग जोडिएको छ । यत्तिकै आएको लोकतन्त्र होइन, दुःखकष्ट अनेक भोगेका छौं । जेल बसेका छौं,’ ओलीले भने, ‘जागिर खाएर एक ठाउँमा बसेर निर्णय ठोकिदिनु सजिलो कुरा हुन्छ । लोकतन्त्रप्रति खेलबाडयुक्त निर्णय गर्नु एउटा कुरा हुन्छ तर लोकतन्त्र ल्याउन त्यति सजिलो छैन निर्णय लेखेजस्तो । हामी जीवनको मूल्यसँग लोकतन्त्रको अर्थ देख्छौं ।’
एमालेले कारबाही गरेका १४ जना सांसदको विषयमा सभामुख अग्निप्रसाद सापकोटाले समयमै कारबाही नगरेको भनेर एमालेले विरोध गरिरहेको छ । माधव नेपाल पक्षले एमालेबाट छुट्टिएर नयाँ पार्टी दर्ता गरिसकेपछि सापकोटाले भदौ १३ गते एमालेले दिएको सूचनाप्रति थप निर्णय गर्नु नपर्ने निर्णय गरिदिएका थिए ।
सभामुखकै कारण १४ जना सांसदको पद जोगिएको भन्दै एमालेले सभामुखको सार्वजनिक रूपमा विरोध गरिरहेको छ ।
समाजमा कोही पनि अनुशासनमा नबस्ने, आफ्नो सीमा, दायरा, मर्यादा, पदको गरिमालाई ध्यान नराख्ने अवस्था सिर्जना भएको ओलीले बताएका छन् ।
लोकदोहोरीमा समेत विकृति भित्रिएको भन्दै उनले कार्यक्रममा असन्तुष्टि व्यक्त गरे । ‘सामाजिक मूल्य, मान्यता, सभ्यता, शिष्टता भत्किन थालेका छन् । दोहोरी भनेर हेर्यो हेर्नै सकिँदैन । त्यहाँ त के–के भन्छन भन्छन् । दोहोरी हो कि रत्यौली हो ? हेर्नै नसकिने भएको छ । समाज नै रत्यौली खेल्न थालेपछि जहाँतहीँ रत्यौली हुने नै भयो,’ ओलीले भने ।
सांस्कृतिक अधोपतनलाई रोक्नतर्फ लाग्नुपर्ने उनले बताए । ‘धरहरा भत्कियो २ वर्षमा बनायौं तर जब संस्कृति, संस्कार र आदर्शहरू भत्किन्छन्, त्यसलाई २ पुस्तामा पनि बनाउन सकिँदैन । यसलाई जोगाउनु छ । पुनःस्थापित गर्नु छ,’ ओलीले भने, ‘हाम्रो समाज झूट बोल्न नसक्ने, बेइमान गर्न नसक्ने समाज हो तर अहिले देश नै बेइमानले चलाएका छन् ।’