यही भदौको सुरुआतदेखि परेको बर्षाले धानखेतीलाई राहत मिलेको छ । आकाशे पानीको भर परेका किसान सिमसिम पानी परेपछि औधी खुशी भएका हुन् ।
“भदौ लागेयता समय–समयमा पानी परेको छ, धानका बोट लहलहाएका छन्”, भङ्गाहा नगरपालिका–५ कर्पुरगञ्जका किसान रामजुलुम सरदारले भन्नुभयो, “सन्तुलित बर्खाको पानी त आकाशे पानीका भरको धानखेतीलाई अमृतजस्तै हुन्छ ।” भदौ लागिकन दुईपटक यस भेगमा परेको पानीले धानका बोट गाँजिन र पोटाउन राम्रो सहयोग पुगेको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र स्थायी सिँचाइ ९कुलो, नहर०को प्रबन्ध छ । पछिल्ला केही वर्षयता वैकल्पिक सिँचाइ ९इनार, बोरिङ० को सुविधा बढ्दै गए पनि यो प्रबन्धमा अनुकूल वर्षा नहुँदा पानीका मुहान सुक्ने गर्छन् । यो सुविधाको निरन्तरताका लागि अनुकूल वर्षा आवश्यक पर्ने कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरका कृषिविज्ञ बताउँछन् ।
जिल्लामा करिब ५० हजार हेक्टरको हाराहारीमा धानखेती हुँदै आएको केन्द्रकोे तथ्याङ्कले देखाउँछ । यसपालि गत असार मध्ययता भएको अतिवृष्टिले जिल्लामा ४० हजार हेक्टरमा धानखेती गरिएको छ । असार र साउनको बर्खे भेलले रोपिएकै धानको रोपो पनि बगाउँदा चिन्तित बनेका किसान अब भने अनुकूल वर्षा भएको हुँदा भएको खेतीबाट राम्रो उत्पादन हुने आशमा छन् ।
पछिल्लो वर्षाले धानखेतीलाई राहत भए पनि जिल्लामा यसपालि नगदे तरकारी खेती भने निकै घट्ने भएको छ । तरकारी खेतीलाई खेतबारी रुखिनुपर्ने र लगातार गोडमेल गर्नपर्ने भएको हुँदा यसपालि असार, साउनमा धेरै पानी परेर खेतीको अनुकूलता नभएको तरकारी किसानको भनाइ छ । नगदे खेतीमै उखुखेती भने फस्टाएको गौशाला नगरपालिका–१२ का दोरिक महतो बताउनुहुन्छ ।
बर्खाले जिल्लाका सडक भने हिलाम्य भएका छन् । गाउँबस्तीका कच्ची सडक मात्र नभएर मुख्य सडक नै आहालमा परिणत भएका छन् । जिल्लाको उत्तर–दक्षिण जोड्ने बर्दिवास–रामगोपालपुर–जलेश्वर सडक नियमित मर्मतसम्भार नहुँदा ठाउँठाउँमै ठूलठूला खाल्डा बनेर यातायात साधन चलाउन जोखिमयुक्त बनेको छ ।
यसबाहेक महेन्द्रनगर–सीतापुर–औरही–गौशाला सडक पनि बर्खे भेलले कटान र डुबान गराउँदा खाल्डैखाल्डो बनेको छ । सडकसम्बद्ध कार्यालय र स्थानीय तहले सडक मर्मतसम्भार र ढल व्यवस्थापनको काम हिउँदमा नियमित गर्न नसक्दा यो बिजोग खेप्नुपरेको जिल्लाका सर्वसाधारण बताउँछन् ।