काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन अन्तरगत आज काठमाडौंमा शक्ति प्रदर्शन गरिरहेको छ। विभिन्न स्थानबाट र्याली निकालिरहेका छन् ।
र्यालीपछिको विरोधसभालाई नेकपा शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् । अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झाँक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी, जनार्दन शर्मा, देव गुरुङ, रघु पन्त, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्बोधन गर्ने केन्द्रीय सदस्य बिष्णु रिजालले बताए ।
विरोध सभाको हितबहादुर तामाङका अध्यक्षता, जीवनराम श्रेष्ठ स्वागत मन्तव्य र लीलामणि पोखरेलको सञ्चालनमा हुने उनले बताए । यही माघ ९ गते काठमाडौंमा शक्ति प्रदर्शनको रुपमा आमसभा गरेको सो समूहले पनि शक्ति प्रदर्शन गर्न लागेको हो । यसको तयारीका लागि यो समूहले यसकै पूर्वसन्ध्यामा सभा व्यवस्थापनका लागि खटिने स्वयंसेवकले मार्चपास गरेको थियो ।
हिजो कोटेश्वरको पेरिसडाँडामा बसेको सो समूहको बैठकमा नेता झलनाथ खनालले आजको शक्ति प्रदर्शनमा तीन लाख बढी मानिस सहभागी हुने जानकारी गराएका छन् । प्रतिनिधि सभा विघटन भएसँगै नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ । दुवै समूहले छुट्टाछुट्टै राजनीतिक कार्यक्रम गरेर एक अर्काविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका छन् ।