राष्ट्रिय समाचार समिति
जनकपुर, २९ चैत
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राजनीतिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेका स्वर्गीय रामनारायण मिश्रको सालिक निर्माणमा अवरोध नगर्न आग्रह गर्नुभएको छ।
आज जनकपुरधाममा पत्रकारसँग कुराकानी गर्दै उहाँले जहाँनिया शासनको अन्त्य र प्रजातन्त्र ल्याउन गरेको सङ्घर्षको स्मरण गर्दै स्व मिश्रको सालिक निर्माण रोक्ने कार्य कुनै पनि हालतमा राम्रो नभएको बताउनुभयो।
जनकपुरधाम उपमहानगरपालिका-४ स्थित गङ्गासागर पोखरी पूर्वतर्फको डिलमा स्वर्गीय मिश्रको सालिक निर्माणकार्य सुरु हुँदा स्थानीय केही व्यक्तिले विरोध जनाएका छन्। सालिक निर्माण हुने जमिन स्वर्गीय मिश्र परिवारकै रहेकाले त्यस कार्यमा अवरोध नगर्न नेता निधिले आग्रह गर्नुभयो।
नेपाली कांग्रेसका नेता प्रफुल्लराज घिमिरेले स्वर्गीय मिश्रको सालिक निर्माणमा गलत राजनीति नगर्न तथा उहाँको योगदानको कदर गर्न सबैलाई आग्रह गर्नुभयो।
स्वर्गीय मिश्र विसं २०१५ मा भएको निर्वाचनमा तत्कालीन महोत्तरी जिल्लाबाट निर्वाचित भई बिपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारमा उद्योगमन्त्री हुनुभएको थियो। उहाँका पालामा जनकपुरधामको जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी कारखाना, कृषि औजार कारखाना, बाँसबारी छाला उद्योगसहितका दर्जनौँ उद्योग स्थापना भएको बताइन्छ।
विसं २०१७ पुस १ गते राजा महेन्द्रले पञ्चालयती व्यवस्था सुरु गरेपछि मिश्रलाई पनि लामो समयसम्म जेलमा बन्दी बनाइएको थियो । उहाँको विसं २०२७ पुस ६ गते निधन भएको थियो।
हाल सालिक निर्माण गर्ने भनिएको स्थलमा प्रत्येक वर्ष उहाँको पुण्यतिथि मनाउने गरिएको छ । यहाँ सालिक निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिकाले बजेट विनियोजन गरी कार्य अगाडि बढाएको नगरप्रमुख मनोजकुमार साहले बताउनुभयो।