काभ्रे, वैशाख २८ : काठमाडौंबाट रामेछापको बाम्तीभण्डारतर्फ जाँदै गरेको यात्रुबाहक बस काभ्रेको रोशी गाउँपालिका–९ दाउने मोडमा आज बिहान दुर्घटना भएको छ।
प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको उक्त बस बीपी राजमार्ग हुँदै जाँदै गर्दा विपरीत दिशाबाट आइरहेको मे–१ ख ३३९४ नम्बरको हाइस गाडीलाई ठक्कर दिँदै अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक कृष गिरीले जानकारी दिए।
दुर्घटनामा बसमा सवार १५ मध्ये ११ जना यात्रु घाइते भएका छन्। प्रहरीका अनुसार तीमध्ये ४ जनालाई तत्काल उपचारका लागि मेथिनकोट अस्पताल पठाइएको छ भने बाँकी ७ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार घाइते हुनेहरु लिखुपिके–३ बस्ने ७३ वर्षीया सुन्तली बिकको टाउकोमा गम्भीर चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ। सोही स्थानका ७० वर्षीय छत्र बहादुर बिक समेत टाउकोमा चोट लागेर घाइते भएका छन्।
दुर्घटनामा अन्य घाइते हुनेहरूमा रामेछाप मन्थली नगरपालिका–९ का ३४ वर्षीय रामशरण बिक, बनेपा नगरपालिका–१३ की ३३ वर्षीया सिता श्रेष्ठ, रामेछाप गोकुलगंगा गाउँपालिका–१ का २७ वर्षीय पुजन श्रेष्ठ, काठमाण्डौं नागार्जुन नगरपालिका–९ का ३५ वर्षीय कुमुद देवकोटा, भक्तपुर चाँगुनारायण नगरपालिका–४ का ६२ वर्षीय जनक बुढाथोकी, रामेछाप गोकुलगंगा–५ का ३५ वर्षीय पदम सुनुवार, रामेछाप बाम्तिभण्डारका ५० वर्षीय ङावा शेर्पा, उनका १० वर्षीय छोरा ङिमा शेर्पा र गोकुलगंगा–३ की २० वर्षीया सुजता सुनुवार रहेका छन्।
घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।