काठमाडौँ: शनिबार बाँकेको नेपालगन्जमा प्रदर्शनकाक्रममा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको शालिकमा कालोमासो दलिएको घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माफी मागेको छ।
राप्रपा नेपालगन्ज नगर कमिटीको आयोजनामा शनिबार पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा धवलशमशेर राणालगायत नेताहरुको रिहाइका लागि नेपालगन्जमा प्रदर्शन भएको थियो।
शनिबार राति बीपीको सालिकमा उक्त समूहले कालो मोसो दल्नुका साथै कालो कपडाले छोपेका हुन्।
उक्त कार्य भवितव्यका रुपमा भएको भन्दै राप्रपा नेपालगन्ज नगर कमिटीले माफी मागेको छ।
‘सबैका आस्थाका केन्द्र देशका नेता तथा जननिर्वाचित पूर्वप्रधानमन्त्री वीपी कोइराला हामी सबैका जनप्रिय नेताप्रति हाम्रो सधैँ सम्मान र विश्वास रहेको छ र रहिरहनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त भवितव्य घटनाबाट कुनै पनि राजनीतिक दल र व्यक्तिको आस्थाप्रति ठेस पुगेकोमा हामीलगायत नगर कार्य समिति क्षमाप्रार्थी छौँ।’
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त भवितव्य घटनाबाट कुनै पनि राजनीतिक दल वा व्यक्तिको आस्थामाथि ठेस पुगेकोमा राप्रपाले माफी मागेको छ।
सालिक तोडफोडको समेत प्रयास भएको भन्दै कांग्रेस बाँके सचिव सुधांशु कोइरालाले विरोध जनाएका छन्।
१५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेसँगै त्यसका अगुवा राणासहित रवीन्द्र मिश्रलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त घटनामा दुर्गा प्रसाईं भने फरार छन्। सोही प्रकरणमा पक्राउ परेका राणालाई रिहा गर्न माग गर्दै नेपालगञ्जमा राप्रपाले राँके जुलुस निकालेको हो।
