राष्ट्रिय समाचार समिति
बनियानी , २२ चैत
कुनै समय झापाको कनकाई नगरपालिकाको न्यायिक समितिलाई मुद्दा मिलाउन भ्याइनभ्याइ हुन्थो। एकै वर्षमा चार सयसम्म मुद्दाको चापले न्यायिक समिति व्यस्त हुन्थ्यो। तर, अहिले उक्त सङ्ख्या १२ वटामा झरेको छ। अहिले मुद्दाको चाप घटेको छ भने न्याय सम्पादन अझ सहज बन्दै गएको छ।
कनकाई नगरपालिकाको वडामा मेलमिलाप समिति सक्रिय भएसँगै नगरको न्यायिक समितिमा मुद्दा चाप घटेको हो भने न्याय सम्पादन सहज बनेको हो। “वडाका मेलमिलापकर्तालाई तालिम दिएर अब्बल बनाएका छौँ”, नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समिति संयोजक आशा शर्मा शिवाकोटीले भन्नुभयो, “यसले वडामै विवाद मिल्न थालेको छ, नगरसम्म आउनुपर्ने बाध्यता हटेको छ।”
न्याय माग्न आउने नगरवासीलाई आर्थिक बोझ घटेको उहाँले सुनाउनुभयो। “९ नम्बर वडाबाट टेम्पोमा आउँदा रु दुई सय जाँदा रु दुई सय लाग्छ”, उहाँले भन्नुभयो, “वडामै विवाद मिल्दा आर्थिक अवस्था कमजोर भएका वडावासीलाई सहज भएको छ।” चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म १२ नयाँ मुद्दा नगरको न्यायिक समितिमा दर्ता भएका छन् भने आव २०८०/८१ को पाँच वटा मुद्दा सरी आएको थियो। नयाँ पुराना गरी १४ मुद्दा फछ्र्योट भएको गरिएको छ।
नगरमा दर्ता हुने मुद्दा अधिकांश मुद्दा लेनदेन र जग्गा विवादका रहेका छन्। न्यायिक समितिमा दर्ता भएका सात लेनदेनका मुद्दामध्ये पाँच वटा फछ्र्योट भएका छन् भने दुई वटा फछ्र्योट हुन सकेको छैन। “आफन्तभित्रै लेनदेनको मुद्दा धेरै छ”, उहाँले भन्नुभयो, “नगरमा ऐलानी जग्गा धेरै भएकाले पनि सीमा विवाद धेरै आउने गरेको छ।”
हरेक साताको बिहीबार र शुक्रबार न्यायिक समितिले इजलासमा मुद्दा हेर्ने गरिएको छ। गत दुई सातादेखि न्यायिक समितिमा नयाँ मुद्दा दर्ता भएका छैनन्। मुद्दा नभएको समयमा वडामा गएर मेलमिलाप समितिको अनुगमन गर्ने गरिएको उपप्रमुख शिवाकोटीले बताउनुभयो।
न्यायिक समितिले मुद्दा हेर्दा राजनीतिक दबाब, नातावाद, कृपावाद नहेरी स्वतन्त्र रुपमा न्याय सम्पादन गर्ने गरेको उहाँले सुनाउनुभयो। “अप्ठ्यारा खाल र न्यायिक समितिबाट नसक्ने खालका मुद्दा आए अदालतमा पठाउने गरेका छौँ”, उहाँले भन्नुभयो।
मेलमिलाप समितिलाई वर्ष दुई पटक तालिम दिनुका साथै मेलमिलाप समितिलाई चुस्त दुरुस्त बनाउन अन्य पालिकाले गरेका राम्रा कामको अनुगमन गराएर अभ्यास गराउने गरिएको न्यायिक समितिका कानुन अधिकृत भूपेन्द्र बस्नेलले बताउनुभयो। गत आव २०८०/८१ मा न्यायिक समितिमा २४ मुद्दा दर्ता भएकामा १९ वटा फस्र्यौट भएका उहाँले बताउनुभयो। कनकाई नगरपालिका–३, ५ र ८ वडाबाट मुद्दा धेरै आउने गरेका उहाँले बताउनुभयो।
नगरमा उपप्रमुख शिवाकोटी, वडाध्यक्ष बलराम राई र कार्यपालिका सदस्य नवलकिशोर दत्तसहित तीन सदस्यीय न्यायिक समितिले न्याय सम्पादन गर्दै आएको छ भने प्रत्येक वडामा वडा सदस्यको संयोजकत्वमा मेलमिलाप केन्द्र गठन गरेर ‘वीन–वीन’ माध्यमबाट विवाद समाधान गरिँदै आएको छ।