सियोल, १७ चैत (रासस/एएफपी)
चीन, दक्षिण कोरिया र जापान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका नयाँ करहरूको सामना गर्न आइतबार स्वतन्त्र व्यापार सुदृढ गर्न सहमत भएका छन्।
यो सहमति कार, ट्रक र अटो पार्ट्ससहित अमेरिकी आयातको विशाल दायरामा करहरू सुरु हुनुभन्दा केही दिन अगाडि उच्च व्यापार अधिकारीहरूको पाँच वर्षमा त्यस्तो स्तरको पहिलो बैठकमा भएको हो।
दक्षिण कोरिया र जापान प्रमुख अटो निर्यातकहरू हुन् भने चीन पनि अमेरिकी करहरूबाट नराम्ररी प्रभावित भएको छ।
बैठकमा दक्षिण कोरियाका उद्योगमन्त्री आन डक–ग्युन, उहाँका जापानी समकक्षी योजी मुतो र चीनका वाङ वेन्ताओ उपस्थित हुनुहुन्थ्यो।
“तीन देशले व्यापक त्रिपक्षीय स्वतन्त्र–व्यापार सम्झौताका लागि आफ्नो वार्ता तीव्र पार्न आह्वान गरे र अनुमानयोग्य व्यापार र लगानी वातावरण सिर्जना गर्न सहमत भए”, एक विज्ञप्तिमा उल्लेख गरिएको छ।
दक्षिण कोरियाका उद्योगमन्त्री आनले तीन देशले साझा वैश्विक चुनौतीहरूको सामना ‘संयुक्त रूपमा’ गर्नुपर्ने बताउनुभयो । “आजको आर्थिक र व्यापार वातावरण विश्व अर्थतन्त्रको बढ्दो विखण्डनले चिह्नित छ”, उहाँले भन्नुभयो।
“हाम्रो वरपरको अन्तर्राष्ट्रिय वातावरण निरन्तर परिवर्तन हुँदै गइरहेको छ, अनि अनिश्चितता बढ्दै गइरहेको छ”, जापानी व्यापार अधिकारी यासुजी कोमियामाले पत्रकार सम्मेलनमा भन्नुभयो।
चिनियाँ अधिकारी वाङ लिपिङले भन्नुभयो, “एकपक्षीयता र संरक्षणवाद फैलिरहेको छ र तीन देशले बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्न जिम्मेवारी लिनुपर्छ।”
उहाँका अनुसार यी तीन देशले विश्वको जनसङ्ख्याको २० प्रतिशत, विश्व अर्थतन्त्रको २४ प्रतिशत र विश्वव्यापी व्यापारिक व्यापारको १९ प्रतिशत हिस्सा ओगटेका छन्।
ट्रम्पले अप्रिल २ देखि अनुचित मानिएका व्यवहारहरूको उपचार गर्न प्रत्येक व्यापार साझेदारका लागि विशेष करहरूको प्रतिज्ञा गर्नुभएको छ।
तर उहाँले गत हप्ता पत्रकारहरूलाई ‘लचिलोपन’ हुने र गत हप्ताको अन्त्यमा बजारले केही राहतका साथ प्रतिक्रिया दिएको देखिएको पनि बताउनुभयो।