काठमाडौँ, ४ चैत
राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले निःशुल्क अनिवार्य र सर्वसुलभ शिक्षा प्रवद्र्धनमा जोड दिँदै आन्दोलनरत शिक्षकको माग पूरा गर्न सरकारको ध्यानआकर्षण गराउनुभएको छ।
राष्ट्रियसभा बैठकको विशेष समयमा सांसद शर्माले शिक्षकको आन्दोलनको माग सम्बोधन गर्नुपर्ने बताउनुभयो। “शिक्षक आन्दोलनमा छन्। उनीहरु शिक्षक विधेयक संशोधनका लागि आन्दोलनरत छन्। ऐन परिवर्तन गर्न जरुरी छ,” सांसद शर्माले भन्नुभयो, “उच्च शिक्षा ऐन र विद्यालय शिक्षा ऐन तुरुन्त ल्याउनुपर्छ।”
आधारभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको हक कार्यान्वयन हुन नसकेको सांसद शर्माले बताउनुभयो । गणतन्त्र कार्यन्वयनका लागि एकता जरुरी रहेको उहाँको भनाइ थियो। “आन्दोलनले मुलुकमा परिवर्तन ल्यायो । त्यही परिवर्तनले धर्मनिरपक्षेता, गणतन्त्र र सङ्घीयता लागू भए। हामीले स्थापित गरेका यिनै साझा विषयवस्तु कार्यान्वनय गर्ने कर्तव्य पनि हाम्रो नै हो,” उहाँले भन्नुभयो।
यसैगरी विषेश समयमा सांसद तुलसाकुमारी दाहालले युद्धरत मुलुकमा श्रममा जान अनुमति दिन नहुनेमा जोड दिनुभयो। “रोजगारी प्राप्त गर्नेभन्दा पनि बाँच्न पाउने अधिकार ठूलो हो । वैदेशिक रोजगारीमा जाँदा युद्ध नचेलेको देशमा जानका लागि मात्रै अनुमति दिनुपर्छ,” उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा जाने श्रमिकले पठाएका रेमिटेन्सको उचित सदुपयोग गर्नुपर्छ। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा ती श्रमिकलाई आवद्ध गराउन जरुरी छ।”
कुन देशमा कति श्रमिक रहेको भन्ने कुरा लेखाजोखा गर्न आवश्यक रहेको सांसद दाहालको भनाइ थियो। अर्थतन्त्र चलायमान बनाउँदै मुलुकमा नै रोजगारीको वातावरण तय गर्नुपर्ने र प्राविधिक शिक्षा प्रवद्र्धन गर्नुपर्ने, कृषि, पर्यटन क्षेत्रको पहिचान गरेर रोजगारीको वातावरण सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।