राष्ट्रिय समाचार समिति
म्याग्दी, २९ फागुन
म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायले आजदेखि तोरन ल्ह (फागुपूर्णिमा) पर्व मनाउन सुरु गरेका छन्।
नेपालका विभिन्न क्षेत्रमा ११ हजारको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागुपूर्णिमाको अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन्। फागुपूर्णिमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले बताउनुभयो।
“तीन दिन सबैरे उठेर शुद्ध भई पितृहरुलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ”, उहाँले भन्नुभयो, “आफन्तलाई बोलाएर मीठामीठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ।” मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ।
घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य बसोबास छ। म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ। तोरन ल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकालीहरु आफ्नो जन्मथलो फर्किएका छन्। तोरन ल्हमा थकाली समुदायले घर सिँगारपटार गरेका छन्।
तोरन्ल्ह पर्वको अवसरमा थकाली समुदायका पुरुषहरु परम्परागत तारो हान्ने खेल खेलेर रमाइलो गर्दछन्। महिलाहरु भने मौलिक वेशभूषामा सजिएर नाचगान गर्ने, गोटा खेल्ने र शुभकामना साटासाटा गरेर तोरन्ह मनाउँछन्।