काठमाडौँ, २८ फागुन
गैरआवासीय नेपाली संघ उच्चस्तरीय समितिले मेमा तय गरेको एकताको अधिवेशनको तयारी तीव्र पारेको जनाएको छ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सिंहदरबारमा उच्चस्तरीय समितिमा रहेका १३ जनालाई नै सहमतिमा अदालतले दिएको परमादेश अनुसार अधिवेशन गर्न आग्रह गरेपछि समितिका संयोजक डा. शेष घलेले मंगलबार भर्चुअल बैठक बोलाउनु भएको थियो। उक्त बैठकमा संयोजक घलेले मे ३–५ का लागि काठमाडौंमा तय भएको एकताको अधिवेशनको तयारी तीव्र गतिमा भइरहेको बताउँदै कोही पनि भ्रममा नपर्न आग्रह गर्नु भएको छ।
उहाँले अदालतलको परमादेश अनुसार नै उच्चस्तरीय समितिले सबैसँग समन्वय गरिरहेको र सदस्यता आह्वान भइसकेको जानकारी गराउँदै प्रमुख अतिथि र अतिथिहरुलाई निमन्त्रणा गरिएको पनि जानकारी गराउनु भएको छ।
अधिवेशनका लागि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई औपचारिक रुपमा निमन्त्रणा पठाइएको उहाँले बताउनु भएको छ। यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि समितिले चाँडै नै निमन्त्रण पठाउने तयारी भइरहहेको छलफलमा उहाँले जानकारी गराउनु भएको छ।
यसैगरी भौतिकरुपमा उपस्थित भएका प्रतिनिधिहरुले नै केन्द्रीय नेतृत्व छनोट गर्ने भएकाले जतिसक्दो धेरै संख्यामा काठमाडौंमा उपस्थित हुन पनि समितिका संयोजक डा. शेष घलेले अपिल गर्नु भएको छ। बैठकमा डेलिगेटहरूलाई सहज यात्राका लागि ट्राभल बुकिङको विकल्प उपलब्ध गराइएको र अधिवेशनलाई ऐतिहासिक, भव्य र सभ्यरुपमा सफल बनाउनु डायस्पोरामा रहेका सवैको दायित्व भएको उहाँले बताउनु भएको छ।
छलफलमा पुर्व अध्यक्ष तथा आर्थिक उपसमितिका संयोजक कुल आचार्यले आफूले गरिरहेका कामबारे जानकारी गराउँदै आर्थिक कारणले अधिवेशनलाई कुनै समस्या नपर्ने बताउँदै धेरैभन्दा धेरै मेम्मरसीप बनाई एकताबद्ध बन्नुपर्नेमा जोड दिनुभएको छ।
यसैगरी उच्च समितीका सदस्य विनोद कुँवरले एनसीसीहरुसँग समन्वय भइरहेको बताउनु भएको छ। उहाँले सर्वोच्चले दिएको परमादेशलाई लिएर एकता गर्न सकिने बताउँदै गैरआवासिय नेपालीहरुलाई एकताबद्ध गर्न सकिने जनाउनु भएको हो। छलफलमा पुर्व अध्यक्ष तथा उच्च स्तरीय समिती सदस्य सचिव रविना थापाले पहिलो चरणको कार्यक्रम संचालन गर्नु भएको थियो। उहाँले उच्चस्तरीय समितिले तीव्र गतिमा काम गरेको बताउँदै अधिवेशन सफल हुने विश्वास व्यक्त गर्नु भएको छ। त्यसैगरी, उहाँले सबै सदस्य बन्नु अवसर भएकाले यो नै समस्याको समाधान भएको बताउनु भएको छ। पुर्व अध्यक्ष थापाले एनआरएनएका सदस्य नेपाल आएर भोट हाल्न पाउने र डेलिगेट भएर नेता चुन्न पाउने अवसर पनि भएकाले सबैलाई सदस्य बन्न आग्रह समेत गर्नु भएको छ।
त्यसैगरी, दोस्रो चरणको कार्यक्रम संचालन गर्दै उच्च स्तरीय समिती सचिव जानकी गुरुङले सदस्यताका लागि धमाधम फर्म भरी रहेको जानकारी गराउँदै कुनै समस्या परे तत्काल सम्पर्क गर्न आग्रह गर्नु भएको छ। कार्यक्रममा दक्षिण कोरियाबाट सहभागी हुन भएका अजय सोडारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीहरुसंग सहकार्य गरेर काम गरिरहेको जानकारी दिँदै डेलिगेट सदस्य केन्द्रमा जान पाउने भएकाले सहज भएको बताउनु भएको छ।
त्यसैगरी, महेश श्रेष्ठले दुविधाले सदस्य बन्न सहज नहुने भएकाले निर्वाचन केन्द्रित बन्नु पर्नेमा जोड दिनु भएको छ। सहभागी गंगाधर गौतमले समस्यामा अल्झिनु नहुनेभन्दै सजग बनेर अगाडी बढ्नुपर्ने बताउनु भएको छ। २५५ जना मुल आयोजक कमिटीमा रहनु भएका सदस्य मध्ये २३० जना भर्चुअल रुपमा जोडिनु भएको थियो। छलफलमा सबैले एकताको अधिवेशनका लागि आ आफ्नो ठाउँबाट उत्साहकासाथ आफूले सक्दो प्रयास गरिरहेको र मे ३ मा काठमाडौं आउँन तयारी रहेको बताउँदै आफूले गरेका कामबारे जानकारी गराउनु भएको थियो।