काठमाडौं: स्टार्टअप ब्यबसायमा महिलाको उपस्थिति बढाउन महिलामैत्री कानुन आवश्यक भएको कुरामा एक कार्यक्रमका बक्ताहरुले जोड दिनुभएको छ। नेपाली काँग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजन गरेको स्टार्टअप तथा एसएमई सम्मेलनमा बोल्ने वक्ताहरुले राज्यको विभेदपूर्ण नीति परिवर्तन गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
सामूहिक छलफल कार्यक्रममा बोल्दै नेपाल जेसिजको राष्ट्रिय अध्यक्ष रजनी थापाले समय अनुसार महिलाहरुले आफूलाई सक्षम बनाउँदै लैजानुपर्ने बताउनुभयो।
आफू उद्यमी भइरहँदा कामप्रतिको इमानदारीताका साथै सक्छु भन्ने कमिटमेन्ट पनि हुनुपर्ने अध्यक्ष थापाको भनाई थियो। उहाँ भन्नुभयो “राज्यको पोलिसी महिलाको नाममाभन्दा पनि पुरुषको नाममा धेरै छ। सम्पत्ति भएको ब्यक्तिले सहजै धितो राखेर सम्पत्ति राखेर ऋण लिन सक्छ ,त्यसका साथै व्यावसाय पनि गर्दछ। त्यसकारण महिलामैत्री कानुन आवश्यक छ ।”
बीआईडी नेपालका नेपालका प्रमुख यमुना श्रेष्ठले महिला उद्यमशीलताले तुलनात्मक रुपमा फड्को मारेको बताउनुभयो। नेपालमा उद्यम स्थापना गर्न केही अप्ठ्याराहरु भएपनि काम गर्दैजाँदा चुनौती सामाना गर्ने क्षमता पनि हुने र मेहनत गरे सफलता प्राप्त गर्न असम्भव नहुने उहाँको भनाई थियो।
युजी केक्सकी संस्थापक निकिता आचार्यले आफुले २०१२ मा सानो लगानीमा सुरु गरेको व्यवसायले अहिले ठूलो फड्को मारेको बताउनुधयो। उहाँले भन्नुभयो हामीले तालिम दिएका धेरै जना अहिले आत्मनिर्भर भएको र कयौं सफल उद्यमीको रुपमा समेत परिचित बन्नुभएको छ।
समाजमा पुरुषको तुलनामा महिलालाई बढी नै चुनौती रहेको उल्लेख गर्दै आचार्यले भन्नुभयो, “महिलालाई उद्यमप्रती उत्प्रेरित बनाउन राज्यले विभिन्न नीति त ल्याएको छ। तर महिलाहरु त्यसमा समावेश भएका छैनन्। महिलालाई उद्यममा सहज प्रवेशको लागि राज्यले आफ्ना कानुन र नीतिमा सुधार र परिवर्तन गर्न आवश्यक छ।”
एनआरएनकी पूर्व अध्यक्ष रविना थापाले अर्थतन्त्र सबल बनाउन महिला उद्यमीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले भन्नुभयो, “मैले नेपालको एक गाउँबाट सुमद्रपारीको सहरमा पुगेर यहाँसम्म परिचय बनाउन थुप्रै चुनौती र कठिनाइको सामना गर्नुपरेको थियो। हामीले विदेशमा पनि नेपाली महिलाहरुलाई उद्यमशीलताका लागि प्रेरित गरेका थियौं ।”
नेपालमा सहज रुपमा उद्यम गर्नका लागि राज्यले विश्वास नगर्ने परिस्थिति रहेकोमा अहिले सहज भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “उद्यम दर्तादेखि धेरै विषयमा झन्झट भएकाले त्यसका लागि सहजीकरण गर्न अवश्यक रहेको छ।”
नेपाल रिपब्लिक मिडीयाकी सीइओ समृद्धी ज्ञावलीले आन्तरिक उत्पादनलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउन समस्या रहेको बताउनुभयो। उहाँले अवसरको सदुपयोग गर्न सकेमा सफल उद्यमी बन्न असहज नहुने स्पष्ट पार्नुभयो ।