राष्ट्रिय समाचार समिति
जुम्ला, २० फागुन
जिल्लामा पछिल्लो समयमा बर्थिङ सेन्टरमा सुत्केरी हुनेको सङ्ख्या वृद्धि हुँदै गएको छ । यहाँको तिला गाउँपालिकामा रहेका स्वास्थ्य चौकीमा सञ्चालन गरिएका बर्थिङ सेन्टरमा सुत्केरी हुनेको सङ्ख्या बढ्न थालेका हुन् ।
पालिकाका पाँच स्वास्थ्य चौकीमध्ये तीन वटा स्वास्थ्य चौकीको अघिल्लो तीन वर्षको सार्वजनिक तथ्याङ्कअनुसार करिब दुई सय बढी बर्थिङ सेन्टरमा सुत्केरी भएका छन् ।
तीन वर्षको तथ्याङ्क अनुसार जुम्लाकोट सबैभन्दा बढीले बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिएका छन् । आव २०७९/८० मा ३७, आव २०८०/८१ मा ३३ र चालु आवको माघसम्म २६ जना बर्थिङ सेन्टरमा सुत्केरी भएका स्वास्थ्य चौकीका इञ्चार्ज विराजु जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही तीन वर्षभित्र १६ जनालाई ‘रिफर’ हो ।
यस्तै तिला–९ मा रहेको रासा स्वास्थ्य चौकीमा आव २०७९/८० मा १९, आव २०८०/८१ मा १८ र चालु आवको माघसम्म छ जनाले सेवा लिएका स्वास्थ्य चौकीका इञ्चार्ज दत्त रावतले जानकारी दिनुभयो । उहाँका अनुसार दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । पालिकाले स्थायी दरबन्दीमा करार नियुक्ति गर्दै आएको रासा स्वास्थ्य चौकीले जनाएको छ ।
रारालिही स्वास्थ्य चौकीका अधिकृत हिमाली खत्रीका अनुसार आव २०७९/८० मा ४० र गत आवमा २२ जनाले बर्थिङ सेन्टरबाट सेवा लिएका छन् । चालु आवको माघसम्म सेन्टर बन्द हुँदा सुत्केरी सेवा लिनबाट बञ्चित भएका उहाँको भनाइ छ ।
स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउने प्रमुख लक्ष्य र सङ्कल्प रहेको स्वास्थ्य कार्यालयले बताएका छन् । “बर्थिङ सेन्टरमा सुत्केरी हुन आउनेका कुरुवालाई खानासहितको व्यवस्थापन गरिएको छ । भौतिक संरचनालाई प्रयोगमा ल्याएर सेवा प्रवाहलाई जनमुखी बनाइएको छ”, जुम्लाकोट स्वास्थ्य चौकीका इञ्चार्ज जिसीले भन्नुभयो ।
उहाँका अनुसार स्वास्थ्य संस्थामा औषधि अभाव हुन नदिन पालिकाको स्वास्थ्य शाखामा पुगेर औषधि ल्याउने गरिएको छ । जटिल अवस्थाका सुत्केरीलाई व्यक्तिगत लगानीमा सदरमुकाम पठाउने गरेको इञ्चार्ज जिसीले बताउनुभयो ।
“पालिकाले स्वास्थ्य चौकीका लागि तोकेर आवश्यक बजेट विनियोजन गरेको छैन । गुणस्तरीय स्वास्थ्य सेवा दिन वडा कार्यालय र स्थानीय सरकारले विशेष पहल गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।