तेहरान, १८ फागुन
उच्च मुद्रास्फीति र राष्ट्रिय मुद्रा रियालको तीव्र अवमूल्यनपछि इरानको संसद्ले आइतबार देशका अर्थमन्त्रीविरुद्ध महाभियोगको कार्यवाही सुरु गरेको छ ।
आइतबार कालो बजार (ब्ल्याक मार्केट) मा रियाल अमेरिकी डलरको तुलनामा नौ लाख २० हजारभन्दा बढीमा कारोबार भइरहेको थियो । यो सन् २०२४ को मध्यमा छ लाखभन्दा कम थियो ।
राष्ट्रपति मसुद पेजेस्कियानले सांसदहरूलाई मन्त्री अब्दोलनासर हेममतीको रक्षा गर्ने प्रस्ताव गर्नुभएको छ । उहाँले आफ्नै रेकर्डको समर्थनमा पनि बोल्नुहुनेछ ।
संसद्ले दिउँसो महाभियोगमा मतदान गर्ने अपेक्षा गरिएको छ । कुनै पनि बर्खास्तगीलाई २९० सीटे संसद्को बहुमतको समर्थन आवश्यक पर्दछ ।
गम्भीर आर्थिक अवस्थाका लागि जिम्मेवार रहेको विश्वास गर्ने अर्थमन्त्रीलाई रिसाएर निन्दा गर्दा धेरै सांसदले आफ्नो आवाज उठाए ।
“जनताले मुद्रास्फीतिको नयाँ लहरलाई सहन सक्दैनन् ; विदेशी मुद्रा र अन्य सामानको मूल्यमा भएको वृद्धिलाई नियन्त्रण गर्नैपर्छ”, एक सांसद रुहोल्लाह मोटेफक्कर–आजादले भन्नुभयो । “जनताले औषधि र चिकित्सा उपकरणहरू किन्न सक्दैनन्”, अर्का फातेमा मोहम्मदबेगीले भन्नुभयो ।
पेजेस्कियानले जुलाईमा अर्थतन्त्रलाई पुनर्जीवित गर्ने र पश्चिमीले लगाएको केही प्रतिबन्धहरू अन्त्य गर्ने महत्त्वाकांक्षाका साथ पदभार ग्रहण गर्नुभएको थियो ।
तर विशेष गरी डिसेम्बरमा इरानको मित्र सिरियाका बशर अल–असदको पतन यता रियालको अवमूल्यन झन् तीव्र भएको छ ।
दमास्कसमा उहाँको सरकार पतन हुनुभन्दा अघिल्लो दिन इरानको कालो बजारमा करिब सात लाख १७ हजार रियालमा एक डलरको कारोबार भएको थियो ।
– अनियन्त्रित मुद्रास्फीति –
दशकौँको अमेरिकी नेतृत्वको प्रतिबन्धले इरानको अर्थतन्त्रलाई पनि बिगारेको छ र सन् २०१८ मा वासिङ्टन ऐतिहासिक सन् २०१५ आणविक सम्झौताबाट बाहिर निस्किएपछि मुद्रास्फीति झन् बिग्रँदै गएको छ ।
औपचारिक रूपमा संयुक्त व्यापक कार्ययोजना (जेसिपिओए) भनिने यो सम्झौताले प्रतिबन्धहरू कम गर्ने र देशको आणविक गतिविधिहरूमा सीमाहरू बढाउने बदलामा इरानमा पश्चिमी लगानी फिर्ता गर्ने व्यवस्था गरेको थियो ।
जनवरीमा ह्वाइट हाउस फर्कनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्धहरू थप कडा पार्दै इरानमाथि ‘अधिकतम दबाब’ दिने आफ्नो नीतिलाई पुनर्जीवित गर्नुभएको छ ।
इरानी अर्थतन्त्र सन् २०१८ देखि नै प्रत्येक दिनका इरानीहरूमाथि भारी पर्ने द्रुत मुद्रास्फीति, उच्च बेरोजगारी र मुद्राको अवमूल्यनको दबाबमा छ ।
विश्व बैंकको आँकडा अनुसार सन् २०१९ देखि इरानमा मुद्रास्फीति वार्षिक ३० प्रतिशतभन्दा माथि रहेको छ । वासिङ्टनस्थित संस्थाको अन्तिम प्रतिवेदनअनुसार सन् २०२३ मा यो ४४ प्रतिशतसम्म पुगेको थियो ।
इरानी संविधानअनुसार मन्त्रीको बर्खास्तगी तुरुन्तै प्रभावकारी हुनेछ र सरकारले प्रतिस्थापन चयन नगरेसम्म कार्यवाहक नियुक्त गरिनेछ ।
सन् २०२३ अप्रिलमा अन्तर्राष्ट्रिय प्रतिबन्धसँग जोडिएको मूल्यवृद्धिका कारण सांसदहरूले तत्कालीन उद्योगमन्त्री रेजा फातेमी अमिनलाई बर्खास्त गर्ने पक्षमा मतदान गरेका थिए ।