काठमाडौं: नेपाल इन्जिनियरिङ कलेजका ६ जना विद्यार्थीले कूलपति स्वर्ण पदक प्राप्त गरेका छन् । भोली बिहीबार हुने पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहमा उनीहरुलाई कूलपति स्वर्ण पदक प्रदान गर्न लागिएको छ ।
कलेजको स्नातकोत्तर तह अन्तरगत कन्ट्रक्सन म्यानेजमेन्ट, ट्रान्सपोर्टेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका ६ जना विद्यार्थीहरुले कूलपति स्वर्ण पदक प्राप्त गरेका हुन् । कलेजका विद्यार्थीहरु आशिष पोखरेल, मनोज अर्याल, निश्चल सिलवाल, कुशल भुसाल, मनिषा भट्टराई र स्वस्तीका भट्टराईले समेत कूलपति स्वर्ण पदक प्राप्त गरेको नेक सिपिएसका कार्यवाहक एकेडेमिक कोअर्डिनटर एशोसिएट प्रोफेसर रोवर्ट डंगोलले बताउनु भयो । स्नातकोत्तर तहमै अध्ययनरत अन्य ८ जना विद्यार्थीहरु डीन लिस्टमा पर्न सफल भएका छन् ।
कलेजका मिडिया रिलेसन अफिसर आशिष झाका अनुसार यस पटकको दीक्षान्त समारोहमा स्नातकोत्तर र स्नातक तहका ३४ जना बिद्यार्थी कूलपति स्वर्ण पदक र डीन लिस्टमा पर्न सफल भएका छन् । ‘यो पटक हाम्रा विद्यार्थीहरुले राम्रो सफलता प्राप्त गर्न सफल भएका छन् । ६ जनाले कूलपति स्वर्ण पदक पाउँदै हुनुहुन्छ । स्नातक तहका २० जना र स्नातकोत्तर तहका ८ जना विद्यार्थी डीन लिस्टमा पर्न सफल हुनुभयो ।’ मिडिया रिलेसन अफिसर झाले भन्नुभयो ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरु मध्येकै उत्कृष्ट शैक्षिक संस्था हो । केही समय अगाडी मात्रै कलेजका इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनका विद्यार्थी इन्जिनियर अनिलकुमार यादवले नेपाल टेलिकममा सबैभन्दा कम उमेरमा नाम निकाल्न सफल भएका थिए । उनी पोखरा विश्वविद्यालयकै टपर समेत थिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित नेपाल इन्जिनियरिङ कलेज सञ्चालक समितिद्वारा सञ्चालित यो कलेजलाई नेपाल इन्जिनियरिङ परिषद्ले समेत स्थायी अनुमति प्रदान गरेको छ । कलेजको शैक्षिक स्तर, भौतिक पूर्वाधार, शिक्षक शिक्षिकाहरुको गुणस्तर लगायतको अध्ययन गरेर परिषद्ले स्थायी अनुमति प्रदान गरेको हो ।
नेक सिपिएस अन्तरगत स्नातकोत्तर तहमा कन्ट्रक्सन म्यानेजमेन्ट, ट्रान्सपोर्टेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, इन्टर डिस्प्लनरी वाटर रिसोर्स म्यानेजमेन्ट, नेचुरल रिसोर्स म्यानेजमेन्ट विषयमा २०२५ का लागि भर्ना खुल्ला रहेको छ ।