काठमाडौँ, ४ फागुन
लैङ्गिक भेदभाव नेपाली समाजको सामाजिक, सांस्कृतिक एवं पारिवारिक संरचनामा गहिरो जरा गाडी बसेको समस्याका रूपमा लिन सकिन्छ। यस्ता परम्परागत सामाजिक एवं पितृसत्तात्मक मूल्य मान्यताहरुले महिलाहरूको सशक्तिकरण र समाजको प्रगतिको मार्गचित्रमा अवरोध पुर्याएका छन्। लैङ्गिक समानताका क्षेत्रमा गरिएका विभिन्न प्रयासहरूले वर्तमान समयमा परिवर्तनको संकेत गरे पनि हाम्रो नेपाली समाजका अधिकांश परिवारमा अझै पनि ठूलो चुनौतीको रुपमा रहेको छ।
लैङ्गिक समानतामा रूपान्तरण ल्याउनका लागि परिवारका सदस्यहरूको महत्त्वपूर्ण भूमिका रहन्छ । हाम्रो समाजमा एउटा चर्चित एवम् सबैले उदाहरण दिइरहने भनाइ छ "एउटा पुरुषको सफलतामा महिलाको महत्त्वपूर्ण योगदान हुन्छ" यस भनाइलाई खण्डन गर्दा प्राय घरव्यवहार परिवार अथवा घरायसी झन्झटका कुरामा पुरुषको सहयोग नलिइकन महिलाले मात्र बोझ बोक्ने कुरालाई महत्वमा राखिन्छ । ठिक यसको विपरीत महिलालाई अघि बढाउन पुरुषको सहयोगी भूमिकाको त्यति बलियो रुपमा चर्चा गरिँदैन र घरायसी झन्झटका कामहरूमा पुरुष अल्झिएमा त्यसलाई एउटा कुरा काट्ने दरिलो हतियार बनाइन्छ। यसरी परिवारको कार्य विभाजनमा परम्परागत अभ्यास र धार्मिक मान्यतासँग जोडेर महिलालाई दोस्रो दर्जामा राखेर हेरिन्छ । हाम्रो समाजले परिवारभित्र महिला र पुरुषको भूमिका भिन्नभिन्न रूपमा तोकेको छ । तर पनि अहिले आँट जाँगर र पारिवारिक सहयोग भएका महिलाहरूले आफूलाई विभिन्न उद्योग, व्यवसाय ,पेसा तथा रोजगारको क्षेत्रमा स्थापित गराउन सफल भएका छन् । यसरी आफूलाई स्थापित गराउने महिलाहरू कतिपय त परिवारमा विद्रोह गरेर पनि अगाडि आएका छन्।
संवैधानिक हिसाबले हेर्दा नेपालमा प्रजातन्त्रको स्थापना पश्चात अझ भनौँ नेपालको संविधान २०७२ ले महिलाका अधिकारको ग्यारेन्टी गरेको छ। राजनीतिक तथा सरकारी संस्थाहरूमा समानुपातिक प्रतिनिधित्व कायम गरेको छ । स्थानीय निर्वाचन २०७९ मा महिलाको सहभागितामा उल्लेखनीय वृद्धिले राजनीतिक क्षेत्रमा प्रगतिको संकेत पनि देख्न सकिन्छ। यसलाई गहिरिएर विश्लेषण गर्ने हो भने महिलालाई समावेश गर्नुपर्ने बाध्यात्मक परिस्थिति वा संवैधानिक पाटो पूरा गर्नको लागि मात्र गरेको जस्तो पनि देखिन्छ । महिलालाई सह अथवा उप पदहरूमा र सामान्य सदस्यमा मात्र सीमित राखिएको छ। महिलाहरू सक्षम हुँदाहुँदै पनि उनीहरूलाई मुख्य भूमिकामा न्युनतम रुपमा संलग्न बनाइन्छ । आफ्नो पक्षमा निर्णय गराउनका लागि आफ्ना अनुकूलका महिला समावेश गरिन्छ । यो एउटा परिवारको मात्र समस्या होइन यो त पूरा पितृसत्तात्मक मान्यता बोकेका अधिकांश समाजको अवस्था हो तर यसको न्युनिकरणमा पारिवारिक सामाजिकीकरणको ठूलो भूमिका हुन्छ ।
कतिपय समाजमा अगुवा महिलाहरूले वा महिला नेतृहरूले तथा परिवर्तन चाहने महिलाहरूले पितृसत्ताको मान्यतामा प्रश्न उठाउँदा दुर्व्यवहार व्यहोर्नु परेको थुप्रै उदाहरणहरु छन् । यसलाई चिर्नको लागि पहिला त आफ्नो परिवारका महिला सदस्य आमा, दिदीबहिनी, भाउजु, बुहारी, छोरी, भदै, भतिजी आदि सदस्यहरू माथि बिना भेदभाव अगाडि बढ्नको लागि वातावरण मिलाउने जिम्मेवारी सम्बन्धित परिवारका पुरुष साथै अन्य सदस्यको हो ।
हामी एउटा सामाजिक प्राणी भएकोले प्रत्येक व्यक्ति समाज रूपान्तरणको लागि टेवा पुर्याउने कार्यमा कुनै न कुनै माध्यमबाट जोडिन पुगेका हुन्छौं । हामी यदि आफैलाई परिवर्तन वा रूपान्तरण गरी त्यसको छाप आफ्ना परिवारका सदस्यमा छोड्न सकेनौं भने हामीलाई कसले पत्याइदिन्छ ? अहिले हाम्रो समाजमा आफ्नै परिवारका सदस्यबीच राम्रो सम्बन्ध राख्न नसक्ने, परिवारको मतलब नगरी विभिन्न अनुशासनहीन कार्यमा संलग्न रहने, महिला हिंसा, विभेद घरभित्रै गर्ने र बाहिर त्यसको विरुद्धमा आवाज बुलन्द बनाउने व्यक्तिहरु समाज परिवर्तनका बाहक बनेको पनि देख्न सकिन्छ । यस्ता अगुवाहरुलाई बहिष्कार गर्दै र उनीहरूका कु कार्यलाई चर्चामा ल्याइदिने हो भने घरपरिवारमा हुने हिंसा ,भेदभाव अलि कम भएर जाने र प्रत्येक व्यक्ति जवाफदेही हुन सक्छ ।
महिलालाई अगाडि बढाउनमा परिवारिक भूमिका हुन्छ । परिवारबाट नै मानिसले आत्मविश्वास, आकांक्षा र अवसरको आकार लिन सक्छ । अहिलेको परिवर्तित समाजमा विभिन्न तरिकाबाट परिवारले महिलाको उन्नतिमा योगदान पुर्याउन सक्छ ।
परिवारले महिलाको शिक्षालाई प्राथमिकता दिई विद्यालय शिक्षा, उच्च शिक्षा र विविध किसिमका अनौपचारिक शिक्षामा पुरुष सरह समान अवसर दिन सक्छ जसले गर्दा एउटी महिलाले समाजमा शिक्षित नारीको पहिचान बनाउन सक्छिन् । व्यावसायिक तालिम, प्रविधि र उद्यमशीलताको माध्यमबाट महिलालाई प्रोत्साहित गरी आर्थिक आत्मनिर्भर बनाउन सक्छ । परिवार भित्र भएका लिङ्गीय रूढीवादी परम्परालाई र कुसंस्कारलाई परिमार्जित गर्दै घरायसी जिम्मेवारी महिला र पुरुष दुवैले बाँडफाँड गरेमा महिलाको व्यक्तिगत र व्यवसायिक दुवै प्रगति हुन सक्छ। महिलामाथि परिवारका सदस्यहरु आमाबुबा, दाजुभाई र दिदीबहिनीले समानतामा आधारित व्यवहार देखाएमा महिलालाई नेतृत्व विकास र गैर परम्परागत पेशा अपनाउन प्रेरणा मिल्दछ ।
अहिले महिलाले आफ्नो छुट्टै पहिचान खोजिरहेका बेला परिवारका सदस्यले आत्मसम्मान बढाउने र जोखिम उठाउन प्रोत्साहित गर्ने वातावरण मिलाइदिएमा महिलाहरूको महत्वकांक्षा र आत्मविश्वास बढेर जान्छ साथै उनीहरुले आफ्नो स्थान बनाउन सफल हुन्छन् ।
अर्को एउटा महत्वपूर्ण पक्ष भनेको आर्थिक पक्ष हो जसमा परिवारले महिलालाई पनि व्यवसाय सुरु गर्न वा पेशागत लक्ष्यहरू पूरा गर्न प्रारम्भिक आर्थिक स्रोतमा सहयोग गर्नु पर्छ । आर्थिक साधनमा समान पहुँच दिएर आर्थिक हिसाबले सुरक्षित बनाउन पहल गर्नुपर्छ । महिलाको विचारलाई परिवारभित्र सम्मान र समर्थन गर्दा पनि उनीहरूलाई समाजमा खुलेर बोल्न प्रेरणा मिल्ने गर्छ। महिलालाई समाजको अपेक्षा भन्दा बढी आफ्ना आकांक्षासँग मेल खाने करियर रोज्न दिनुपर्छ । आफ्नो रुचिको काम गर्दा उनीहरूले समाजमा पनि राम्रो छाप छोड्ने गरी आफ्नो कार्यक्षेत्रमा परिचित हुन सक्छन् । यसरी आफूलाई स्थापित गराउन चाहने महिलाहरूले घरेलू कामकाज र कार्यलयको कामलाई तालमेल मिलाउन समस्या परेको हुन्छ तर पारिवारिक जिम्मेवारीमा परिवारका अन्य सदस्यबाट जिम्मेवारी समायोजन गरेमा पनि उनीहरूको सफलता सम्भव हुन्छ।
वर्तमान समयमा कतिपय परिवारमा मानसिक तनावका कारण विभिन्न घटनाहरु घटिरहेका छन् । कतिपय अवस्थामा जस्तै महिनावारी, गर्भवती र सुत्केरी भएका महिलाहरुलाई बढी ध्यान पुर्याउने पहिलो जिम्मेवारी परिवारको नै हो। महिलाको मानसिक एवं शारीरिक स्वास्थ्यमा पनि परिवारका सदस्यले राम्रो ख्याल गरेमा उनीहरुलाई स्वस्थ रहन र तनाव व्यवस्थापन गर्न सहज हुन्छ । महिलाले पनि आफ्नो काम, कर्तव्यको ख्याल गरी अधिकारकालागि आत्मविश्वासका साथ जिम्मेवार भई आफ्नो परिवारमा र समाजमा उदाहरणीय बन्न सक्नुपर्छ ।
निष्कर्षमा भन्नुपर्दा महिलाको प्रगति र उन्नतिमा पारिवारिक सहयोग अथवा पारिवारिक वातावरणले महत्त्वपूर्ण भूमिका खेल्दछ । परिवार महिलाको यात्रामा बाधक नभएर सहयात्री भएमा उनीहरूको व्यक्तिगत जीवनमा मात्र नभएर समाजको समग्र प्रगतिमा पनि प्रत्येक परिवारले योगदान पुर्याउन सक्छ। नेपाली समाजमा साथै परिवारमा लैङ्गिक समानतामा केही हदसम्म प्रगति हासिल गरेता पनि प्रत्येक समाज र परिवारमा भएका परम्परागत मान्यता र अभ्यासलाई भत्काउन ठूला चुनौतीहरू अझै बाँकी छन्। समाजमा वा परिवारमा न्याय र समानताको सिद्धान्तसँग मेल खाने गरी प्रत्येक सदस्यले आफूलाई परिमार्जन गर्न सक्नु आजको आवश्यकता हो । पारिवारिक समझदारी, मेलमिलाप, आपसी सद्भाव र सहयोगबाट परिवारका सम्पूर्ण सदस्यहरुको प्रगतिको बाटो रोजेमा परिवारमा टकराव सिर्जना नभईकन लैङ्गिक समानताका समस्या केही हदसम्म समाधान गर्न सकिन्छ ।