काठमाडौँ, १९ पुस
सुदूरपश्चिमकी १३ वर्षे एक किशोरी पहिलो पटक महिनावारी भएपछि मनपर्ने गायकको साङ्गीतिक कार्यक्रममा जान पाइनन् । उनी आफैँ पनि गायनमा रुचि राख्ने भएकाले साङ्गीतिक कार्यक्रममा जानु उनका लागि ठूलो रहर थियो ।
महिनावारी भएपछि उनी छाउपडी प्रथाका कारण छाउगोठमा बस्न बाध्य भइन् । उनी एकाएक छाउगोठको अध्याँरो कोठामै सीमित भइन् । यसले उनलाई शारीरिकसँगै मानसिक रुपमा पनि विक्षिप्त भइन् ।
किशोरीले छाउगोठमा अनुभव गरेको मनोभावनालाई दुई नेपाली किशोरले भर्चुअल रियालिट (भिआर)मा उतार्ने भएका छन् । अमेरिकाको ड्रेक्सेल विश्वविद्यालयमा अध्ययनरत यी दुई विद्यार्थीले ‘एक गोठभित्रको आवाज’ शीर्षकमा चलचित्र निर्माण गर्न लागेका हुन् ।
“चलचित्रमा छाउगोठमा ती किशोरीले भोेगेको शारीरिक र मानसिक सङ्घर्षलाई देखाउँदै महिनावारीसँग सम्बन्धित सामाजिक कुरीतिबाट महिलाले भोग्नुपर्ने दुःख र पीडालाई उजागर हाम्रो विश्वास छ”, प्रशन्न सुवेदीले भन्नुभयो । सुवेदी ड्रेक्सेल विश्वविद्यालयमा फिल्म स्टडिजमा चौथौँ वर्षका विद्यार्थी हुनुहुन्छ । उहाँले विश्वविद्यालयका ‘प्रोजेक्ट वर्क’का रुपमा ड्रेक्सेलको वेस्टफाल कलेज अफ मिडिया आट्र्स एन्ड डिजाइनका विद्यार्थी प्रसिन श्रेष्ठसँग उक्त चलचित्र बनाउने निर्णय गरेका हुन् । हालै चलचित्रको कार्यकारी निर्माताका रुपमा अभिनेत्री सुरक्षा पन्त पनि जोडिनुभएको छ ।
कलेजका साथीहरु हेमन्ता अधिकारीलाई लेखन र मेधावी पण्डित कथावाचकको जिम्मेवारी दिइएको छ। अमेरिकाका क्रिस सेल ध्वनी डिजाइनर छन् भने फोली आर्टिस्ट, म्याथु लेसी र भियतनामका टिन टा ‘कन्सेप्ट आर्टिस्ट’का रुपमा जोडिएका छन् । नेपालकै उत्सव चौधरी भिआर परामर्शदाताका रुपमा काम गरिरहेका छन् ।
सुवेदी भैरहवामा जन्मेर काठमाडौँमा हुर्केका हुन् भने श्रेष्ठ काठमाडौँमा जन्मे हुर्केका हुन् । सुवेदी र श्रेष्ठले आफ्नो बाल्यकालमा छाउपडीको कुनै न कुनै रूपमा अभ्यास गरेको देखेका थिए । ठाउँ समाजमा महिनावारीको समयमा महिलाले पानी नछुने, खाना नपकाउने वा कुनै पुरुष आफन्तलाई नछुनेजस्ता अभ्यास उनीहरुले पनि बुझेका थिए ।
यस चलचित्रले मुख्य उद्देश्य छाउपडी प्रथाका कारण महिलाहरूले भोग्ने सामाजिक अपमान, हिंसा, र अन्यायलाई दर्शकहरूमाझ जीवन्त रूपमा प्रस्तुत गर्नु हो । आधुनिक प्रविधिको प्रयोगबाट महिलामाथिको शारीरिक, मानसिक र सामाजिक विभेदबारे जनचेतना फैलाउने यो परियोजना महिला अधिकार, प्रजनन स्वास्थ्य र लैङ्गिक समानताका लागि सशक्त कदम भएका सुवेदीको भनाइ छ ।
भर्चुअल रियालिटी (भिआर) प्रविधिको प्रयोगगरी दर्शकलाई छाउगोठभित्रको साँघुरो, अँध्यारो र असुरक्षित वातावरणको अनुभव गराउने लक्ष्य फिल्मले लिएको छ । “भिआर हेडसेट लगाएर दर्शकले तीन किशोरी पात्र बनेर छाउगोठको वातावरण महसुस गर्न सक्नेछन् । यो प्रविधिले परम्परागत ‘टुडी’ फिल्मभन्दा फरक अनुभव प्रदान गर्नेछ । भिआर प्रविधिले दर्शकलाई चारैतिरबाट दृश्य र आवाज अनुभव गर्नसक्ने बनाउँछ, जसले कथा अझ प्रभावकारी र वास्तविक बनाउँछ”, प्रसिन श्रेष्ठले भन्नुभयो ।
चलचित्र वास्तविक घटनामा आधारित भई निर्माण गरिएकाले ग्रामीण जीवनका वास्तविक दृश्यहरू पनि समेटिनेछ । निर्देशक सुवेदीले भन्नुभयो, “भिआर प्रविधिले केबल कथा मात्रै देखाउँदैन, दर्शकलाई प्रत्यक्ष रूपमा घटनामा सहभागी गराउँछ । यसले सामाजिक अन्यायको अनुभवलाई अझ सजीव बनाउँछ ।”
फिल्म निर्माणका लागि सुवेदी र श्रेष्ठको टोलीले नेपालका सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा पुगेर अध्ययन समेत गरिसकेका छन् । उनीहरूले कैलाली र डोटीका गाउँहरूमा एक हप्ता बिताएर छाउपडी प्रथाको वास्तविकता नजिकबाट बुझेको बताए । उनीहरुले मोहन्याल गाउँपालिका सोल्टा र बडिगाउँलगायतका क्षेत्रमा स्थानीय महिलाका साथै सदायका अगुवा र स्वास्थ्यकर्मीसँग अन्तरक्रिया गरिसकेका छन् ।
उनीहरुले राष्ट्रिय माध्यामिक विद्यालय श्रीपुर पाल्सा र त्रिवेणी माध्यामिक विद्यालय बडिगाउँका शिक्षक तथा विद्यार्थीसँग अन्तरक्रियाकै गर्नुका साथै एक जना शिक्षकको समन्वयमा काम गरिरहेका छन् ।
टोलीले छाउपडीप्रथासँग जोडिएको स्थानीय भाषा, संस्कृति, र सङ्गीतलाई पनि चलचित्रमा समावेश गरेको छ । कैलालीको मोहन्याल गाउँपालिकामा पुगेको टोलीले देउडा भाका र ग्रामीण जनजीवनलाई उतार्ने प्रयास गरिएको जनाइएको छ ।
नेपालमा छाउपडी प्रथा कानुनतः प्रतिबन्धित छ । मुलुकी अपराध संहिता, २०७४ अनुसार, छाउपडीजस्तो प्रथामा संलग्न हुनेलाई तीन महिना कैद वा रू तीन हजारसम्म जरिवाना वा दुवै सजाय तोकिएको छ ।
कानुनी व्यवस्था भएका बाबजुद छाउपडी प्रथा अझै भेगहरूमा गहिरो रूपमा प्रचलित छ । अशुद्ध मान्ने परम्पराका कारण उनीहरूलाई घरबाहिरका असुरक्षित झुपडीमा बस्न बाध्य पारिन्छ । यस्तो प्रथाले महिलालाई जनावरको आक्रमण, शारीरिक र मानसिक हिंसा, तथा स्वास्थ्य जोखिमको उच्च सम्भावनामा पार्छ ।
चलचित्र निर्माणका लागि करिब २० हजार अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । यसमध्ये ड्रेक्सेल विश्वविद्यालयले चार हजार अमेरिकी डलर सहयोग गरेको छ भने ‘गो फन्ड मी’ अभियानबाट हालसम्म करिब दुई हजार डलर सङ्कलन गरिएको छ । निर्माण टोली थप आर्थिक स्रोत जुटाउन काम गरिरहेको छ ।
चलचित्रलाई विद्यालय, स्वास्थ्य सम्मेलन, र फिल्म महोत्सवहरूमा प्रदर्शन गरी महिला अधिकार, प्रजनन स्वास्थ्य, र लैङ्गिक समानताको सन्देश फैलाउने योजना निर्माण टोलीको छ । चलचित्रको भिआर संस्करण मेटाक्वेस्ट एपमा निःशुल्क उपलब्ध हुनेछ भने ‘नन–इन्टरएक्टिभ’ संस्करण युट्युब र अन्य प्लेटफर्महरूमा हेर्न सकिनेछ ।रासस