पर्वत : जिल्लाको बिहादी गाउँपालिकामा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बिहादी–३ स्थित नेपाल ताराले हात पारेको छ । पौष ११ गतेदेखि आयोजित प्रतियोगिता आइतबार सम्पन्न भएको हो । प्रतियोगितामा आठ स्वर्ण, चार रजत र चार कास्य गरी १६ पदकसहित नेपाल ताराले शिल्ड प्राप्त गरेको हो । नेपाल ताराले लगातार तेस्रो पटक उपाधि जितेसंगै रनिङशिल्ड प्राप्त गरेको छ ।
आम्बारी माविले सात स्वर्ण, तीन रजत र छ कास्य गरी १६ पदकसहित द्वितीय स्थान प्राप्त गरेको छ। सात स्वर्ण, तीन रजत र पाँच कास्य गरी १५ पदकसहित जनकल्याण मावि बाच्छा तेस्रो भएको छ ।
आइतबार रातीसम्म चलेको प्रतियोगिताका बिजेता खेलाडी तथा बिद्यालयलाई गाउँपालिकाका अध्यक्ष परविन गुरुङ, उपाध्यक्ष मिना शर्मा तिवारी, प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद भुसाललगायतले पुरस्कार बितरण गर्नुभएको थियो । प्रतियोगिताको समापनमा विजयीलाई शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिएको थियो ।
प्रतियोगीताको समापन समारोहलाई सम्बोधन गर्दै बिहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले बिहादी गाउँपालिकामा धेरै बिद्यार्थीको प्रतिभा पहिचान भएको बताउनुभयो । खेल क्षेत्रको विकास र विस्तारका लागि बिहादी गाउँपालिकाले आगामी दिनमा समेत यस्ता प्रकारका प्रतियोगितालाई निरन्तरता दिने बताउदै गुरुङले बिजयी सबै बिद्यार्थी र बिद्यालयलाई बधाई दिनुभयो । उहाँले खेलक्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेको समेत जानकारी दिनुभयो ।
खेलक्षेत्रमा लागेका खेलाडीले राम्रो गरेको भन्दै खेलप्रतिको नकारात्मक भावनालाई त्यागेर सबै अभिभावकले आफ्ना बालबालिकाको प्रतिभा पहिचान गराएर साथ दिन पनि अध्यक्ष गुरुङले आग्रह गर्नुभयो ।
समापन कार्यक्रममा पालिका उपाध्यक्ष मिना शर्मा तिवारी, वडाअध्यक्षहरु तथा पूर्व गाउँपालिका अध्यक्ष कमल भुषाल, विभिन्न राजनीतिक दलका नेता, संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा गाउँपालिकाका ६ वटै वडाका बिधालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।