मनाङमा जेठ १४ र जेठ ३१ मा गएको बाढीपहिरोका कारण चामे सहितको सिंगो मनाङ्ग प्राकृतिक प्रकोपको चरम चपेटामा पर्यो। बाढीपहिरोका कारण एक हजार बढी विस्थापित भए । ७० घरमा पूर्ण क्षति पुग्नुका साथै २ सय बढी घरमा क्षति पुगेको छ।
हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ्गले साठी बर्ष यताकै ठुलो बाढी र पहिरोको चपेटामा पर्नु पर्यो। नसों गाउँपालिका,चामे गाउँपालिकाका अधिकांश गाउं विस्थापित हुने गरि गएको पहिरोले मनाङ्गका धेरै नागरिकको उठिबास लगायो।
मनाङ्गको बाढी पहिरोलाई केन्द्रित गर्दै केन्द्र सरकार र प्रदेश सरकारले चासो ब्यक्त गर्दै मनाङ्गबासीको पीडामा केही हद सम्म मल्हम लगाउने प्रयास गरेको छ। साउन ४ गते बसेको मन्त्रीपरिषदको बैठकले मनाङ्ग सहित सिन्धुपाल्चोक जिल्लालाई असोज मसान्त सम्म बिपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
पूर्व मन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका नेता देव गुरुङको पहल र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालको नेतृत्वमा पूर्व प्रधानमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहितको उच्च ओहोदाका व्यक्ति सम्मिलित टोलीले साउन २३ गते मनाङ्ग पुगेर मनाङ्गका बाढी पिडितको दुखमा साथ दिएको छ।
दाहाल र मन्त्री भुसालसहित प्रतिनिधिसभा सदस्य माओवादी केन्द्रका नेता देव गुरुङ, गुरुङ–पत्नी एवं संविधानसभा सदस्य यशोदा सुवेदी गुरुङ, पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङ, ऊर्जा सचिव देवेन्द्र कार्की, राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, सडक विभागका महानिर्देशक अर्जुन थापा, नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत हितेन्द्र शाक्य, ऊर्जा मन्त्रालयका सहसचिव कलानिधि पौडेलसहित १७ जनाको टोली नेपाली सेनाको हेलिकप्टरबाट मनाङ पुगेको थियो । उक्त टोलीमा संगै रहेका पूर्व राज्यमन्त्री गुरुङले सबैलाई मनाङ्गमा हार्दिक स्वागत गरेका थिए।
मनाङ्गमा उच्च तहको राजनीतक र प्राबिधिक प्रतिनिधि मण्डल पुगेर पिडितको समस्या बुझेकोमा नेपाली कांग्रेस मनाङ्गका सभापति टेक बहादुर गुरुङले बिशेष धन्यवाद दिएका छन्। उच्च तहको प्राबिधिक सहितको राज्यको उपल्लो निकाय मनाङ्गमा पाउँदा र आफ्ना समस्या सुनाउन पाउँदा मनाङ्गबासी पिडामै भएपनि खुसी भएका छन्। बिज्ञ सहितको टोलीले पहिरो गएको स्थलको अबलोकन सहित निरीक्षण गरेपछि त्यसको उचित कार्यन्वयन हुनेमा आम मनाङ्गबासी ढुक्क रहेको आफुले पाएको पूर्व मन्त्री गुरुङले बताए। उनले भने- सबै क्षेत्रका दिग्गज र बिषय बिज्ञले मनाङ्गको पिडा नजिक बाट हेर्ने काम हुनु ठुलो कुरा हो,यसले कार्यन्वयन तहमा समेत सफलता पाउनु पर्छ,तव मात्र मनाङ्गका बाढी पिडितले राहत महसुस गर्नेछन्।
नेता देव गुरुङको पहलले सबै सरोकारवाला मन्त्रालयका प्रतिनिधिलाई र बिज्ञलाई बाढी र त्यसको पारेको असरका बारेमा स्थलगत जानकारी गराउन पहल लिएकोमा समेत पूर्वमन्त्री गुरुङले बिशेष आभार प्रकट गर्दै धन्यवाद दिएका छन्। प्रचण्डले मनाङको स्थिति हेरेर ‘मन दुखेको’ बताएका थिए । ‘बाढीपहिरोले यतिसाह्रै गरेछ भन्ने जानकारी यही आएर थाहा पाइयो । साह्रै मन दुखेको छ,’ चामेमा आयोजित छलफलमा उनले भने, ‘यो दुःख हामी धेरै हेर्न सक्दैनौं । जतिसक्दो चाँडो बाटो निर्माण हुन्छ ।’ प्रचण्ड सहितका उच्च तहका नेता र पाबिधिक सहितको टोलीले गरेको निरीक्षणले कागजी रुपमा मात्र नभएर देखिने गरि काम हुनुपर्नेमा मनाङ्गका बाढी पिडितको राय रहेको मनाङ्ग कांग्रेसका सभापति गुरुङको भनाई छ।
मनाङ्गमा यस अघि उच्च तहको टोली पुगेकै थिएन। यो पटक मनाङ्गबासीले बिज्ञ सहितको टोली पाउँदा अब चाँही मनाङ्गमा विकासको मूल फुट्ने अपेक्षा गरेको पूर्वमन्त्री गुरुङले बताए। सबै सरोकारवाला मन्त्रालय र विकासे मन्त्रालयका उच्च तहका कर्मचारीको मनाङ्ग आवागमनले मनाङ्गवासी हर्षित भएको भन्दै पूर्व राज्यमन्त्री तथा मनाङ्ग कांग्रेसका सभापति गुरुङले सबै प्रति सिंगो मनाङ्गबासीका तर्फ हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिएका छन्।