पर्वत: घर नजिकै स्वास्थ्यचौकीको भवन निर्माण हुने भएपछि स्थानीय ९१ वर्षीय पदमबहादुर परियार निकै हर्षित हुनुहुन्थ्यो । उमेरसँगै रोगले थलिएर विस्तारामा पर्नुभएका उहाँलाई स्वास्थ्यचौकी भवन निर्माण हुने कुराले रोग निकोे भएको महसुस हुन्थ्यो ।
हिँडेर टाढाको अस्पतालसम्म पुग्न सक्ने अवस्था नभएका उहाँको घरमा श्रीमती, बुहारी र साना नातिनातिना छन् । रोगले च्यापेको बेला नजिकैको स्वास्थ्यचौकीमै उपचार पाउने उहाँको आशा अझै पूरा हुन सकेको छैन । यो अवस्था हो जिल्लाको फलेवास नगरपालिका वडा नं ९ भँगरामा निर्माणाधीन स्वास्थ्यचौकी भवनको ।
गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नका लागि जनाउँदै १८ महिनामा सम्पन्न हुने गरी विसं २०७५ माघदेखि निर्माण सुरु भएको स्वास्थ्यचौकीको सुविधा भवन छ वर्षसम्म पूरा हुन नसकेर अलपत्र बनेको हो । “स्वास्थ्यचौकीमा उपचार गराएर केही वर्ष अझै बाँच्छु भन्ने सोच्नुभएका परियारजस्ता थुप्रै नागरिक भवन सम्पन्न नहुँदै जीर्ण र अलपत्र बनेको देखेर निरास हुने गरेका छन् ।
समयमै भवन निर्माण सम्पन्न नहुँदा स्थानीयवासी स्वास्थ्य सुविधाबाट वञ्चित भएका छन् । निर्माण व्यवसायीले काम छोडेरबीचमा भागेपछि भवन अलपत्र परेको हो । रु दुई करोड ४४ लाखमा भवन निर्माणका विसं २०७५ माघमा निर्माण कम्पनी काठमाडौँले जिम्मा लिएको थियो ।
लामो समयसम्म भवनले पूर्णता पाउन नसक्दा निर्माण भएको पूर्वाधार जीर्ण बन्दै गएको छ । दुई तले १२ कोठे भवनमा बिरामीको उपचारका लागि औषधि भण्डारण, बिरामी चाँज कक्ष, गर्भवती जाँच कक्ष कर्मचारी आवास, प्रशासन, बर्थिक सेन्टर लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङमार्फत निर्माण भएको भवन सम्पन्न गर्नका लागि चार पटक म्याद थप गरिसकिएको छ । ठेकेदारले बीचमै काम छोडेर बेपत्ता भएपछि आयोजनाले पटकपटक म्याद थप गर्दै निर्माण कम्पनीलाई तोकता गदै काममा लगाएको सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर शङ्करराज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार भवनको ९० प्रतिशत काम सम्पन्न भएको र बाँकी १० प्रतिशत नगरी निर्माण व्यवसायी बेपत्ता भएको हो ।
भवन निर्माण अन्तिम चरणमा पुगेको भए पनि निर्माण कम्पनी कार्यक्षेत्रमा फर्किएर नआएको वडाध्यक्ष हितमान गुरुङले बताउनुभयो । मौखिकरुपमा पटक–पटक ताकेता गरिएको भए पनि निर्माण कम्पनीले बेवास्ता गर्दा भवनको संरचनासमेत जीर्ण र पुरानो हुँदै गएको उहाँको भनाइ छ । “वर्ष दिनभन्दा बढी भयो निर्माण कम्पनी फर्केर आएको छैन, बनेका संरचना पनि जीर्ण बन्ने जोखिम बढेको छ”, उहाँले भन्नुभयो ।
गाउँमा गुणस्तरीय स्वास्थ्य संस्था नहुँदा सानोतिनो रोग र चोटपटक लागेमा अन्यत्र जानुपर्ने बाध्यता स्थानीयको छ । “सामान्य समस्या भयो भने कुश्मा वा पोखरा पुग्नुपर्ने बाध्यता छ”, स्थानीय सुमिना गुरुङले भन्नुभयो, “सुविधा सम्पन्न भवन अलपत्र परेर सेवा विस्तारमा सहज नहुँदा यहाँका महिला र ज्येष्ठ नागरिकले बढी सास्ती व्यहोर्नुपरेको छ ।”
साविक गाउँ विकास समितिको पुरानो र साँघुरो भवनबाट सेवा प्रवाह गर्दा निकै समस्या भएको स्वास्थ्यचौकी प्रमुख वीरबल विकले बताउनुभयो । बर्सातमा भवन चुहिएर समस्या हुने गरेको उहाँले बताउनुभयो । उहाँले भवन निर्माण भएर सञ्चालनमा आए यहाँ नागरिकले गुणस्तरीय स्वास्थ्य सेवाको लागि अन्यत्र जानुपर्ने अवस्था अन्त्य हुने बताउनुभयो ।
स्थानीयवासी तथा गण्डकी प्रदेशसभा सदस्य रेखा गुरुङले लामो समयदेखि स्वास्थ्यचौकीको भवन अलपत्र परेको देखेर चिन्तित बनेको बताउनुभयो । सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन बनाउन आफ्नै पहलमा बजेट विनियोजन गर्नेदेखि आफ्नो परिवारले निःशुल्क जग्गा समेत उपलव्ध गराएको जनाउँदै ठेकेदारले काम नगर्दा समस्यामा परेको बताउनुभयो । भवन तत्काल सम्पन्न गरेर सञ्चालनमा ल्याउन उहाँले माग गर्नुभएको छ । (रासस)