काठमाडौं महानगरपालिकाका प्रथम मेयर, लोकतान्त्रिक आन्दोलनका योद्धा र पूर्वमन्त्री पिएल सिंहको असामयिक निधनको दुःखद खबरले मलाई धेरै नै मर्माहत बनाएको छ। स्वच्छ, सफा, र स्वस्थ हराभरा काठमाडौं निर्माणको संकल्प लिएर उहाँले राजधानीवासीलाई सामाजिक चेतनाको लागि निरन्तर प्रेरित गर्नुभएको थियो। उहाँले आफ्नो नेतृत्व दिएर मात्र होइन, सरल जीवन शैलीले पनि समग्र लोकतान्त्रिक आन्दोलनलाई उहाँले उचाइमा अगाडि बढाउनु भएको थियो ।
पिएल सिंह, जो २०४६ सालको ऐतिहासिक जनआन्दोलनका महानायक गणेशमान सिंहको निकटतम सहयोगी र नेपालको महिला आन्दोलनकी 'आईरन लेडी' मंगला देवी सिंहको प्रेरणाबाट निर्देशित हुनुहुन्थ्यो, उहाँ लोकतान्त्रिक आन्दोलन को अविचलित अभियन्ता हुनुहुन्थ्यो। उहाँ चाक्सीबारीको परम्परागत राजनीतिक केन्द्रका अभिन्न हिस्सा मात्रै नभई, धर्मपुत्रसरह गणेशमान सिंह परिवारको हरेक दुःखसुखका साथी पनि बन्नुभएको थियो। उहाँको यो अमुल्य योगदान नेपालको लोकतान्त्रिक आन्दोलनको सुनौलो इतिहास हो ।
२०४२ सालको सत्याग्रहका क्रममा काठमाडौंबाट बम विस्फोटको घटना हुँदा, आन्दोलनलाई हिंस्रक बन्न नदिन नेपाली कांग्रेसको नेतृत्वले सत्याग्रह स्थगित गर्ने निर्णय लियो। धेरै नेता जेलमा रहेका कारण उहाँले एक्लै शान्ति, प्रजातन्त्र र जिम्मेवारीको सन्देश दिदै उहाँले आन्दोलन स्थगित गर्ने निर्णय गर्नु भएको थियो। यो नै उहाँको कूटनीतिक परिपक्वता र राष्ट्रप्रतिको प्रतिबद्धताको अद्भुत उदाहरण हो। उहाँ देशको एउटा महान रास्ट्रबादी नेता हुनुहुन्थ्यो ।
काठमाडौं महा नगर प्रमुखको रूपमा "Clean, Green, Healthy Kathmandu" को नाराबाट उहाँले आजको काठमाडौलाई एउटा विशिष्ट दिशा दिनुभएको छ। उहाँको योजनाहरूले महानगरको विकास र वातावरणीय जागरणलाई गति दिएको मात्र होइन, सामाजिक चेतना पनि उकासेको थियो।
उहाँ सन्त नेता किसुनजीको जीवन र विचारमा निरन्तर अध्ययनरत हुनुहुन्थ्यो, र उहाँको राजनीतिक जीवनमा त्यही सरलता, निष्ठा र आदर्शको प्रतिविम्ब पाइन्थ्यो। उहाँले एउटा सच्चा राष्ट्रवादी नेता र सामाजिक जागरणका अगुवा बन्ने आफ्नो भूमिका अत्यन्त निष्ठापूर्वक निर्वाह गर्नुभयो।
आज उहाँको निधनले देशलाई अपूरणीय क्षति पुगेको छ। लोकतन्त्रको रक्षा र सामाजिक प्रगतिका लागि उहाँको योगदान सधैं स्मरणीय रहनेछ। यस पंक्तिकारलाई उहाँको निकटतम सहयोगीका रूपमा उहाँलाई नजिकबाट बुझ्ने सौभाग्य मिल्यो। उहाँको जीवन, संघर्ष र विचारमाथि अझ धेरै लेख्न र अनुसन्धान गर्न बाँकी छ।
यो दु:खद घडीमा, शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै, उहाँको दिवंगत आत्माले परम शान्ति प्राप्त गरोस् भनी प्रार्थना गर्दछु।