महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित छानविन समितिका पदाधिकारी व्यासको माल प्रस्थान गरेका छन् ।
बिहीबार भारतीय बाटो हुँदै घटनास्थल पुगेकोे सो टोली नेपालतर्फको घटनास्थल हेर्न हेलिकप्टरमार्फत आज त्यसर्फ प्रस्थान गरेको हो । समितिले व्यास गाउँपालिका– २ मालघाटको स्थलगत निरीक्षण तथा पीडित परिवारसँग छलफल गर्ने जनाइएको छ ।
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको सो छानविन समिति गत मङ्गलबारदेखि यहाँ रहेको छ । यही साउन १५ गते माल गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा जयसिंह महाकाली नदीमा बेपत्ता भएका थिए ।
प्रत्यक्षदर्शीले भारतीय सीमासुरक्षा बल एसएसबीले तुइन फुकालिदिँदा धामी बेपत्ता भएको बताएपछि घटनाले चर्चा पाएको थियो । छानविन समितिमा सहसचिव गौतम सहित सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् ।
सो समितिले घटनास्थलमा खटिएका अनुसन्धान टोली, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, घटनाका प्रत्यक्षदर्शी, सञ्चारकर्मी, मानव अधिकारकर्मी, राजनीतिक दल र व्यासका जनप्रतिनिधिसँग छलफल गरेको थियो । अहिलेसम्म धामीको शव भेटिएको छैन । आफन्तले मृतकको कुसको मूर्ति बनाएर अन्येष्टि गरिसकेका छन् ।
पीडित परिवारले उचित क्षतिपूर्ति तथा बालबच्चाको पालनपोषणको जिम्मा राज्यले लिनुपर्ने माग गरेको छ ।