तिर्सना पराजुली(समिक्षा)
१० मङ्सिर विहादी,पर्वत हाल बुटवल
प्रिय श्रीमान छोरी मान्छे भएपछि एकदिन जन्मघर त छोड्नै पर्छ, बस् ढिलो चाँडो को कुरा मात्र हो।त्यही जन्मघर छोडेर जाने ठाउँ,पुरै जिन्दगी बिताउनुपर्ने मान्छे,सबै सुख-दुःख साट्नुपर्ने मान्छेको नै अत्तोपत्तो हुँदैन।हो तिमी त्यही मान्छे हौ।मलाई थाहा छैन तिमी को हौ? कहाँ छौ?के गरिरहेको छौ? म जस्तै छौ या धेरै सुन्दर छौ?कतै भेटिएको छौ की नाई?मोटो,पातलो कस्तो छौ कुन्नि? तर जे जस्तो छौ पछि मेरो हुने छौ। बिहेको धेरै कुरा आइरहँदा मनले धेरै कुरा सोचेको हुन्छ त्यसैले केही लेख्न मन लाग्यो।
के थाहा अहिले मेरो पत्र पढ्दै पो छौ की!जती जती दिनहरू कटिरहेका छन् त्यति नै आफ्नो परिवारबाट टाढा हुने दिन नजिकिँदै गरेको महसुस हुन थालेको छ।विदेशको यो ठाउँ गएको, त्यो ठाउँ गएको,यति घडेरी,यति कमाई भएको,यस्तो मान्छे भनेर जती कुरा आउँदा नी त्यतातिर पटक्कै ध्यान गएको छैन।
एक त भर्खरै भनेकै बेलामा बिहे नगर्ने भएपछि धेरै चासो लिने कुरा नै आएन।अनि अर्को कुरा म सकेसम्म विदेश नगएको सँग विवाह गर्न चाहन्छु। जे गरेपनि यहीँ गरौँ न है।धेरै कमाइ नभएर महल नै बनाउन त नसकिएला तर हामी अट्ने झुपडी त बनिहाल्छ नी!हुन त देशको स्थिति पनि यस्तै छ सबै रहरले गएका पनि होइनन तर मेरो आफ्नो इच्छा न हो। जिन्दगीमा सबैभन्दा ठुलो साथ श्रीमानको हुँदो रहेछ।यदि कोही कसैले साथ देओस् या नदेओस् तर श्रीमानले साथ दिए जस्तो कठिन काम पनि सहज हुने रहेछ।आँफुले भोग्न त बाँकी नै छ तर आफ्नो परिवारदेखि समाजसम्मका अनुभवबाट बुझेकी छु की श्रीमानलाई भगवानको अर्को रूप किन भनिँदो रहेछ भनेर।हरेक छोरीले माइती छाडेपछि उसको साथमा हुने भनेको मात्र श्रीमान र उसको परिवार हो।माइतीले थापिरहेको काँधलाई श्रीमानले थाप्नुपर्ने हुन्छ।मेरा लागि पनि आमा-बाबा,दाजु,साथी सबै तिमी नै हुने छौ।
त्यसैले साथ,हिम्मत,प्रेरणा दिनेपनि तिमीले नै हो।मेरी आमाले सधैं भन्ने गर्छिन् की बानी व्यवहार राम्रो भएको,सधैं साथ दिने र अरू जे भएपनि कुलतमा लागेको त पर्दै नपरोस् भनेर।त्यसै त पुरुषवादले भरिएको हाम्रो समाज।बुवाको पुरुषवाद बाट हैरान परेर निराशाका बादल भरिएको मेरी आमाको अनुहार देख्दा सोच्छु म र मेरो सन्तानले यस्तो अनुभव गर्न नपरोस्।त्यसैमाथि आजभोली कुलत(जाँड ,रक्सी....)मा फस्ने धेरै युवाहरु छन्।तिमी भने यो सबैबाट टाढा बस्नु है।हुन त तिमी बुझ्ने छौ।तिमी यो सब मा फस्छौ नै भनेर त भन्न खोजेको होइन त्यही पनि धेरै ख्याल गर्नु है।यसका हानीहरु त तिमी बुझ्छौ नै अर्को कुरा म चाहन्छु की विगतदेखि वर्तमानसम्म म र मेरो परिवारलाई जुन कुराले पीडा दियो भविष्य मा पनि त्यहि कुराले पीडा नदेओस् ।
यो पीडालाई तिमीसँगै भेट भएपछि पोखुलाँ है। तिमी मेरा लागि परिवर्तन नहुनु है।जस्तो छौ त्यस्तै रहनु।मानिस सर्वगुण सम्पन्न कोही पनि हुँदैन।हामी दुवैमा कमीकमजोरीहरु होलान् आपसमा स्वीकार गरेर अघि बढौला नी।
मैले गल्ती गर्दा तिमीले सम्झाउनु तिमीले गल्ती गर्दा मैले सम्झाउँछु।गल्ती जो बाट पनि हुन सक्छ तर त्यही गल्तीलाई झगडाको बिउ बन्न नदिने है हामीले।आपसमा सम्झाइ बुझाइ गरौंला।तिमी मिलनसार,सहयोगी हुनु।तिमी सधैँ मेरो सल्लाहकार बन्नु। घरको हरेक काममा मलाई सघाउनु है।मैले गर्नुपर्ने काम तिमीले गर्दा कोही कसैले जिस्काए भने उनीहरुलाई पनि सिकाउनु है घरमा श्रीमान र श्रीमतीको जिम्मेवारी बराबर हुन्छ भनेर। तिमी पनि सोच्छौ होला नि आफूलाई कस्तो जीवनसाथी पर्ने हो भनेर।मस्तिष्कमा चित्र अनि मनमा केही धारणा बनाएको छौ होला नी।
रूपको सुन्दरता खोज्छौ भने त म त्यति धेरै राम्री छैन तर बाँकी कुरा बुझेर ठिकै ठान्यौ भने बरु केही कुरामा सानै बनिदिउँला।गाउँको सामान्य परिवारमा जन्मिएकी केटी हुँ।म सरल र साधारण छु, तर तिमी कत्तिपनि सङ्कोच नमान्नु है।मेरा बाबा-आमा,हजुरआमा,दाजुले दिएको संस्कारको भारी छ मभित्र।सबै कुरा जानेकी छु त भन्दिन तर जती जानेकी छु, सिकेकी छु,त्यसलाई अँगालेर आफ्नो कर्तव्य र जिम्मेवारी राम्रोसँग निभाउने छु।नजानेको कुरा सिकाउन त तिमी र तिम्रो परिवार छँदै छ नी। म सँग भएको संस्कार नै उपहारको रूपमा लिएर तिम्रो घर आउने हो,घर सुन्दर बनाउने सूत्रहरु लिएर आउने हो बस् तिमीले त्यो उपहारलाई सदैव सजाइदिने प्रयास गर्नु।तिम्रा इच्छा र चाहना लाई मैले कदर गर्ने छु।
मेरा इच्छा र रहरहरुलाई तिमीले ख्याल गरिदिनु।तिमीले मात्र कमाउनुपर्छ भन्दिन।पढेकी छु,बुझेकी छु आफ्नो योग्यता र क्षमता अनुसारको पक्कै केही मैले पनि गर्ने छु।घर गृहिणी सँगै बाहिर काम गर्न तिमीले अवश्य साथ दिने छौ।अहिले को परिस्थितिमा दुवैले केही गर्न सकियो भने मात्र घर व्यवहार चलाउन अनि आफ्नो सपना पूरा गर्न सहज हुन्छ भन्ने कुरा तिमी बुझेकै छौ। दुवै मिलेर घर व्यवहार चलाउँला।हामी दुईबाट हाम्रा छोराछोरीले पनि बाबाआमा को समान महत्त्व बुझुन्। मैले पनि ख्याल राख्नुपर्ने धेरै कुरा हुन सक्छन् तिमीले सिकाउनु है। यो गरिदिए हुन्थ्यो भन्ने लाग्छ भने ढुक्कसँग भन्नु है।कुनैबेला इच्छाअनुसार सबै कुरा हुन् नसक्लान् त्यसलाई समझदारीमा सुल्झाउला नी। म सँग विनाकारण कराउने र रिसाउने पनि नगर्नु है।
श्रीमान् रुखो बोल्दा र श्रीमानको साथ नहुँदा कति पीडा हुन्छ भन्ने कुरा धेरैको देखेर बुझेकी छु।कहिलेकाँही ठाकठुक परेपनि परालको आगो जस्तै बनाउँला।तिमी बुझेको छौ सायद मैले सोचेको भन्दा पनि अझै असल नै छौ की! धेरै अभावमा बाँच्नु नपरे पनि सानैदेखि खै के के हो के के, कहिले कुन कहिले कुन समस्यामा झेलिनुपर्यो मलाई।त्यसैले दुःखलाई राम्रोसँग बुझेकी छु।सानै उमेरदेखि घर व्यवहारको अनुभव बटुलेकी छु।केही वर्षदेखि शहरमै भएपनि उत्ताउलोपन,तडकभडक मा आजसम्म मन डुलेको छैन।सधारणपन मन पर्ने मलाई कहिले त मेरो सरलपनलाई आधुनिकताको परिवारले अफ्ठ्यारो गरी लिने हो कि भन्ने पनि लाग्ने। सानो सानो कुरामा खुशी र सन्तुष्ट हुन सिकेकी छु। शहर पसेर अल्छी पो भै की केही काम नगर्ने हो की भन्ने नसोच्नु है। खेतबारी सँग मितेरी गाँस्दै, घरायसी काममा रमाउँदै हुर्केकी हुँ। बरु जे काम गर्दा पनि तिमीले साथ दिनु।एक्लै गर्दा गाह्रो भने हुन सक्छ तर तिमीले साथ दिए सहज हुने छ।
जुनकुनै परिस्थितिमा पनि साथ दियौ भने जस्तोसुकै कठिन परिश्रम,काम गर्नुपरे पनि खुशी-खुशी गर्ने र जस्तो अवस्था आएपनि सहन गर्न सक्ने आँट छ मभित्र। घरमा हुने चिज घरमै उत्पादन गरौँला है।तरकारी उब्जाउँला।घर नजिकै बाँझो राखेर तरकारी किनेर खान म चाहन्न।कर्मशील बन्न चाहन्छु।जस्तोसुकै परिश्रम गर्न पनि पछि पर्ने छैन। संसारमा सबैभन्दा ठूलो धर्म पतिव्रता धर्म भन्छन्। म यो धर्मलाई अटुट तरिकाले निभाउने छु। बस् तिमीले मलाई कदम कदममा साथ दिनु।तिम्रो अमूल्य साथको कहिल्यै कमी महसुस नहोस ।तिमीलाई मेरो नाम लिँदा र मलाई तिम्रो नाम लिँदा गर्व होस्।हामी एकअर्काको सफलताको कारण बन्न सकियोस्।हामी दुईबीचमा प्रतिस्पर्धा,हार र जीत कहिल्यै नहोस्।बिगार्न खोज्ने धेरै हुन्छन् तिमी बाहिरी कुरा धेरै नसुनी आफ्नो मनको कुरा सुन्नु है।
आफ्नो जिन्दगी त आफैंले मेहनत गरेर बनाउने हो,आफ्नो जिम्मेवारी आफैले पूरा गर्ने हो ।अरूको सल्लाह लिए पनि बाँकी बोझ आफैंले उठाउनुपर्छ अनि आफ्नो परिवार र आफ्नो वास्तविकता आफूलाई थाहा हुन्छ बाहिर हेरेर अनुमान लगाउनेले बुझ्न सक्दैनन्। तिम्रा बाबा-आमा ले पनि राम्रो बुहारीको आश गर्नुभएको हाेला।बुहारीबाट अपेक्षा राखेका कुराहरू पुरा गर्न सधैं प्रयास गर्ने छु।मैले नजानेका धेरै कुराहरु उहाँहरूले सिकाउनुहुने छ।उहाँहरू पनि मेरै हो। जन्मघरबाट बिदा भएकै दिनदेखि मेरा बाबाआमा बन्नुहुने उहाँहरुलाई सम्मान,इज्जत र माया सदा दिने छु।मलाई पनि माया र खुशी दिनुहुने छ भन्ने पूर्ण विश्वास छ।बुहारी भन्नेबित्तिकै फरक चित्र बनाउने समाजको अगाडि हाम्रो घर उदाहरणीय बन्ने छ। दिदि बहिनि,आफन्त,इष्टमित्र सँग असल व्यवहार नै गर्ने छु।
आफ्नो परिवार को खुशी को लागि हरदम प्रयासरत रहने छु।घरका काममा एकपछि अर्को सिँढी थप्ने काम म बाट सदा हुने छ।यदि यसो गरिन भने त आफ्नै घर त हो बिग्रिने। हेर न आजभोलिको बिहे कति महङ्गो है।बिहे खर्च हेर्ने हो भने हामीजस्तो सामान्य परिवारले त बिहे गर्ने आँट नै आउँदैन ।बिहे भन्दा धेरै अघिदेखि नै के-के हो के-के बहानामा कति धेरै खर्च।मलाई भने यो तडकभडक पटक्कै मन परेको छैन।हामी भने आफ्नो परम्पराअनुसार आफ्नो क्षमताले भ्याएसम्म गरौँला नी है।बिहेमा धेरै खर्च गरेर सम्बन्ध राम्रो नभएका जोडी पनि छन् अनि सामान्य बिहे गरेर अमर भएका जोडी पनि छन्।
बिहे जस्तो पवित्र बन्धनलाई तिमीले पनि धन, सम्पत्ति सँग तुलना गर्ने छैनौ भन्ने कुरामा म ढुक्क छु।धन, सम्पत्ति त हामी दुवै मिलेर कमाउला नी हुँदैन र?मलाई महँगा वस्त्र गहना चाहिँदैन।सबैको अगाडि हुँदा होस् या एक्लै हुँदा होस् मलाई माया,सम्मान,इज्जत,समय र समर्पण दिए पुग्छ। धेरै बिहेको कुरा आउँदा अहिले बिहे गरिदैन पछि फेरी कस्तोमा परिने हो झन् भनेर कहिलेकाँही सोच्दो रहेछ मनले।मैले मात्र हो या अरूले पनि यस्तै सोच्छन् कुन्नि? तर मेरो लागि तिमी आउनु है।भाग्यमा छ भने आँफुले सोचेजस्तै मिल्छ,मिल्छ चाहे ढिलो नै होस्। हामी दुई मिलेर केही फरक पनि गर्न सकिन्थ्यो की!एक्लै पुरा नभएका केही कुरा दुवै मिल्दा पुरा हुनपनि सक्छन्।धेरै अपुरा रहरहरु तिमीसँगै मिलेर पुरा गर्नु छ। सानैदेखि समाज सेवा को लक्ष्य बोकेर हिँडेकी मेरो यात्रामा पनि सहजता थपिएला सायद।
बाँकी धेरै कुरा भेट भएपछि नै भनौला है।अहिले भर्खरकै कुरापनि भएन तर बिहे गर्ने बेलासम्म चाहिँ अहिलेसम्म कसैले नजितेको मन जित्ने गरी तिमी आउनु है। मेरा बाबाआमा का फुस्रा हात,फुटेका पाउ देख्दा तिमीले यो नसोच्नु है कस्तो घरकी रहेछ भनेर।तिनै बाबाआमा र घरको अवस्थाले जन्माएकी सहनशील छोरी हुँ।तिमी मेरा बाबाआमा सँग मेरो संस्कार,मेरो थर,अटुट साथ माग्न आउनु।मेरो दाजुले म प्रति गरेको चिन्तालाई हर्षमा बदल्ने गरी आउनु।मेरो परिवारसँग हामीले पाएको खुशी हेर्ने आँखा अनि हामीलाई दिने आशीर्वाद बाहेक अरु केही सम्पत्ति बाँकी छैन।त्यसैले तिमी मेरो घरमा आफ्नो घरको लागि खुशी माग्न आउनु।तिमी मनमा प्रेम,नजरमा इज्जत,अनि बोलीमा अर्थ बोकेर आउनु।।
तिर्सना पराजुली(समिक्षा) विहादी,पर्वत हाल बुटवल